आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

स्थानीयको सहयोग पाए सात दिनभित्रमा मालढुंगा पुल सञ्चालनमा आउने विभागको भनाई

स्थानीयको सहयोग पाए सात दिनभित्रमा मालढुंगा पुल सञ्चालनमा आउने विभागको भनाई


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८३, आइतबार

पर्वत/गत असोज ११ गते कालीगण्डकी नदीमा आएको ठुलो बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको मालढुंगास्थित कालीगण्डकी नदीमाथिको पुल मर्मतकै क्रममा रहेको छ । बागलुङ र पर्वत जोड्ने मोटरेवल पुलमा पर्वततर्फको केही भाग खसेपछि पर्वतबाट बागलुङ जानुपर्ने निकै लामा सडकहरू प्रयोग गर्न बाध्य भएका छन् ।

चाडबाड नजिकिएसँगै यो पुललाई तीव्र गतिमा मर्मतको काम गर्नुपर्ने बाध्यता पनि छ । यो पुलबाट सवारी नचल्दा चाडबाडको बेलामा आउजाउ गर्नेहरूका लागि तथा दैनिक रूपमा बागलुङ–कुश्मा आउजाउ गरेर जागिर गर्नेहरूलाई समस्या भएको छ ।

स्थानीय नागरिकबाट पुलको काम छिटो सक्न दबाब बढिरहेको भए पनि सडक विभागले भने स्थानीयको सहयोग भएमा मात्रै आगामी सात दिनमा पुलको काम गर्न सकिने बताएको छ । कालीगण्डकी पुलको एप्रोच सडक निर्माणको काम तीव्र पारिएको र उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरी पुलको एप्रोचतर्फ नदीको सतहभन्दा करिब आठ मिटर तलसम्म गहिरिएको भाग पुरेर प्लेटफर्म निर्माण गरिसकिएको छ ।

बाढी तथा कटानका कारण पुलको एप्रोच सडकतर्फ ठुलो खाडल बनेपछि सडक सञ्चालनमा समस्या आएको थियो । उक्त गहिरो भाग पुर्न ठुलो परिमाणमा माटो, ढुङ्गा तथा गिटी आवश्यक पर्ने भए पनि नजिकै पर्याप्त निर्माण सामग्रीको स्रोत उपलब्ध नहुँदा कामको प्रगतिमा असर परेको सडक विभागले बताएको छ । विभागका अनुसार यसअघि करिब दुई किलोमिटर दूरीबाट निर्माण सामग्री ल्याउने व्यवस्था भए पनि त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि अहिले करिब १० किलोमिटर टाढाको अर्को पहिरो क्षेत्रबाट माटो, ढुङ्गा तथा गिटी ल्याएर एप्रोच सडक निर्माण गर्नुपर्ने अवस्था आएको छ । यसले निर्माण सामग्री ढुवानीमा थप समय लाग्दा पुल सञ्चालनमा ल्याउने समयसमेत लम्बिने देखिएको छ ।

निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्यामा धेरै प्रयास गर्दा पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको अवस्था छ । तर, विभिन्न तहबाट गरिएको पहल तथा समन्वयपछि आइतबार बिहानदेखि निर्माण सामग्री व्यवस्थापनमा केही सहज भने भएको छ । सडक विभागले पर्याप्त मात्रामा निर्माण सामग्री उपलब्ध हुनुका साथै स्थानीय स्तरबाट आवश्यक सहयोग प्राप्त भएमा मात्रै करिब सात दिनभित्रै पुललाई सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको बताएको छ ।

तर, निर्माण स्थल साँघुरो हुनुका साथै अग्लो र मजबुत रिटेनिङ वाल निर्माण गर्नुपर्ने भएकाले काम आफैँमा चुनौतीपूर्ण रहेको विभागको भनाइ छ । सीमित ठाउँमा भारी उपकरण सञ्चालन, निर्माण सामग्री व्यवस्थापन र संरचना निर्माण गर्नुपर्ने भएकाले अपेक्षाअनुसार काम अघि बढाउन चुनौती भइरहेको छ ।

सडक विभागले मालढुंगा कालिगण्डकी पुलको एप्रोच सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै निर्माण सामग्रीको व्यवस्थापन तथा स्थानीय स्तरबाट आवश्यक सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरेको छ ।

पुलको एप्रोच सडक बगाएपछि तत्काल यातायात सञ्चालनका लागि बेली ब्रिज जडान गर्ने विकल्पबारे प्राविधिक अध्ययन समेत गरिएको थियो । तर, विद्यमान पुलको संरचनात्मक सुरक्षालाई ध्यानमा राख्दै बेली ब्रिज नराखी एप्रोच सडक नै पुनस्र्थापना गर्ने निर्णय भएको सडक विभागले उल्लेख गरेको छ ।

प्राविधिक अध्ययनका क्रममा बेली ब्रिजबाट उत्पन्न हुने ‘कन्सनट्रेटेड पोइन्ट लोड’ चिनियाँ प्रविधिमा निर्मित ‘स्पानड्रेल आर्क ब्रिज’ को ‘डेक’, ‘स्पान्ड्रेल’ तथा ‘आर्क रिव’ मा पर्ने देखिएको थियो । उक्त भार पुलको मूल डिजाइनमा परिकल्पना नगरिएको अतिरिक्त भार हुने भएकाले त्यसले पुलको दीर्घकालीन संरचनात्मक सुरक्षामा जोखिम निम्त्याउन सक्ने निष्कर्ष विभागले निकालेको थियो ।

बेली ब्रिज राख्दा तत्काल यातायात सञ्चालनमा ल्याउन सकिने सम्भावना भए पनि त्यसबाट विद्यमान पुलको संरचनामा अतिरिक्त तथा केन्द्रित भार पर्ने जोखिम रहेकाले उक्त विकल्पलाई प्राविधिक रूपमा उपयुक्त नमानिएको हो । त्यसपछि पुलको संरचनामा अतिरिक्त भार नपर्ने गरी क्षतिग्रस्त एप्रोच सडकलाई नै पुनस्र्थापना गर्ने काम अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->