पोखरा, २० फागुन- ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेशस्तरिय छनौट पुरुष फुटबल प्रतियोगितामा बागलुङ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा बागलुङले मनाङलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङलाई भारी गोलअन्तरले पराजित गर्न बागलुङका विपिन महतले ह्याट्रिक गरेभने सुनिल श्रीस र रोशन लामिछानेले १–१ गोल गरेका थिए । ७० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफको सुरुवातदेखिनै आक्रमक खेल खेलेको बागलुङको लागि खेलको ४० औं, ४२ औं र ५० औं मिनेट गोल गर्दै महतले हयाट्रिक गरेका थिएभने सुनिल श्रीसले खेलको ६० औं मिनेटमा र रोशन लामिछानेले खेलको इन्जुरि समयमा गोल गर्दै जित पक्का गरेका थिए ।
बागलुङले भोली (मंगलबार) सेमिफाइनल खेलमा लमजुङसँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको खेलमा लमजुङले कास्कीलाई ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । लमजुङलाई सेमिफाइनल प्रवेश गराउनको लागि अनन्त दुरा, मनोज गुरङ, प्रदिप गुरुङले समान एक–एक गोल गरे भने कास्कीका रमेश मगरले सुसाइड गोल थपेका थिए । कास्कीका लागि रमेश मगर र अनमोल सिंहले एक एक गोल गरे । आजै भएका खेलमा तनहुँले स्याङ्गजालाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तनहुँको जितमा विश्व अधिकारी, दिपक थापा र सन्दिप रानाले समान १–१ गोल गरे भने स्याङजाको लागि अजित बिन मियाँ र टिकाराज गुरुङले गोल गरे । मंगलबारनै हुने दोस्रो सेमिफाइनल खेलमा सेमीफाइनलमा एक खेल खेलेर विजेता रहेको गोर्खा सोझै तनहुँसंग सेमीफाइनलमा भिड्ने छ ।





