शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जा प्रहरीको साउन महिनाको प्रगति– २४ मुद्दा दर्तादेखि १ हजार ७९० गाँजाका बोट नष्टसम्म

स्याङ्जा प्रहरीको साउन महिनाको प्रगति– २४ मुद्दा दर्तादेखि १ हजार ७९० गाँजाका बोट नष्टसम्म


  • ढाेरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

स्याङ्जा/  जिल्ला प्रहरीले गत साउन महिनामा अपराध अनुसन्धान तथा शान्ति सुरक्षातर्फ विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार साउनमा कुल २४ मुद्दा दर्ता भएका छन्।

तीमध्ये ४ वटा जघन्य तथा गम्भीर, ४ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, १ वटा आर्थिक र १५ वटा अन्य अपराधसम्बन्धी मुद्दा छन्। १९ जना प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनतर्फ चोरीका २, अंशबन्डाका ३, कुटपिटका २, चेक अनादरको १, लुटपाटका २, सम्बन्धविच्छेदका २ र लेनदेनको १ गरी १३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूमध्ये एक महिनाको कैद तथा २३ हजार ४२० रुपैयाँ ६ पैसा जरिवाना तोकिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६ वटा उजुरीमा ६ जना पीडक रहेको विवरणमा उल्लेख छ। यस्तै, साउनमा १६ जना हराएकोमा ८ जना फेला परेका छन् भने ८ जना फेला पर्न बाँकी छन्। घरेलु हिंसातर्फ ६ वटा उजुरी परेका छन्। तीमध्ये २ वटा शारीरिक र ४ वटा मानसिकरआर्थिक हिंसासम्बन्धी छन्। तीनवटा मिलापत्र गराइएको छ। प्रत्यक्ष निवेदनबाट प्राप्त ३० वटै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ।

लागूऔषधतर्फ बुप्रेनोर्फिन, फेनरागन र डाइजेपाम एक–एक एम्पुल तथा प्रयोग गरिएको सिरिन्ज एक थान बरामद गरी एकजनालाई पक्राउ गरिएको छ। साउनमा झुन्डिएर चारजनाले आत्महत्या गरेका छन्। साउन २ गते वालिङ–९ तल्लो वालिङका २७ वर्षीय राजिन गुरुङलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषधसहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको साथबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन एक–एक एम्पुल तथा प्रयोग गरिएको सिरिन्ज बरामद भएको थियो।

साउन १० गते वालिङ–१२ स्थित अकला देवी मन्दिरको दानपेटिका चोरीमा संलग्न गल्याङ–६ का २८ वर्षीय गंगाधर पाण्डे र २१ वर्षीय राजेश सुनार पक्राउ परेका थिए। अदालतले जनही ५० हजार रुपैयाँ धरौटी माग गरे पनि धरौटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका छन्।

मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रुपन्देही देवदह–३ का ३९ वर्षीय घनश्याम चौधरीलाई साउन १० गते घरबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। यस्तै, ७६ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा आँधीखोला–४ का २१ वर्षीय रोशन विकलाई साउन २५ गते पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपराध न्यूनीकरणका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्याङ्जा बजार, वालिङ, चापाकोट, गल्याङ र बिरुवा क्षेत्रमा बजार अनुगमन गरेको थियो। एलपी ग्यास अभावका बेला गरिएको अनुगमनमा कालोबजारी नभेटिएको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत जिल्लामा १६७ वटा वडा तथा टोल समिति गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। चापाकोट नगरपालिका–९ र १० मा ६ वटा सीसी क्यामेरा र एक मोनिटर जडान गरी इलाका प्रहरी कार्यालय चापाकोटबाट निगरानी गर्ने व्यवस्था गरिएको छ। पुतलीबजार–१ अभियानपथ र नागस्थानबाट चोरी भएका दुई साइकल प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ। विरुवा–५ को जंगलबाट बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक, त्यसमा लाग्ने केप, छर्रा र बारुदसमेत बरामद गरिएको छ।

विभिन्न समयमा हराएका पाँच थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ। बेवारिसे अवस्थामा भेटिएका एक वृद्ध र एक बालिकालाई आफन्तको जिम्मा लगाइएको तथा हराएका तीन थान मनीपर्समा रहेको १९ हजार रुपैयाँ र एउटा झोला पनि सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।

प्रहरी गस्तीका क्रममा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका १ हजार ७९० गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ। वालिङ र चापाकोट क्षेत्रमा बिक्रीका लागि राखिएको करिब १८० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षातर्फ साउन महिनामा ४३४ पटक पिकेट, ३७२ पटक चेकिङ, १०८ पटक ग्रामीण गस्ती, ३ पटक एलआरपी र ८३७ पटक एसआरपी गरी कुल १ हजार ७५४ पटक प्रहरी परिचालन भएको छ। सवारी दुर्घटनातर्फ साउनमा ७ वटा दुर्घटना भएका छन्। तीमध्ये एक गम्भीर र ६ सामान्य प्रकृतिका छन्। सवारी चेकिङबाट ७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको र ७०९ जनामाथि कारबाही गरिएको छ।

साउन १५ गते लागूऔषध सेवन गरी पोखराबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोका चालक रमेश मगरको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि प्रक्रिया अघि बढाइएको छ। राजस्व तथा भन्सार छली नियन्त्रणतर्फ १ लाख ८० हजार ३०० रुपैयाँ बराबरको सामान बरामद भएको छ।

विपद् व्यवस्थापनतर्फ साउनमा बाढी तथा पहिरोका ११ घटना भएका छन्। ती घटनामा एकजनाको मृत्यु र १० चौपाया मरेका छन्। प्रहरीले ११ वटै घटनामा उद्धार गरेको र ११५ जना प्रहरी परिचालन भएको जनाएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ तीनवटा सवारी नियन्त्रणमा लिएर ४३ हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रहरीले साउनमा साइबर अपराध, बालबालिकाविरुद्धको अपराध, महिला हिंसा, सामाजिक हितविरुद्धका अपराध, सडक सुरक्षा, विपद् व्यवस्थापन, चोरी न्यूनीकरण, मानव बेचबिखन र लागूऔषधलगायत विषयमा १३३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा कुल २ हजार ८७२ जना सहभागी भएका थिए।

यस्तै, प्रहरी कार्यालयबाट नागरिकता तथा हतियार नवीकरणलगायत ३२ वटा मुचुल्का तयार गरिएको, हटलाइन तथा डीएसपीको फोनमा ३६८ वटा कल प्राप्त भएको र नागरिक सहायता कक्षबाट ६१० जनालाई सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ।

नागरिकलाई सहज सेवा दिन युवा–मैत्री नागरिक सहायता कक्ष स्थापना गरी नागरिक सहजकर्ता परिचालन गरिएको छ। प्रहरी कर्मचारीको मनोबल बढाउन वित्तीय साक्षरता, विपद्मा प्राथमिक उपचार, हाइकिङ, वनभोज र योगालगायत गतिविधि पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

गल्याङमा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा ८५ जना सहभागी भएका थिए। कार्यक्रममा शान्ति सुरक्षा, प्रहरी कामकारबाही, ट्राफिक व्यवस्थापन र प्रहरी सेवा प्रवाहबारे विषय उठाइएको थियो। यस्तै, आँधीखोला–१ कौडीखोलामा सीमान्तकृत तथा पिछडिएको वर्ग लक्षित कार्यक्रममा १४ जनाको सहभागिता रहेको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी रमेश दत्त अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->