जनकपुर / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज सोमबार बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा आयोजित कार्यक्रमका बिच गरेका छन्।
पत्नी निकिता पौडेलसहित छठ मनाउन रवि जनकपुरमै रहेको अवसरमा अमरेशले पदयात्राको उद्घाटन गराएका हुन्। मेची-महाकाली पदयात्राका लागि सांसद सिंहलाई पार्टीका सभापति लामिछानेले जनकपुरको जानकी मन्दिरको प्रांगणबाट बिदाइ गरेका हुन्।
त्यस क्रममा सभापति लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिँदै देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश छर्न मेची–महाकाली पदयात्रा सफल हुने शुभेच्छा प्रकट गरे।
चुनावका बेला मधेस र पहाडले पार्टी जोडेजस्तै यो मेची–महाकाली पदयात्राले देश जोड्ने दाबी उनले गरे।
सांसद सिंहले जनकपुरबाट सांकेतिक रूपमा पदयात्रा थालिए पनि मंगलबार बिहान झापाबाट यात्राको विधिवत् सुरुवात हुने बताएका छन्।
मेची-महाकाली पदयात्राका लागि अमरेश बिदाइका थप तस्बिर :














