आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

पुँजीबजारमा गर्नैपर्ने केही काम

पुँजीबजारमा गर्नैपर्ने केही काम

अर्थ मन्त्रालयबाट जारी पुँजीबजार सुधार कार्ययोजना कागजी रुपले राम्रो भए पनि कार्यान्वयनका निम्ति भने बढो सतर्कतापूर्वक प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ ।


  • Dhorpatan News
  • भाद्र ३१ २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन तथा अर्थतन्त्रका जानकार डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालयको नेतृत्वमा आउँदासमेत सेयर बजार सुस्त रह्यो । बजार सुस्त हुँदा लगानीकर्ता निराश बनेका थिए भने अपजस अर्थमन्त्रीको टाउकोमा थुप्रियो । सेयर बजारले रास्वपा र अर्थमन्त्रीलाई नपत्याएको विश्लेषण भयो । दबाबमा रहेका अर्थमन्त्री वाग्लेले अन्ततः पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरे । अर्थ मन्त्रालयबाट सोमबार सार्वजनिक गरिएको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ले बजारमा सकारात्मक प्रभाव पारेको छ । भोटेकोसी बाढीले जलविद्युत क्षेत्रमा पु¥याएको ठूलो क्षतिपछि जारी कार्ययोजनामा प्राथमिक सेयर निष्कासन (आइपिओ) छुटदेखि बजारमा अत्यावश्यक पूर्वाधार निर्माण, नेपाल स्टक एक्सचेन्जको पुनःसंरचनादेखि कर छुटसम्मका योजना छन् । यस्तै बजारलाई थप आधुनिक, प्रविधिमैत्री, पारदर्शी र लगानीमैत्री बनाउने घोषणा पनि गरिएको छ ।

कर संरचनामा सुधार र प्रोत्साहनका निम्ति पुँजीगत लाभकरतर्फ दीर्घकालीन लगानीकर्तालाई ३.५ अनि अल्पकालीनका निम्ति ५ प्रतिशत कायम गरिएको छ भने नाफा–घाटा हेरेर खुद लाभमा मात्र कर लाग्ने व्यवस्था पनि गरिएको छ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तत्काल जारी गर्ने, जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधी उद्योगका लागि क्षेत्रगत विशिष्ट योग्यता, मूल्य अन्वेषण तथा धितोपत्र बाँडफाँट प्रणाली लगायतका नीतिगत तथा कानुनी सुधार २०८३ पुस मसान्तभित्र लागू गर्ने प्रतिवद्धता छ । सेयर बजारमा गैरआवासीय नेपालीको प्रवेश गराउने, हरित ऋणपत्र जारी गर्ने, पर्यटन क्षेत्रका आइपिओका लागि मूल्य अन्वेषण प्रणाली लागू गर्दै बजारमुखी तुल्याउनेलगायतका घोषणालाई लगानीकर्ताले सकारात्मक रुपमा लिएकाले बजार चलायमान बनेको हो ।

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा हुने ‘सेटिङ’ अनि केही ठूला लगानीकर्ताकै चंगुलमा रहेको बजार विकृतमात्र थिएन; नियमनकारी निकायमा हुने नियुक्तिमा पनि उनीहरुकै प्रभाव थियो । त्यो विकृति अन्त्यका निम्ति पुँजीबजार सुधार र नियमनकारी निकायहरूको प्रभावकारी परिचालनको माग गरिएको थियो । त्यही मागको परिपेक्ष्यमा अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले सेयर बजारका विकृति हटाउने तथा लगानीकर्ताको मनोबल उठाउने अपेक्षा गरिएको छ ।

अपितु, कार्ययोजनामा संशय गर्ने ठाउँ पनि छन् । कार्ययोजना बन्ने तर कार्यान्वयन नहुने पुरानो रोगबाट मुुक्तिबिना सुधार सम्भव हुँदैन । २१ बुँदे कार्ययोजना पूर्ण कार्यान्वयनका निम्ति बाटो खोल्न केही निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्छ भने संसदले कानुन पारित गर्नुपर्छ । २१ दिनको समयसीमामा ती काम भइहाल्छन् भन्ने आधार छैन भने अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेप्सेबीच समन्वय नभई यो सम्भव हुँदैन । विगतमा यी निकायबीच देखिएको मतभेदलाई सम्झने हो भने सुधारमा अवरोध नआउला भन्न सकिँदैन । प्राविधिक पूर्वाधार अभाव, साना लगानीकर्तामा वित्तीय साक्षरता कमी र हचुवामा लगानी गर्ने प्रवृत्ति बढ्दा पनि त्यसले सोचे जस्तो सुधार नहुन सक्छ । अतः अर्थ मन्त्रालयबाट जारी पुँजीबजार सुधार कार्ययोजना कागजी रुपले राम्रो भए पनि कार्यान्वयनका निम्ति भने बढो सतर्कतापूर्वक प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->