स्याङ्जा / स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजेको समयमा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेका छन्। मोटरसाइकल चालक सोही नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।
प्रारम्भमा मोटरसाइकलको नम्बर खुल्न नसके पनि पछि उक्त मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको खुलेको थियो। शनिबार बिहान ६ः४५ बजे बगेको स्थानबाट करिब १०० मिटर तल खोलामा मोटरसाइकल फेला पारेर निकालिएको प्रहरीले जनाएको छ।
मगरको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। उनको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।





