मंगलबार, भाद्र २ २०८३

मंगलबार, भाद्र २ २०८३
  • २ भाद्र २०८३ , मंगलबार
  • August 18 2026

विरह बक्ने त्यो सवाइ, सत्ता बदल्ने यो भिडियो कल

विरह बक्ने त्यो सवाइ, सत्ता बदल्ने यो भिडियो कल

घरकी जवान जहानको कुरा छाडौँ, बुढ्यौली वयका आमाबुबाले पनि भिडियो कलमार्फत् छोराले गरेको आग्रह पच्छ्याए अनि चूपचाप घन्टीमा छाप लगाए ।


  • बासुदेव मिश्र
  • भाद्र २ २०८३, मंगलबार

पिँढीको एक छेउमा बसेर झलकमान गन्धर्व ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ भन्दै सारङ्गी रेट्न थाल्थे । घरमुलीको आँखा दैलोमाथिको फोटोमा अडिन्थ्यो । धागोले बाँधेको चिठीसँगै एकाएक घरमुली बनेकी उनी सप्कोले आँसु पुच्छिन्; लालाबाला सुँक्कसुँक्क गर्न थाल्थे । ‘सिसै काट्यो गोलीले रनमा परी मरिछन् लाहुेरे …’ सम्म आइपुग्दा गाउँ नै चकमन्न हुन्थ्यो ।

यो त्यो बेलाको कथा हो– जुन बेला नेपालबाट हुलका हुल युवा ‘बहादुर’ बन्न लाहुर पस्थे । अहिले जस्तो हात हातमा मोबाइल फोन र भिडियो कलको सुविधा भए पो ! पहिलो र दोस्रो विश्वयुद्धका बेला त्यसरी बहादुर बन्न गएकाहरु कहाँ के गर्दैछन् भन्ने घरकालाई थाहा हुँदैनथ्यो । एक आँकडा अनुसार करिब २ लाख ५० हजार गोर्खाहरू युद्धमा सहभागी भएका थिए भने तीमध्ये ६० हजार कहिल्यै फर्केनन् । आफन्तले सास त के, लास पनि देख्न पाएनन् । प्रत्यक्ष युद्धमा सामेलबाहेक सहयोगीका रुपमा त्यति नै संख्यामा गोर्खाली युद्धमा संलग्न भएका थिए ।

‘युद्धमा मारिएकाहरूको लास आउला भन्ने कल्पनै हुँदैनथ्यो, बरु उनीहरुको मारिएको खबर लेखिएको चिठी भने हल्काराले गाउँमा ल्याउँथे । मरणको चिठीमा रातो धागो बाँधेको हुन्थ्यो रे,’ लाहुरेको जीवनलाई नजिकबाट नियालेका र त्यसमै आधारित रहेर ‘लाहुरे फूल’ कविता लेखेका कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘त्यस्तो चिठी पछिसम्मै आउने गरेको सम्झना छ ।’

त्यस्तो चिठीचाहिँ ब्रिटिस इन्डियाका सैन्य अधिकारी र गोर्खाली संलग्न रेजिमेन्टले पठाउँथ्यो । इतिहासविद् डा प्रत्त्युष वन्तका अनुसार लडाइँको मैदानमा रहेका गोर्खालीले पठाउने चिठीहरू भने ‘सेन्सर’ हुन्थे ।

‘पहिलो विश्वयुद्धमा गोर्खाली युरोप, मध्यपूर्व र अफ्रिकासम्म पुगेका थिए । फ्रान्स र बेलायतमा रहेका उपमहादेशका फौजको नाममा पठाइएका र तिनले पठाउने चिठीपत्रमाथि निगरानी राख्न फ्रान्सको बोलोनमा युद्धकालीन सेन्सर कार्यालय राखिएको थियो । युद्धका अवस्था र घरको अवस्थाबारेका संवेदनशील जानकारी भएका चिठीहरू जफत गर्नु यस कार्यालयको जिम्मेवारी थियो,’ वन्तको आलेखमा भनिएको छ, ‘सेन्सर कार्यालयका अधिकारीहरूबाट बेला बेलामा तयार गरिने प्रतिवेदनमा कहिलेकाँही उनीहरुले पढेका चिठीका लामालामा अंशहरु उधृत भएका हुन्थे ।’

अहिले पनि बेलायती र भारतीय सेनामा हजारौँ नेपाली कार्यरत छन् । तर, सञ्चो–बिसञ्चो थाहा पाउन हुलाकीको बाटो हेर्नुपर्ने बाध्यता अन्त्य भएको छ । ‘धागोले बाँधेको’ चिठी आउनै छाडेको छ ।

लेखक

समय बदलिएको छ तर लाहुरे संस्कृतिबाट नेपाल विमुख भएको छैन । बरु, लाहुरे बन्ने प्रवृत्ति फेरिएको छ । हिजो छाती नपाएर बेलायती र भारतीय सेनामा पुग्ने युवा पासपोर्ट बनाएर संसारका विभिन्न ठाउँमा पुग्न थालेका छन् । युद्धको मैदानमा होइन, कठिन श्रम र मरुभूमिको बालुवामा पसिना चुहाएका छन् ।

अर्थ मन्त्रालयले यो वर्षको सुरुमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८३ का अनुसार श्रम स्वीकृति लिने नेपालीको संख्या ६९ लाख २३ हजार ४४३ नाघेको छ । यीमध्ये ७.१ प्रतिशत महिला छन् । र, वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्षेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०८२÷०८३ को वैशाखसम्म ५ लाख २५ हजार ५१३ जनाले नयाँ र पुरानो गरी श्रम स्वीकृति लिँदा महिलाको संख्या १२.१ प्रतिशतमा पुगेको छ ।

नेपालको श्रम मन्त्रालयले १११ देशका लागि श्रम स्वीकृति खुला गर्दा खाडीबाहेक रोमानिया, सर्विया, माल्टा, पोर्चुगल र नामै नसुनेका देशमा पनि पुगेका छन् । यसरी विदेशिएकामध्ये १ हजार ८६ जना नागरिकले विदेशमै ज्यान गुमाएको परराष्ट्र मन्त्रालयको तथ्याङ्क छ । अवैध बाटो हुँदै अमेरिका वा अन्य देशमा जाने र बाटैमा बिलाउनेहरूको आकडा यसमा समावेश छैन ।

अध्यागमन विभागका अनुसार कामकै लागिमात्र नभएर विद्यार्थीको रुपमा विदेशिनेको संख्या पनि बर्षेनि बढ्दै गएको छ । विभागका अनुसार सन् २०२० देखि २०२६ को मध्यसम्म ५,६२,९०४ जना नेपाली विद्यार्थी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर वैदेशिक अध्ययनमा गएका छन् ।

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार विभिन्न ७३ देशका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनमा जाने गरेका छन् । जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिका, भारत, बंगलादेश, स्वीडेन, इस्टोनिया, दक्षिण कोरिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, इटाली, ओमान, आयरल्याण्ड, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिका लगायतका मुलुकको अलावा पछिल्लो समय नामै नसुनिएका देशमा पनि पढ्नका लागि आवेदन दिनेको संख्या बढेर गएको छ ।

‘माल्टा, किर्गिस्तान, अमानिया, क्रोयसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना र केही नाम नसुनिएका देशका निम्ति पनि आवेदन आउन थालेको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पढ्न जाने भनिए पनि आवेदन दिनेमध्ये अधिकांशको सपना देश छोड्नु र रोजगारीको खोजी गर्नु नै हो ।’

छरिएको त्यो शक्ति !
आधिकारिक तथ्याङ्क कम भए पनि अहिले विश्भर छरिएका नेपालीको संख्या १ करोड हाराहारी पुगेको अनुमान गरिएको छ । उनीहरुले कठिन श्रममार्फत् आर्जेको पैसा देशमा पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷०८३ को जेठ महिनासम्म २०३ अर्ब ८९ करोड छ ।

‘विदेशिएका नेपालीले पठाउने रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको छ,’ अर्थशास्त्री प्राडा यादव शर्मा गौडेल भन्छन्, ‘विदेशमा कठिन श्रम गर्ने उनीहरुको चाहना देशमै केही गर्ने वातावरण होस् भन्ने छ तर पर्याप्त रोजगारी सिर्जना गर्नबाट राज्य चुकेको छ ।’

सत्ता हल्लाउने शक्ति !
समाजशास्त्री डा विश्वकल्याण पराजुली विदेशमा रहेको यो शक्तिलाई सत्ता हल्लाउने सामथ्र्य भएको शक्तिको उपमा दिन्छन् । ‘२०७९ कै चुनावमा पनि उनीहरुको प्रभाव देखिएको थियो । असारमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई २०७९ को मंसिरमा चौथो ठूलो शक्तिको रुपमा उभ्याउन विदेशमा रहेका नेपालीकै योगदान थियो,’ डा पराजुली भन्छन्, ‘२०८३ को चुनावमा यो शक्तिले नयाँ दललाई आर्थिक, नैतिक सबै खाले सहयोग ग¥यो ।’

२०८३ चैत २१ को चुनाव नजिकिँदै गर्दा विदेशमा रहेका छोराछोरीले भिडियो कलमार्फत् गरेको आग्रह नै मतपत्रमा ‘घन्टी छाप’का रुपमा प्रकट भएको उनले तर्क गरे ।

डा पराजुलीका अनुसार लामो राजनीतिक अस्थिरता, विदेशिनुको पीडा तथा नयाँप्रतिको आशाका कारण युवाले विदेशमै रहेर नेपालको राजनीतिमा सशक्त हस्तक्षेप गरेका थिए । ‘घरकी जवान जहानको कुरा छाडौँ, विदेशमा छोरोछोरी हुने बुढाबुढाको हातमा स्मार्ट फोन नहुने कुरै भएन । छोराछोरीले भिडियो कलबाटै आमाबुबालाई मनाए; उनीहरुले चूपचाप घन्टीमा छाप लगाए । पुराना राजनीतिक दलहरुले विदेशमा रहेका नेपालीको मनोभाव बुझ्नै सकेनन्,’ डा पराजुली भन्छन्, ‘पहिला जस्तो चिठी लेख्ने जमाना रहेन नि, हातेफोनबाटै हुने भिडियो कल नै सत्ता फेर्न काफी भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->