बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटन पढ्दै रविन्द्रसंग चिया पिउने अुधरो रहर !

ढोरपाटन पढ्दै रविन्द्रसंग चिया पिउने अुधरो रहर !


  • हरिनारायण गौतम
  • फाल्गुन २० २०७५, सोमबार

‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ’
कुनै वेला नेपालीको जनजिव्रोमा वसेको यी गतिका पंक्ति कसले रचना गरेको होला र गायक को होला भनेर खोज्दै जादाँ यसका लेखक अनिल पौडेल र गायक जेबी टुहुरे रहेछन् । अहिले यहीँ गीतलाई सम्झाउने गरी गण्डकी प्रदेशका जनताका प्रिय, राष्टका एक भरोसायोग्य नेता रविन्द्र अधिकारीको निधनले सवैलाई सम्झना गराएको छ । वास्तवमा मान्छेका जीवनमा कुनै पीडा यस्ता हुन्छन्, जसलाई वर्णन गर्न शब्दहरू पनि असमर्थ लाग्छन् । हो चर्चित नेता तथा सरकारका मन्त्री रवीन्द्र अधिकारीको अवसानले यसपटक सवैलाई त्यस्तै अनुभूति गराएको छ । हामी प्रदेशवासीले मात्रै वुझ्दा पनि हरेक प्रतिकूलतामा आशा र सम्भावना पहिल्याउन सक्ने गण्डकी प्रदेशका नै उत्साही राजनीतिज्ञको रुपमा रविन्द्र अधिकारीलाई लिन सक्छौ तर उनको छवि मुलुकभर नै धेरैका मनमा गडेको छ । तर गत वुधवार (१५ फागुनमा) ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनासँगै उनै जनताका प्रिय नेता हाम्रो विचबाट सधैंका लागि विदा भएर गएका छन् ।
माध्यमिक विद्यालयस्तरीय पढाईदेखि नै तत्कालिन अनेरास्ववियु पाँचौमा संलग्न हुँदै अगाडि बढेका रविन्द्र सवैसंगको व्यवहारमा कुशल र मिलनसार भएकै कारण उनी जीवन–यात्रामा जहाँ जहाँ जोडिन पुगे, त्यहाँ अमिट छापहरू छोड्दै अगाडि बढे । हामीले सरसर्ती हेर्दा मात्रै पनि रविन्द्र पंचायतविरोधी आन्दोलनका कारण चर्चित मानिएको पश्चिमाञ्चलको पृथ्वीनारायण क्याम्पसको सभापतिदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको करीब तीन दशकको यात्रामा सफल र नेतृत्वदायी ब्यक्तित्वको रुपमा अगाडि बढे । हुन त राजनीतिक यात्रामा उनलाई ठेस नै नलागेको भने पक्कै होइन । तर, त्यस्तो ठेसमा पनि सवैसंग हातेमालो गर्दै आफ्नो यात्रालाई सफलतापूर्वक अघि बढाउदै अगाडि बढे । यो उनको सवैसंग सहकार्य गर्न सक्ने क्षमताकै कारण हो भन्दा फरक नपर्ला । मिजाशिलो स्वभाव र छिट्टै घुलमिल हुनसक्ने बानीका कारण नै उनी संगलिदै गएको नेपाली राजनीतिमा आफु पनि अग्लिंदै गएका थिए ।
एक पटकका लागि मात्रै भएपनि सांसद हुनका लागि मरिहत्ते गर्नुपर्ने नेपाली राजनीतिमा रविन्द्र भने जनताको मतदानबाटै निर्वाचित भएर तीन तीन पटक सांसद बने । पाँच दशकभन्दा कम उमेरमा तीनपटकसम्म जनताको विश्वास जितेर जनप्रतिनिधि ९सांसद० हुन पाउनु नेपाली राजनीतिमा सामान्य पक्ष अवश्य पनि होइन । वास्तव राजनीतिमा धेरैलाई प्राप्त नहुने यो अवसर रविन्द्रले आफू उभिएको धर्तीमा दह्रोसँग खुट्टा अड्याएरै निर्माण गरेका हुन् । गण्डकी अञ्चल, त्यसैमा पनि पुराना कम्युनिष्ट नेताहरुले पूर्ण तत्कालिन एमालेको पुरानो संगठन र नेताहरू भएको पोखरामा स्थापित हुन रवीन्द्रले ठूलै मेहनत गरेका थिए । राजनीतिक यात्रा कसैलाई पनि सहज हुदैन भन्ने कुरा शायद उनमा पनि देखियो । त्यसैले २०६० सालमा पार्टीको कास्की जिल्ला सचिवमा निर्वाचित भएका रविन्द्रलाई त्यहाँका पुराना नेताले सहजै पचाउन सकेनन् र सचिवमा निर्वाचित भएको ७२ दिनमा नै अविश्वास प्रस्ताव ल्याएर उनलाई सचिवबाट हटाइयो । भरखर जीवनको साढे तीन दशक यात्रामा रहेका उनी त्यो घट्नाबाट कत्ति पनि विचलित नभई पार्टी र संगठनको काममा जुटीरहे । निरन्त्तर काममा खटिरहने बानी र जनता कार्यकर्तासंग भिजिरहने स्वभावका कारण नै उनी अब्बल सावित हुँदै गए । त्यसैको परिणाम आफैलाई सचिवबाट हटाएको तीन वर्षपछि भएको तत्कालिन एमाले जिल्ला अधिवेशनबाट उनी फेरी जिल्ला सचिवमा निर्वाचित भए । पार्टीको नेतृत्व सम्हालेपछि नै भएको निर्वाचन २०६४, २०७० र २०७४ मा उनी संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा जनताको मतबाट निर्वाचित भए । काममा अहोरत्र खटिरहने स्वभाव र जनतासंग भिजेका कारण यी चुनावमा पार्टीको टिकट लिन र जनताबाट अनुमोदन हुन कसैले पनि रोक्न सकेन ।

हामीले लामो समयसम्म अखिलको राजनीति गर्दा वुझेको के हो भने अनेरास्ववियूको राजनीतिमा लाग्नेहरूका लागि पोखराको पृथ्वीनारायण क्याम्पस र कीर्तिपुरको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनु ठूलो विधार्थी राजनीतिमा ठूलो कुरा थियो । केही मान्छेहरु यसलाई विद्यार्थी राजनीतिको ‘ग्ल्यामर’ भनेर पनि भन्थे । राजनीतिमा जसले जे भने पोखरा जन्मिएका रविन्द्रले ती दुवै अवसर पाएका थिए । अखिलको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको नेतृत्व गर्दा उनले आफूलाई सक्षम नेताका रूपमा स्थापित त गराए नै, त्यसभन्दा बढी सबै विधार्थी र जनताका साथी हुनसके । हाम्रो समाजमा फरक आस्था र संगठनमा आबद्धहरू एकआपसमा कुरा गर्न र भावना साटासाट गर्न पनि डर मान्ने गर्छन । तर लामोसमय विद्यार्थी राजनीति गरेका उनका लागि यी विषय नै सधैं आकर्षणका बस्तु बनीरहे । यसैले पनि रविन्द्र सवै विद्यार्थीको विचमा रविन्द्र दाई नामबाट परिचित भइरहे । तत्कालिन अवस्थामा महिलाहरुप्रति कुरा गर्न पनि डराउनेहरुका लागि उनी अर्कै क्षेत्रबाट आएका ब्यक्तिका रुपमा चित्रण गरिन्थे अर्थात सवैका लागि रविन्द्र दाई प्रिय ब्यक्ति नै थिए ।
तत्कालिन अनेरास्ववियुको नेतृत्व सम्हाल्दा उनी सहितको नेतृत्वमा भएको देशभक्तिपूर्ण आन्दोलन सिमा सरक्षा अभियान र कालापानी मार्च, विद्यार्थीलाई यातायातमा सहुलियका लागि गरिएको आन्दोलनको नेतृत्वदायी भूमिकाले चर्चाको उचाई बढाएको नै हो । त्यति मात्रै होईन, तत्कालीन शाहजादा पारस शाहको गाडीको ठक्करबाट कलाकार प्रवीण गुरुङको मृत्यु भएपछि उनको पदवी खोस्न माग गरी संकलन गरेको हस्ताक्षर दरबारमा बुझाएर उनले एउटा निरडर ब्यक्तित्व निर्माण गरेका थिए । त्यसले गर्दा नै रविन्द्र अधिकारीलाई कसैले पनि राजनीतिक परिदृश्यबाट ओझेल पार्न सकेनन् । पछिल्लो समयमा राजनीति गर्ने धेरै ब्यक्तिहरु मुलुकको राजधानी काठमाडौंमा रहलीरहदाँ पनि रविन्द्र आफ्नो गृह जिल्ला पोखरामा नै राजनीति काममा सक्रिय रहे । त्यसै कारण उनी आफ्ना समकालीनहरूलाई उछिनेर ३८ वर्षको उमेरमा सांसद निर्वाचित हुनसकेका हुन् । उनीभन्दा वरिष्ठ र समकालीन नेताहरू पहिलो पटक संसदमा छिर्दा रवीन्द्र भने संसदभित्र जनआवाज वोक्ने सांसद र उदीयमान कम्युनिष्ट नेताका रूपमा स्थापित भइसकेका थिए ।
संसदको विकास समितिको सभापति हुँदा उनले मुलुकको विकासका समस्या र समाधानका उपाय बारे स्थलगत रूपमै अध्ययन गरे । विकासप्रतिको उनको क्रियाशिलता स्थलगत अध्यनमा मात्रै रहेनन्, कामलाई गतिदिनका लागि वृहत दायरामा छलफल, ऐन–नियमहरूको पुनरावलोकन, गुणस्तर काम, निर्धारित समयमा कार्यसम्पादन जस्ता विषयहरूलाई अत्यन्तै महत्वका साथ अगाडि बढाए । त्यसैको परिणाम स्वरुप मुलुकका धेरै स्थानमा छिमेकी देश चीनसंगका नाका खुल्दै पनि गएका छन् । गण्डकी प्रदेशको चीनसंग जोडिएको महत्वपूर्ण कोराला नाका खुलाउने पहलकद्मीमा पनि रविन्द्र अधिकारीको उत्तिकै ठूलो प्रयाश थियो ।
पहिलो पटक मन्त्री बन्दा पनि हरेक कामको फिल्डमै पुगेर अनुगमन गर्ने, समस्या भए तत्कालै समाधानका लागि पहल गर्ने र आफूले दिएका निर्देशनको नियमित अनुगमन गर्ने उनको बानीले पर्यटन मन्त्रालयभित्र हालसम्मका मन्त्रीहरूमध्ये उनको छवि कामकाजी बनाएको थियो । पुराना विमानस्थलहरूलाई मर्मतसम्भार गर्ने, वर्षौंसम्म नचलेका विमानस्थलहरूलाई सञ्चालनमा ल्याउने, विमानस्थलमा देखा परेको भद्रगोल सुधार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गर्ने जस्ता काममा उनले देखिने गरी सुधार गरेका थिए । भारतबाट नेपाल प्रवेश गर्ने हवाई रुट बढाउने, पोखरा विमानस्थल निर्धारित समयमै पूरा गर्ने, भैरहवाको गौतम बुद्ध विमानस्थललाई निर्धारित समयभन्दा अगावै सञ्चालन गर्ने, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाई कम्तीमा २० लाख पर्यटक भित्र्याउने काममा उनी दत्तचित्त भएर लागेका थिए । त्यसका लागि महत्वपूर्ण काम नेपाली आकाशलाई सुरक्षित बनाउने र यूरोपमा नेपाली विमानलाई लागेको प्रतिबन्ध फुकाउने उनको संकल्प हरेक भेटमा प्रस्फुटित हुन्थ्यो । हरेक मेला, महोत्सव र पर्यटनसंग समबन्धित कार्यक्रममा उनले आफ्ना सवै सपनाहरु हाम्रै पालामा पूरा गर्ने प्रतिवद्धता जाहेर गर्थे र सवैलाई क्षणभरमा नै खुशी दिलाउथे ।

रविन्द्रको नेतृत्वमा अखिलको केन्द्रिय कमिटीमा रहेर काम गर्दा उनको संगत र भलाकुसारीले त हामीलाई सधै काममा लागिरहने प्रेरणा मिलिरहन्थ्यो । त्यसैले त हामीले अखिलमा संगै काम गरेका योगेश भट्टाराई र रविन्द्र अधिकारीलाई सधै नयाँ युवाहरुको आशा लाग्दा नेता भनेर सम्मान गरिहेका हुन्थ्यौं । सिमा सुरक्षा अभियान र कालापानी मार्च गर्दाको स्मरण अहिले पनि ताजै बनेर आउछ । देशभक्तिपूर्ण भावनाले हामीलाई सधै उत्प्रेरणा दिइरहन्छ । लेख्ने र पढ्ने बानीको विकास पनि हामीले रविन्द्र अधिकारीबाट धेरै सिकेका थियौं । साहित्यप्रतिको उनको रुचीले हामीलाई पनि पढ्न लेख्न हौसाईरहेको हुन्थ्यो । पछिल्लो पटक बागलुङको बढिगाँड महोत्सव सकेर फर्किदा पोखरामा भेट भयो । संयोग, काठमाडांै फर्किदा बुद्धको जहाजमा संगै आउने अवसर मिल्यो । भेट हुँदासाथ रविन्द्रले भने, धन्यवाद हरिनारायण, जहाजभन्दा नि छिटो मान्छे । मैले धन्यवाद पाउनुको कारण थियो उनले महोत्सवमा वोलेको मन्तब्य र फोटो उनी पोखरामा आइनपुग्दै म सम्पादक रहेको जनमञ्च अनलाइनमा प्रकाशित भइसकेको थियो र उनले त्यो पढिसकेका रहेछन् ।  त्यसैले आधार मानेर उनले मलाई धन्यवाद मात्रै दिएनन् पत्रकारितामा छिटो कुद्न सक्ने मान्छे मात्रै सफल हुने वताए । मैले पनि मौकाम सहयोगको आचना गरिहाले, अव ढोरपाटन दैनिक पोखराबाट प्रकाशन गर्ने तयारीमा छौ, हजुरको सहयोगको चाहिन्छ । प्रतिउत्तरमा उनको जवाफ थियो, जे सहयोग चाहिन्छ मलाई त्यही भन्नुहोला । छिट्टै विश्वास दिइहाल्ने उनको बानीले मलाई प्रभावित गराइरह्यो । अन्तिम छोटो भेट भने पत्रकार महासंघको विधान अधिवेशन (९फागुन) को सन्दर्भमा पोखरामा भयो । त्यो भेटमा पनि उनले ढोरपाटन पत्रिका कहिले पढ्न पाईन्छ विहानै पोखरा भनेर सोधीहाले । मेरो उत्तर थियो, कार्यालय हजुरको घर नजिकै सुरु भयो, अव पत्रिका लिएर चिया पिउन आउछु । अन्तिम भलाकुसारी यसरी विट मारिएको थियो रविन्द्रसंग । जनताका प्रिय नेता रविन्द्र अधिकारीसंग ढोरपाटन पत्रिका पढ्दै संगै चिया पिउने रहर भने अव कहिल्यै पूरा नहुने भएको छ । हार्दिक श्रद्धाञ्जली रविन्द्र सर ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->