मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कृष्ण प्राविको ३६ औं वार्षिकोत्सव

कृष्ण प्राविको ३६ औं वार्षिकोत्सव


  • ढाेरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

बागलुङ/बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कृष्ण प्राथमिक विद्यालयको ३६ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । स्थानीय समुदायले २०१७ अगाडी नै बुद्धिदात्री प्रावि स्थापना गरी गुरुकुल शिक्षा संचालन गरेका थिए । २०४८ भाद्र १६ गते श्रीकृष्ण अष्टमीको दिन कृष्ण प्रावि संचालनमा आएको थियो ।

२०७५ देखि २०७९ सम्म विविध कारणले स्थगन समेत भएर सो विद्यालय पुनः संचालनमा आएको छ । कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा २७ जना विद्यार्थी छन् । विद्यार्थीहरुका लागि नगरपालिका, अभिभावक, चन्दादाता, सहयोगीहरुबाट पाठ्यपुस्तक, पोशाक, झोला, कापी कलम उपलब्ध हुदै आएको छ ।

३६ औं वार्षिकोत्सवमा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले कठिनाइको सामना गर्दै समुदायको साझा नेतृत्वबाट विद्यायलले ऐतिहासिक उपलब्धी हासिल गरेको बताए । विद्यालयले बनाएको ८० प्रतिशतसम्मको शैक्षिक उपलब्धी, भवन निर्माण, कम्प्युटर कक्ष, वृक्षारोपण, अभिभावक शिक्षा, शिक्षक तालिम, मन्टेश्वरी तथा खेलकुद सामाग्री, शैक्षिक भ्रमण योजना कार्यान्वयनमा सक्रिय रहने समेत खड्काले प्रतिबद्धता जनाए ।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा सरकारले तोकेको उमेर समूहका बालबालिका विद्यालय भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तह सम्मको शिक्षा अनिवार्य पुरा गर्नुपर्ने कानुनी बाध्यताको बारेमा सचेतना जरुरी रहेको उप–प्रमुख खड्काको भनाई थियो । खड्काले २०८५ साल बैशाख १ गतेपछी आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी वा अर्ध सरकारी सेवामा प्रवेश नपाउने लगायतका प्राबधान रहेकोतर्फ सबै अभिभावक जिम्मेवार रहनुपर्ने अवस्था रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक एवं अभिभावकहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा प्रधानाध्यापक उमानाथ रिजालले कार्यप्रगति र प्रस्तावित कार्यक्रम, शिक्षक चेतकुमारी शर्माले स्वागत र शिक्षक काशीराम ढकालले कार्यक्रम संचालन गरेका थिए ।

वार्षिकोत्सवमा विद्यार्थी प्रबि बिक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष घनश्याम बिक, पुर्व शिक्षक एवम् समाजसेवी भिमनाथ शर्मा, पुर्व विद्यार्थी मञ्चका अध्यक्ष राजु बिक, अक्षयकोषदाता प्रेम बहादुर बिक, राजनैतिक दलको तर्फबाट देवेन्द्र ढकाल, पृथ्वी हिरन्य माविका प्रधानाध्यापक इन्दु शर्मा र वडा सदस्य महानन्द शर्माले शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->