बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्तीस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी किताब, विद्यालय पोशाक र झोला बग्यो ।
बगेको खाद्यान्न र लत्ताकपडाका लागि त राहतको थुप्रो लागिसकेको छ । तर उनले पढ्ने किताबबारे कसैको चासो र चिन्ता छैन । यो चिन्ता उनको बाबुआमालाई पनि त्यति छैन । जति उनी स्वयं भोग्दैछन् ।
एक सातादेखि विस्थापित लस्तीबासी खेतखेतमा प्लाष्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन् । दिर्घकालिन रुपमा खानेबस्ने समस्या भएपनि जिल्ला र प्रदेश तहदेखि आएको राहतले सबैका छाप्रा र कोठामा चामलका बोरा, तरकारी, नुन र तेल पुगिसक्यो । सबैले मिठै खान पाएका छन् । तर किताब बगेका बालबालिकाको आफ्नै पिडा छ । गाउँमा राहत बाँड्न आएका धेरै समूहको भीडमा किताब पनि ल्याइदिएका छन् कि भनेर हेरेको कक्षा ८ मा पढ्ने सुलभ थापा बताउँछन् ।
कालीगण्डकीको बाढीले बगेको पर्वतको लस्तीस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापीकलम र किताबसहित विद्यालय पोशाक बगेको छ । विद्यालय पनि अहिलेसम्म खुलेको छैन । अभिभावकको सल्लाहमा सोमबारदेखि विद्यालय खोल्ने तयारी छ । तर विद्यार्थी रित्तै र पोशाक अभावमा पढ्न जान बाध्य छन् । परीक्षा कसरी दिने भन्ने उनीहरुमा चिन्ता छ ।
‘पीडितको घर छेउमा गएर कठैबरा भनिदिनेहरुले त झनै पिर पार्ने रहेछ’ स्थानीय पार्वती आचार्यले भनिन्, ‘केही शान्त भएको मन फेरी अशान्त भएको छ ।’ बालबालिकाको किताब खोजेर पनि नपाइने उनले बताइन् ।
शिव माविमा पढ्ने शिक्षक लक्ष्मी मल्ल थापाको समेत सबै घरखेत बगेको छ । उनी सुत्केरी छिन्, घर नभएपछि छिमेकीको आश्रयमा छिन् । पति अर्जुनसहित ३ छोरा र लक्ष्मी सुकुम्बासी जस्तै भएका छन् । जागिर भएपनि उनले तत्काल घर व्यवहार चलाउन नसक्ने अवस्था आइपरेको छ । शिक्षककै छोराछोरीको कापी किताब छैन ।
खेती किसानी गरेर बसेकाहरुको त यहाँ झन् बिजोग छ । विभिन्न स्थानबाट हेर्न, अवलोकन गर्नेहरु आइरहेपनि खाने अन्न र केही थान पाल बाहेक केही पाएका छ्रैनन् ।
कक्षा १० मा पढ्ने दिवश केसी र कक्षा ९ मा पढ्ने दिपा दाजुबैनीले कापी किताब बगेकोमा चिन्ता व्यक्त गरे । ‘परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने ?’ दिवशले भने, ‘बजारमा खोज्न गएपनि कापी किताब पाईदैन ।’ बालबालिकाको यो समस्याबारे अहिलेसम्म पुगेका दर्जनबढी राहत वितरणका समूहले ध्यान दिएका छैनन् । बरु राहतमा कसले कति बोरा चामल र पाल पाए भन्ने विवाद र झगडा भैरहेको देखिन्छ । सडक छेउमा कोही आइपुग्यो भने दौडेर राहत हो की भन्दै पुग्ने स्थानीयले आफ्छै छोराछोरीको कापी किताबबारे अहिलेसम्म सोच्न भ्याएका छैनन् ।
जिल्ला र आसपासका धेरै मानिसले यहाँ पुगेर के कति धनमाल क्षति भयो भन्ने आंकडा निकल्दा पनि बालबालिकाको समस्या बारे चासो राखेका छैनन् ।
शिव माविका कक्षा ८ मा पढ्ने दिवश बिक, कक्षा १ का रेमन बिक, निकिता शाह, कृतिका आचार्य, बिना केसी, उदय बिक जस्ता धेरै विद्यार्थीहरु दिउँसोको समयमा आफ्नो भत्केको र बगेको घर रहेको बगरमा गएर बालुवा खोर्सेर किताब खोज्ने गरेका छन् । तर भेटिने कुरै भएन । प्रअ अमृत सापकोटाका भन्छन्, ‘शैक्षिक वर्षको मध्यभाग भयो, किताब पाउने समस्या छ, उनीहरुलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ ।’
बालबालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्व बढी हुने उनले बताए । बाढीमा बगेको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उनले बताए । विद्यालय भवनमा हिलो मात्र पसेपनि अभिभावकहरु घरबारविहिन भएकोले उनीहरुकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले बताए ।
यो सास्ती बागलुङको निसीखोलामा पनि परेको छ । प्रारम्भिक तथ्यांक अनुसार असोज १० गतेको बाढीपहिरो पछि जिल्लाभर एक हजारबढी बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ । निसीखोलास्थित एक निजी विद्यालय समेत क्षतविक्षत भएपछि सयौं बालबालिका पढ्ने लेख्ने अवसरबाट बञ्चित छन् भने अभिभावक गुमाएका र घरबारविहिनहरुले पनि शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् ।
कालीगण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने बालबालिका र एक शिक्षकलाई समेत विद्यालय आउन सास्ती छ । ५ मीनेटमा आइपुग्ने विद्यालय अब २ घण्टाको घुमाउरो बाटो धाउनुपर्ने बाध्यता छ । असोज ११ गते रातीको बाढीले बगेका घरसहित ७१ घरमा बालुवा पसेर घरभित्रको खाने सामाग्रीसहित सबै नष्ट भएको छ । बचेखुसेका सामान पनि हिलाम्मे छन् । भग्नाबशेषमा भित्र छिर्न पनि जोखिम छ । नदीले बगाएर ल्याएका काठदाउराको थुप्रो लागेको छ ।
‘सबै सामान बगेपनि मदुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ’ स्थानीय दिपा कार्कीले भनिन्, ‘माथीको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु । पखालेर केही बाँकी रहन्छ की ?’ अब यो स्थानमा बस्ने की नबस्ने भन्ने समेत उनीहरुमा अन्यौल छ । सुरक्षित बासका लागि अन्यत्र जग्गा छैन । तसर्थ उनीहरुको बाध्यताबारे वडा अध्यक्षमार्फत सरकारलाई ध्यानाकर्षण गराइदिन भनेको उनले बताइन् ।





