‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि।।’
मनुष्यको नियन्त्रण केवल आफ्ना कर्ममा हुन्छ, परिणाममा होइन । तसर्थ हामीले फलको चिन्ता नगरी पूरा ईमानदारी र निष्ठासँग आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ । श्रीमद्भगवद्गीतको अध्याय २, श्लोक ४७ मा भगवान् कृष्णले अर्जुनलाई हजारौँ वर्षअघि दिनुभएको यो उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।
बहुआयामिक व्यक्तित्व र उत्सवका प्रतीक भगवान् कृष्णको जन्म भएको सम्झनामा शुक्रबार कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । कृष्णको व्यक्तित्व सनातन धर्ममा वर्णन गरिएका अन्य देवीदेवतीभन्दा फरक भएकोले उहाँलाई विशेष महत्वका साथ स्मरण गरिन्छ । आध्यात्मिक गुरु लेखनाथ शास्त्री कृष्णलाई बहुआयामिक व्यक्तित्व र उत्सवको प्रतीकका रुपमा लिनुहुन्छ । उहाँका अनुसार कृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरात, घोर अन्धकार र जेलभित्र भएको थियो। ‘संसारमा हरेक नयाँ र रहस्यमय कुराको जन्म अन्धकारमा हुन्छ । कृष्णको जन्म जेलमा हुनुको अर्थ हो—हामी बन्धनमा जन्मिए पनि साधना र जागरूकताद्वारा मुक्ति प्राप्त गर्न सक्छौँ ।’ -आध्यात्मिक गुरु शास्त्री भन्नुहुन्छ ।
भगवान् कृष्णले मनुष्यको अधिकार केवल कर्म गर्नु रहेको र फलको आशा गर्नु नहुने सन्देश दिनुभएको छ । उहाँका अनुसार आत्मा अमर र शरीर नाशवान छ । आत्मा अजर र अमर छ । आफ्नो स्वधर्म र कर्तव्य पालन सबैभन्दा ठुलो धर्म हो । अभ्यास र वैराग्यद्वारा चञ्चल मनलाई वशमा ल्याउन सकिन्छ । काम, क्रोध र लोभ विनाशका मार्ग हुन् तसर्थ यिनको त्याग गर्नु आवश्यक रहेको उपदेश उहाँले दिनुभएको छ ।
महाभारतको युद्धमा कृष्ण अर्जुनको सारथि बन्नुभएको थियो । पुराणमा उल्लेख भएअनुसार द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा वासुदेव र देवकीको कोखबाट कारागारमा भगवान् कृष्णको जन्म भएको थियो । भगवान विष्णुको आठौँ अवतारको रूपमा कृष्णको जन्म भएको मान्यता छ । उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।





