मनाङको चामेमा बाढीपहिरोका कारण चार दिन बितिसक्दा पनि जनजीवन सामान्य हुन सकेको छैन । मौसम खुलेको छ, घाम लागेको छ र हिमाल देखिन थालेका छन् । तर सडक अवरुद्ध छन्, बिजुली र टेलिफोन सेवा बन्द छन्, खानेपानीको अभाव छ र मस्र्याङ्दी नदीको बहावसमेत पहिरोबाट आएको ढुंगा, बालुवा र गेग्रानले प्रभावित भएको छ । बाहिरबाट हेर्दा मौसम सुध्रिएको देखिए पनि चामेका नागरिकका लागि विपद् अझै समाप्त भएको छैन । प्राकृतिक विपत्तिको तत्कालीन क्षति देखिन्छ, तर त्यसपछिको संकट धेरै दिनसम्म रहन्छ । चामेको अहिलेको अवस्था यसको स्पष्ट उदाहरण हो । घर र होटल बगेका छन्, सडकमा पहिरो थुप्रिएको छ, खानेपानीको मुहानमा क्षति पुगेको छ र धेरै स्थानीय राति आफ्नै घरमा सुत्न सक्ने अवस्थामा छैनन् । कतिपय नेपाली सेनाको ब्यारेक वा आफन्तको घरमा रात बिताइरहेका छन् । अर्थात् उद्धारको पहिलो चरण पार भए पनि पुनःस्थापना र आधारभूत सेवाको संकट सुरु भएको छ ।
यस विपत्तिमा स्थानीय समुदायको सतर्कता र आपसी सहयोगले ठूलो भूमिका खेलेको देखिन्छ । बाढीपहिरो आउनुअघि स्थानीयले जोखिम महसुस गरेका थिए । स्थानीयलाई राति नै उठाएर सुरक्षित स्थानतर्फ जान चेतावनी दिइयो । बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारियो । धेरैले एउटा झोला र आवश्यक लुगाफाटा बोकेर घर छाडे । केही समयपछि घरहरू पहिरोले बगाएको घटनाले समुदायको पूर्वसतर्कता कति महत्वपूर्ण थियो भन्ने देखाउँछ । तर विपद् व्यवस्थापनको जिम्मेवारी नागरिकको साहस र स्थानीय प्रयासमा मात्र छाड्न मिल्दैन ।
चामेमा अहिले दुईवटा डोजरले मस्र्याङ्दीको बहाव खुलाउने र गेग्रान हटाउने काम गरिरहेका छन् । सडक खुलाउन पनि उपलब्ध साधन परिचालन गरिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन घटनास्थलमै खटिएका छन् । यी प्रयास आवश्यक छन्, तर संकटको आकारको तुलनामा स्रोत, साधन सीमित रहेको स्वयं प्रशासनले स्वीकार गरेको छ । यही ठाउँमा राज्यका माथिल्ला तहको तत्कालीन उपस्थिति र समन्वय आवश्यक हुन्छ । हिमाली जिल्लामा एउटा सडक अवरुद्ध हुनु केवल यातायातको समस्या होइन । यसले खाद्यान्न, औषधि, निर्माण सामग्री र अन्य अत्यावश्यक वस्तुको आपूर्ति रोक्न सक्छ । बिजुली र टेलिफोन बन्द हुँदा सूचना प्रवाह तथा आपत्कालीन समन्वय कमजोर हुन्छ । खानेपानीको मुहानमा क्षति पुग्दा स्वास्थ्य संकटको जोखिम बढ्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको आवागमन र स्थानीय अर्थतन्त्रमा पनि यसको प्रत्यक्ष असर पर्छ ।
अहिले खानेपानीको संकटलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने देखिन्छ । दूषित पानीका कारण झाडापखालालगायत स्वास्थ्य समस्या देखिन सक्ने जोखिमसमेत छ । त्यसैले पानीको वैकल्पिक आपूर्ति, मुहानको सरसफाइ, स्वास्थ्य परीक्षण र आवश्यक औषधीको व्यवस्था तत्काल गर्नुपर्छ । सडक र मस्र्याङ्दी नदीको बहाव खोल्ने कामलाई केवल डोजर परिचालनमा सीमित गर्नु हुँदैन । पहिरोको थप जोखिम, नदीको बहाव र पुलको संरचनामा परेको असरको प्राविधिक मूल्यांकन आवश्यक छ । चामेका नागरिकले विपद्को पहिलो रात आफ्नै बलबुतामा ज्यान जोगाए । अब उनीहरूलाई विपद्पछिको जीवन सामान्य बनाउन राज्यको संगठित, पर्याप्त र निरन्तर साथ चाहिएको छ । प्राकृतिक विपत्तिलाई रोक्न नसकिएला, तर विपत्तिपछि नागरिकले भोग्नुपर्ने पीडा कति लामो बनाउने भन्ने कुरा राज्यको तयारी, समन्वय र प्राथमिकताले निर्धारण गर्छ ।





