पोखरा विमानस्थलबाट फ्लाई दुबइले बुधबार ऐतिहासिक पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान भरेको छ । नेपाली पाइलट सर्वजीत यादवले १ सय १३ यात्रीसहित पोखरा विमानस्थलमा अवतरण गराएको जहाज १ सय ५३ जना यात्रु लिएर दुबई फर्केको छ । यो फ्लाई दुबइको नियमित उडान हो । यसअघि पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएका होइनन्; चीनको छेन्दुबाट पोखरामा भएको केही चार्टर्ड उडान, हिमालयन, ड्रयुक लगायतका एयरलायन्सको उडानले यो विमानस्थल अन्तर्राष्ट्रिय भएको प्रमाणित भइसकेको थियो । तर, नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चिता नहुँदा चिनियाँ ऋण सहयोगमा निर्मित विमानस्थलको क्षमताबारे अनेकौं उपशंका उब्जिएका थिए ।
२८ अर्ब रुपैयाँ ऋणमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा नेपाल ऋणको चंगुलमा फस्ने सम्भावनाबारे चर्चा भएको थियो । त्यो शंका निवारण गर्न चीनले सक्दो प्रयास ग¥यो । तर, एयरलायन्स कम्पनीहरू घाटा खाएर कुनै पनि गन्तव्यमा उडान भर्न तयार हुँदैनन् । सिचुवानले एयरलायन्सले पोखराबाट त्यही कारणले नियमित उडान गर्न सकेन । अहिले फ्लाई दुबईले नयाँ थालनी गरेको छ । नेपालीको श्रम गन्तव्यसमेत रहेको दुबई र खाडी क्षेत्रमा दैनिक हजारौँ नेपाली जाने गरेका छन् । फ्लाई दुबईले काठमाडौंबाट नियमित उडान गरिरहेको छ । उसले पोखरामा पनि सम्भावना देखेको छ र त्यही अनुरुप अहिले उडानको निर्णय गरेको छ । आउँदो केही महिनासम्म नियमित उडानका लागि उत्साहजनक टिकट बुकिङ भएकाले पनि यो उडान नियमित हुने आशा पलाएको छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय ट्रान्जिटको रुपमा विकास भएको दुबई एयरपोर्ट र त्यही देशको विमानले अन्य विभिन्न देश जाने यात्रुलाई पनि सेवा दिने भएकाले पनि यो उडान नियमित हुने अपेक्षा रहेको छ ।
फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै पोखराले बहुआयामिक लाभ पाउने निश्चित छ । अतः यो उडान नियमित गराउनका लागि सरकार र निजी क्षेत्र र नेपाल वायु सेवा निगमले संयुक्त पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । सोझै पोखरा आउने यात्रुको संख्या बढेमा अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुनुका साथै विमानस्थलको दीगो सञ्चालनमा बल पुग्ने छ । तर, फ्लाई दुबईको अहिलेको उडानमा मात्र भर पर्ने होइन कि भारत एवं अन्य देशसँग उडानका लागि पनि सँगैसँगै कूटनीतिक पहल गर्नुपर्छ । हामी सबैलाई थाहा छ– चीनले अहिले पनि यो विमानस्थल आफ्नो महत्वाकांक्षी परियोजना बिआरआइ अन्तर्गत निर्माण भएको दाबी गरिरहेको छ । जसले भारतलाई झस्काएको छ । विमानस्थलमार्फत् चीनले नेपालमा प्रभाव विस्तार गर्ने र कालान्तरमा त्यसले भारतलाई असर पुग्ने भारतीय ठम्याइलाई नेपालले चिर्नै पर्छ ।
विमानस्थलको दीगो सञ्चालन र अन्तर्राष्ट्रिय उडान हाम्रो आवश्यकता हो । नियमित अन्तर्राष्ट्रिय उडानको बाटो फ्लाई दुबइले खोलेको छ र यो राजमार्गलाई अझ सुगम तुल्याउन हाल कायम रहेका छुटले मात्र पुग्दैन; परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ ।





