पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नं. १, पाङ, आँगाखेत निवासी पौडेल परिवारले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा शिक्षा क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले ‘धर्माप्सरा स्मृति औसत जेहेन्दार प्रोत्साहन कोष’ को स्थापना गरेका छन् । स्वर्गीय बुबा धर्मानन्द उपाध्याय र ममतामयी माता अप्सरा उपाध्यायको सम्झनामा उक्त अक्षयकोष खडा गरिएको हो ।
माता अप्सरा उपाध्यायको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर उनका छोरा भरत विवस पौडेल, बुहारी प्रमिला पौडेल तथा छोरीहरू गीता शर्मा र अर्चना शर्माले संयुक्तरूपमा यो कोषको स्थापना गरेका हुन् । अभिभावकप्रतिको श्रद्धा, सम्मान र कृतज्ञतालाई सामाजिक सेवासँग जोड्दै पौडेल परिवारले अनुकरणीय कार्यको सुरुवात गरेको हो ।
कुल १ लाख १ हजार १११ रुपैयाँ रकमको यो कोषबाट आउने वार्षिक ब्याजमार्फत स्थानीय श्री नुवार सुवेदीथर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ । माध्यमिक शिक्षा परीक्षामा द्वितीय र तृतीय हुने छात्र तथा छात्रालाई हरेक वर्ष प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिने पौडेल परिवारले जनाएको छ ।
उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूले सधैँ सम्मान पाए पनि थोरै अंकले पछाडि परेका मेहनती विद्यार्थीहरू ओझेलमा पर्ने गरेकाले यो कोष स्थापना गरिएको संस्थापक भरत विवस पौडेलले बताए । केही अंकको अन्तरले प्रथम हुन नसकेका जेहेन्दार विद्यार्थीको हौसला र क्षमतालाई पहिचान गरी उनीहरूलाई थप प्रेरित गर्नु नै कोषको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
व्यक्तिगत स्मृतिलाई शिक्षाको उज्यालो भविष्य र समाजसेवासँग जोड्ने पौडेल परिवारको यो प्रयासलाई स्थानीयले प्रशंसा गरेका छन् । यस प्रकारको कार्यले उत्कृष्टताको दौडमा थोरैले पछि परेका विद्यार्थीमा आत्मबल बढाउनुका साथै समाजका अन्य व्यक्तिहरूलाई पनि शैक्षिक क्षेत्रमा योगदान पु¥याउन सकारात्मक प्रेरणा दिने विश्वास लिइएको छ ।





