पोखरा/ पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ । उनलाई सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो ।
फेवातालको तालबाराही मन्दिर पछाडि घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा विपद् उद्धार टोली (गोताखोर) आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको थियो।
खोजतलासका क्रममा दिउँसो १४.५० बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले आयुष तामाङलाई अचेत अवस्थामा फेला पारी तालबाट बाहिर निकालेका थिए।
उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो १४.५५ बजे गण्डकी मेडिकल कलेजमा पठाएकोमा १७.३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।





