मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

एकतीस वर्षसम्म पनि भएन चापाकोट–गल्याङ सडक कालोपत्रे

एकतीस वर्षसम्म पनि भएन चापाकोट–गल्याङ सडक कालोपत्रे


  • ढाेरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार

स्याङ्जा/  स्याङजाको दक्षिणी चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने ३१ वर्ष पुरानो सडक निर्माणको समस्या अझै रहेको छ । चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा सडक निर्माण गरिएको थियो । तर अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको हो ।

कुनै समय यही सडकबाट चापाकोटदेखि बुटवलका लागि आठ वटा मिनीबस र गल्याङका लागि १५ वटा बोलेरो जिप नियमित सञ्चालन हुन्थे । तर अहिले भने सार्वजनिक सवारी साधन सजिलै पाउन नसकिने अवस्था छ ।
चापाकोट दामाचौरदेखि गल्याङसम्मको २७ किलोमिटर सडकमध्ये ११.८ किलोमिटर खण्ड प्रयोग गर्नै कठिन बनेको स्थानीय नरेन्द्र अर्यालले बताए । अहिले एक दुई वटा मात्र सार्वजनिक यातायात चल्ने गरेको बताउदै अर्यालले मान्छे नभए नचल्ने र रिजर्भ नै गर्नुपर्ने बाध्यता रहेको सुनाए ।

उनले जिल्लाका धेरै नयाँ सडक कालोपत्रे हुदाँ यहाँको यो सडकमा भने हिलो र धुलोमा हिड्नु पर्ने बाध्यता रहेको बताए । सडक पुर्ण रुपमा नबन्दा मनहरी, बेलचौर, आपचौर, ढाडेखोला, सम्पास र प्याउनास लगायतका बस्तीका स्थानीयलाई बजार पुग्न र दैनिक आवतजावत गर्न निकै कठिन भएको हो ।

गण्डकी प्रदेश सरकारले २०८० चैतमा दुई बर्षमा ११.८ किमी कालोपत्रे गर्ने गरेर निर्माण व्यवसायीसंग सम्झौता गरेकोमा म्याद गुज्रिदा समेत काम आधा मात्रै भएको हो । यहाँको बारिचौरबाट तेउनास केराघारीको सडक ४२ करोड ४२ लाख ९४ हजार ६७९ रुपियाँ १६ पैसामा अस्पाल्ट प्रविधीको कालोपत्रे गर्ने जिम्मा लिएर अमर कन्स्ट्रक्सनले समयमै काम नसक्दा यहाँ समस्या आएको हो ।

निर्माण कम्पनीले समयमै काम नसकेको बताउदै भौतिक पूर्वाधार कार्यालय स्याङजाका प्रमुख गुरुदत्त अधिकारीले निर्माण समाग्रीको समस्याका कारण निर्माणमा ढिलाई भएको दावी गरे । यहाँको छ किलोमिटर सबबेस र अन्य सडकमा नाला सकिएको अधिकारीले बताए ।

गल्याङ हुँदै बुटवल तथा तनहुँको दुलेगौंडा हुँदै राजधानी पुग्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो सडक समयमै निर्माण नहुँदा स्थानीय अहिले कालीगण्डकी करिडोर हुँदै लामो र झन्झटिलो यात्रा गर्न बाध्य हुनु परेको छ ।
स्थानीय तहले निर्माण कम्पनीलाई प्रभावकारी रूपमा काम गराउन नसक्नु, आवश्यक निर्माण सामग्रीको सहज व्यवस्थापन हुन नसक्नु र पटक–पटक म्याद थपिँदा पनि काम पूरा नहुदा समस्या जस्ताको तस्तै रहेको हो ।
चापाकोट–गल्याङ सडकको स्तरोन्नति समयमै सम्पन्न भए हजारौँ स्थानीयको आवागमन सहज हुने मात्र होइन, यस क्षेत्रको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिलाई समेत नयाँ गति मिल्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->