
पोखरा/पोखरा महानगरपालिका पूर्ण रुपमा जलेको एक वर्ष पुरा भएको छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा आन्दोलनकारीले देशभर विध्वंस मच्याउँदा पोखरा महानगरपालिकाको भवन पनि जलाइयो ।
पोखराको न्यूरोडस्थित महानगरको भवन जलेपछि अहिले नयाँबजार स्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा भाडामा महानगरको प्रशासकीय काम चलिरहेको छ ।
मासिक सात लाख ५४ हजार रुपैयाँ भाडामा चलिरहेको महानगरपालिकाले आफ्नै भवन बनाउने सुरसार भने देखाएको छैन् । ३ वर्षका लागि सम्झौता गरि महानगरले नयाँबजार बाट सेवा दिइरहँदा पोखरा १७ विरौटामा निर्माण गरिने भनिएको भवनको समेत अझै टुंगो लाग्न सकेको छैन् ।
सुरुमा २ अर्ब रुपैयाँको लगानीमा भवन बनाउने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइ अघि बढेको महानगरपालिकाले आर्थिक स्रोत जुटाउन नसक्दा खुम्चिएर ६० देखी ६५ करोड रुपैयाँको भवन बनाउने योजनामा अघि बढेपनि त्यो अझै अन्योलमा रहेको देखिएको छ ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङका अनुसार नयाँ बन्ने भवन प्रक्रियामै रहेको छ तर, कहिले बन्छ भन्ने यकिन भने छैन् ।
महानगरपालिकाले सुरुवातमा मुख्य प्रशासकीय भवन न्युरोडमै रहेको (जेनजी आन्दोलनमा जलेको भवन) भवनमा निर्माण गर्ने र हाल नयाँबजार स्थित स्वास्थ्य प्रर्वद्धन केन्द्रमा अन्य शाखाका भवन निर्माण गर्ने योजना बनाएपछि त्यो सफल हुन नसकेको बताइन् ।
नगर उपत्यका विकास समितिको नाममा रहेको जग्गामा भवन निर्माण हुन लागेको हो । उपमेयर गुरुङका अनुसार भवन निर्माणको प्रक्रिया चाडै टुंगिने र शिलान्यास हुने बताएपछि यकिनका साथ भन्न सकिनन् । महानगरपालिकाको भवन बनाउने योजना पहिला नै बनेको र जेन जी आन्दोलनभन्दा पहिलाबाटै काम सुरु भएको थियो ।
उनले आफु महानगरपालिकाको पहिलो कार्यकाल हुँदा जग्गा खोजीको कार्य भएको पहिलो कार्यकालको अन्तिम समयमा पुरानो महानगरपालिकाको भवनलाई पुनः निर्माण गरि प्रमुख प्रशासकीय भवन बनाउने र पुरानो दमकल मार्ग (नयाँबजार र न्यूरोडको बीचमा रहेको स्थान) मा अन्य महाशाखा निर्माण गर्ने योजना समेत बनाए सुनाइन् । तर, जेन जी आन्दोलनले क्षति पुगेपछि अहिले वडा १७ विरौटामा महानगरपालिकाको भवन बनाउने कार्य अघि बढेको हो ।
‘पहिलो कार्यकालमा हामीले कार्यालयलाई मुख्य कार्यालय (हाल जलेको) र अन्य महाशाखाहरु महानगरकै नाममा रहेको पुरानो दमकलको जग्गामा तीन वटा बनाउने योजना थियो । त्यहि अनुसार योजना अघि बढाइयो । विभिन्न कारणले बनाउन सकिएन । दमकल मार्गमा एक करोड पच्चीस लाख परिचालन खर्च पनि लागेको थियो र शिलान्यास पनि भएको होे’ गुरुङले थपिन्, ‘महानगरको मुख्य कार्यालय बनाउने योजना बनाएर हामीले बोलपत्र आह्वान पनि गरेका हौं त्यत्तिकैमा कार्यकाल सकियो त्यहाँ बनाउन सकिएन् । म दोस्रो कार्यकालमा आउँदा त्यहाँ सम्भवन भएन । जेन जी आन्दोलन हुनुअघि हामीले वडा नम्बर १७ मा भवन बनाउने निर्णय गरेर प्रक्रिया थालेका हौं ।’
प्रक्रिया अगाडि बढिरहँदा केही कारणले शिलान्यास गर्न नसकेको उनको भनाइ छ । हाल महानगरपालिका राष्ट्रिय वाणिज्य बैंकको भवनमा भाडामा रहँदा नागरिकलाई सेवा प्रवाह गर्नमा समस्या आइरहेको उनी बताउछिन् । एकै ठाउँबाट सेवा प्रदान गर्न सकेमा सेवाग्राहीलाई सहजता हुने र नागरिक खुसी भएमा मात्रै आफुहरुलाई सन्तुष्टि मिल्ने सुनाइन् ।
उता पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले नयाँ डिपिआर तयार भएको र त्यसलाई कार्यपालिकाले स्विकृत नगरेसम्म काम अघि नबढ्ने सुनाए । डिपिआर स्विकृत भएपछि भवन निर्माणको शिलान्याश गरिने उनी सुनाउछन् । पोखरा १७ मा भवन बनाउनका लागि डिपिआर तयार भएपनि महानगरपालिकाले खर्च स्रोत जुटाउन नसक्दा काम सुरु गर्न नसकेको तिवारीले पुष्टि गरे ।
दुई अर्ब रुपैयाँ लागतको भवनका लागि दुई वर्ष अघि नै डिपिआर तयार भएपनि स्रोत जुटाउन नसक्दा त्यसै छाडिएको थियो । महानगरपालिकाले सुरुमा २ वटा भवन बनाउने योजना थियो । बीचमा फेरि थप गरि तीन वटा भवन बनाउने योजना बनाएको महानगर सफल हुन नसक्दा अन्तिममा एउटामात्रै भवन बनाउने निर्णयमा पुगेको हो । जसका लागि सुरुको डिपिआर पुनः संशोधन गरिएको तिवारीले जानकारी दिए ।
‘अहिलेको डिपिआरलाई कार्यपालिकाले स्वीकृत गर्नुपर्छ । जुन अहिलेसम्म हुन सकेको छैन् । कार्यपालिकाले डिपिआर स्वीकृत गरिसकेपछि भवनको शिलान्यासको गर्ने योजना महानगर छ । अब बन्ने भवन करिब ६५ करोड रुपैयाँको हुनेछ । दुई अर्बको भवन बनाउने भनियो स्रोत जुटेन । स्रोतका लागि संघ र प्रदेश सरकारबाट आएन महानगरपालिकाको स्रोत छैन’ तिवारीले भने ।
अब बन्ने भवनबाट सबै सेवा भने उपलब्ध भने हुनेछैन । महानगरपालिकाको कृषि र स्वास्थ्य महाशाखाको आफ्नै भवन भएकाले स्वास्थ्य र कृषिको सेवा त्यहीबाट हुनेछ । स्वास्थ्य साविकको लेखनाथ नगरपालिकाको भवनमा रहेको छ भने कृषिको मालेपाटनमा ।





