शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

उनले गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा तथा सुरक्षित स्वास्थ्य प्रणालीको माग अघि सारेकी छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

काठमाडौं / इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै सकिएको र नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन बुधबारदेखि स्थगित गरेको अवस्थामा इन्टर्न चिकित्सक तथा नर्सिङ क्षेत्रका अभियन्ताले सरकारमाथि दबाब बढाउन आन्दोलन सुरु गरेका हुन् ।

नर्सिङ तथा मिडवाइफ्री अभियन्ता ज्योति रानाभाटले बिहीबार दिँउसो ४ बजेदेखि नेपाल नर्सिङ परिषद्को परिसरमा सत्याग्रह सुरु गरेकी छिन् । उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई १५ बुँदे मागपत्र बुझाउँदै माग पूरा नभए चरणबद्ध आन्दोलन र आवश्यक परे आमरण अनशनसम्म जाने १३ असारमा चेतावनी दिएकी थिइन् ।

‘सत्याग्रह’ नाम दिइएको अभियानमार्फत रानाभाटले भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद् निर्माण, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा तथा सुरक्षित स्वास्थ्य प्रणालीको माग अघि सारेकी छन् ।

उनका अनुसार नर्सिङ तथा मिडवाइफ्री सेवा नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड भए पनि न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, नेतृत्वको अभाव र विभेदकारी कानुनी व्यवस्थाका कारण नर्सिङ पेशा गम्भीर संकटमा परेको छ ।

नर्सिङ क्षेत्रका प्रमुख मागमा सरकारी, निजी तथा मेडिकल कलेजमा कार्यरत नर्स र मिडवाइफलाई नेपाल सरकारको भन्दा कम नहुने न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको कानुनी सुनिश्चितता, वैज्ञानिक मापदण्डअनुसार पर्याप्त दरबन्दी सिर्जना, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन तत्काल निर्माण, करार प्रथाको अन्त्य, समान पदोन्नति र नेतृत्वको अवसर, प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था, उच्च जोखिमयुक्त विभागमा कार्यरत नर्सलाई जोखिम भत्ता, नर्सिङ अडिट प्रणाली, सुरक्षित कार्य वातावरण तथा सम्मानजनक मातृत्व सेवासहितका विषय समावेश छन् ।

रानाभाटले यी माग कुनै एक पेशागत समूहको सुविधा प्राप्तिका लागि मात्र नभई बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षित मातृत्व र संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको दाबी गरेकी छन् ।

उता एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान, नेपालका संयोजक डिल्ली हरिजनले कार्यदलको प्रतिवेदनअनुसार निर्णय नभए १९ साउनदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् ।

हरिजनले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले गठन गरेको कार्यदलले अध्ययन पूरा गरी प्रतिवेदन र आवश्यक सिफारिस बुझाइसकेको भए पनि चिकित्सा शिक्षा आयोगले त्यसबारे निर्णय गर्न नसकेको उल्लेख गरेका छन् । उनले १८ साउनभित्र आयोगको पूर्ण बैठकबाट कार्यदलको सिफारिसअनुसार निर्णय नभए आफू आमरण अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका छन् ।

इन्टर्न चिकित्सकहरूको मुख्य माग देशभरका एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकलाई समान स्टाइपेन्ड उपलब्ध गराउनु, कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्नु तथा चिकित्सा शिक्षा आयोगबाट चाँडै निर्णय गरिनुपर्ने रहेको छ ।

पछिल्ला केही सातायता स्वास्थ्य क्षेत्र निरन्तर आन्दोलनको चपेटामा पर्दै गएको छ ।  चिकित्सकमाथि भएका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघको आन्दोलन, डा. गोविन्द केसीको आमरण अनशनपछि अब इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रसमेत आन्दोलनको तयारीमा उत्रिएसँगै स्वास्थ्य क्षेत्रमा असन्तुष्टिको दायरा थप फराकिलो बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->