सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३
  • १९ असोज २०८३ , सोमबार
  • October 5 2026

बुबाको कफी विरासतलाई छोराद्वारा प्रिमियम ब्रान्डमा रूपान्तरण

बुबाको कफी विरासतलाई छोराद्वारा प्रिमियम ब्रान्डमा रूपान्तरण

एकै फार्मको कफी ‘भूमि रोस्टरी’ मार्फत बजारमा


  • रोशन लामिछाने
  • भाद्र २७ २०८३, शनिबार

स्याङजा/ आफ्नै बाबुले सुरु गरेको कफी खेतीलाई छोराले व्यावसायिक रूपमा अघि बढाउँदै प्रिमियम कफी उत्पादन थालेका छन् ।

पुतलीबजार नगरपालिका– ११ उनीयाचौर करेन्डाँडाका भुमिजंग केसीको बगैँचामा उत्पादन भएको कफीलाई अन्य क्षेत्रको कफी नमिसाई एउटै फार्मको उत्पादनका रूपमा प्रशोधन गरी ‘भूमि रोस्टरी’ मार्फत सीमित परिमाणमा बजारमा ल्याइएको हो ।

बेलायतबाट नेपाल फर्किएका भुमिजंगका छोरा कृष्णजंग केसीले करिब १५ वर्षदेखि कफी क्षेत्रमा काम गर्दै आएका छन् । उनले बुबाको कृषि पेशालाई निरन्तरता दिँदै कफी खेती, प्रशोधन र पर्यटनलाई एकैसाथ जोडेर व्यवसायलाई अघि बढाएका हुन् ।

आफ्ना बुबाको सम्मानमा ‘सिंगल फार्म ओरिजिन’ कफी उत्पादन सुरु गरेको उनले बताए । ‘मेरो बुबाको सम्मानमा यो कफी बनाइरहेको छु । उहाँले गरेको कृषि पेशालाई अंगालेर नयाँ पुस्ताले पनि यस क्षेत्रमा भविष्य देख्न सक्छ भन्ने सन्देश दिन खोजेको हुँ,’ कृष्णजंगले भने । उनका अनुसार हाल भूमि रोस्टरीबाट महिनामा करिब १० देखि २० किलो प्रिमियम कफी बजारमा ल्याउने तयारी गरिएको र आगामी वर्ष भने करिब पाँच क्विन्टल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

एउटै क्षेत्रको कफीलाई अलग राखेर प्रशोधन गर्दा त्यसको स्वाद, गुणस्तर र उत्पादनको मौलिकता पहिचान गर्न सहज हुने उनको भनाइ छ । केसी परिवारले हाल करिब ४५ रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएको छ । उक्त क्षेत्रबाट वार्षिक १५ देखि १८ क्विन्टलसम्म कफी उत्पादन हुँदै आएको छ । राम्रो व्यवस्थापन र मेहनत गर्न सके उत्पादन २० क्विन्टलसम्म पु¥याउन सकिने केसीले बताए ।

त्यसमध्ये करिब १० क्विन्टल उत्पादनलाई प्रिमियम सिंगल फार्म कफीका रूपमा छुट्याउने योजना रहेको उनले सुनाए । कफीको बजारमा कुनै समस्या छैन । बिक्री आफ्नै व्यवसायमार्फत प्रत्यक्ष रूपमा हुँदै आएको छ । अनलाइनमार्फत ग्राहकलाई बिक्री गर्नुका साथै काठमाडौंका विभिन्न ग्राहक तथा संस्थासम्म पु¥याउने गरिएको छ ।
साथै केही कफी बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, न्यूजिल्याण्ड र अस्टे«ेलियासम्म पुगिरहेको केसीले बताए ।

नेपालका करिब ४० देखि ५० वटा क्याफेलाई समेत कफी उपलब्ध गराउँदै आएको उनको भनाई छ । कफी खेतीसँगै परिवारले क्याफे तथा फार्म पर्यटनलाई पनि अघि बढाएको छ । क्याफे र फार्ममा आउने विदेशी पर्यटकमार्फत नेपाली कफी, कृषि र पर्यटनबारे जानकारी फैलाउन सहयोग पुगेको केसीले बताए ।

फार्म भ्रमणका लागि हाल २५६ वटा समूहले बुकिङ गरेको उनले सुनाए । कफी व्यवसायले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । उनको फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् । कफी टिप्ने, गोड्ने, बोक्ने तथा प्रशोधनलगायत मौसमी काममा तीन महिनाको अवधिमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन् ।

कृष्णजंगले नेपालका लागि कफी उच्च सम्भावनाको कृषि उत्पादन भएको बताए । नेपालको भौगोलिक उचाइ, माटो र हावापानीका कारण नेपाली कफीको गुणस्तर र स्वाद अन्तर्राष्ट्रिय बजारका लागि आकर्षक बन्न सक्ने उनको भनाई छ । ‘खाडी राष्ट्रले तेल निकालेर बेचे जस्तै हाम्रो लागि कफी महत्वपूर्ण उत्पादन बन्न सक्छ,’ उनले भने ।

कफी खेतीको इतिहास केसी परिवारमा लामो छ । परिवारका अनुसार कृष्णजंगका हजुरबुबा नरबहादुर केसीले रिडी क्षेत्रबाट कफी ल्याएर रोपेका थिए । २०१६ देखि २०१८ सालतिर कफी खेतीको सुरुवात भएको बताइए पनि भुमिजंग केसीले २०३३ सालदेखि कफीलाई चिनेर व्यावसायिक रूपमा अघि बढाएका थिए ।

पछिल्लो पुस्ताले भने २०५८ सालदेखि कफी क्षेत्रमा काम थालेको परिवारको भनाई छ । ९४ वर्षीय भुमिजंग केसीले कृषि तथा कफी क्षेत्रमा गरेको योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका छन् ।

उनले थाइल्यान्डको राजदरबारबाट उत्कृष्ट कृषकका रूपमा सम्मान पाएका थिए । संयुक्त राष्ट्रसंबाट सन् १९९६ मा एसियाका उत्कृष्ट कृषकका रूपमा १० हजार अमेरिकी डलर, प्रमाणपत्र र पदकसमेत प्राप्त गरेका थिए । नेपाल सरकारले समेत कृषि क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई गोर्खा दक्षिण बाहुबाट सम्मान गरेको परिवारले जनाएको छ ।

नयाँ पुस्ताले भने कफीलाई ठूलो परिमाणमा उत्पादन गरेर बजारमा पठाउनुभन्दा गुणस्तर, मौलिकता र सीमित उत्पादनमा जोड दिएको छ । कृष्णजंगले बेलायतबाट फर्किएर कृषि पेशामा लागेको उदाहरणमार्फत युवालाई विदेशमा मात्र भविष्य नदेखी आफ्नै माटोमा आधुनिक कृषि र उद्यम गर्न प्रेरित गर्ने उद्धेश्य रहेको बताए ।

उनले गुरुका रूपमा सम्मान गर्दै उत्पादन गरेको ‘कर्ण कफी’ र ‘रोड साइड’ मार्फत बजारमा ल्याइएको कफीसमेत ग्राहकबीच लोकप्रिय बन्दै गएको बताए । कृषि, कफी र पर्यटनलाई एउटै व्यावसायिक अवधारणमा जोडेर स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने प्रयास भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->