मंगलबार, भाद्र २ २०८३

मंगलबार, भाद्र २ २०८३
  • २ भाद्र २०८३ , मंगलबार
  • August 18 2026

ढुंगा खसेर चुमनुव्रीको क्यान्टिलिभर पुलमा क्षति

ढुंगा खसेर चुमनुव्रीको क्यान्टिलिभर पुलमा क्षति


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

गोरखा / माथिबाट खसेको ढुंगाले उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल जोखिममा परेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल हालै खसेको ढुंगाका कारण क्षतिग्रस्त बनेको हो ।

पुल जीर्ण भएपछि चुमनुव्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको लोक्पाका सेराप गुरुङले जानकारी दिए । चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुंगासमेत खसेको बताए । उनका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ । ‘पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ,’ उनले भने ।

लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताए । तत्कालै पुल मर्मत नगरिए गाउँपालिकाको केन्द्र फिलिम पुग्न थप एक दिनको यात्रा गर्नुपर्ने र यसले बिरामीलाई झनै समस्या हुने उनको भनाई छ ।

ढुंगा खसेपछि चुमनुव्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भीर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताए । हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको छ ।

क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुव्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि १५ लाख विनियोजन गरिएको छ । अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->