बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मूर्ति पुज्नुभन्दा मर्का बुझ्नु राम्रो

मूर्ति पुज्नुभन्दा मर्का बुझ्नु राम्रो


  • नारायणप्रसाद पौडेल
  • फाल्गुन २७ २०७५, सोमबार

विवाहको मौसम छ । लगन पनि धेरै नै छन् । धेरै जोडी विवाह बन्धनमा बाँधिन्छन् । जोडी खोज्ने र रोज्ने विषयमा वरपक्ष हावी हुने र बधुपक्षको हुर्मत लिने चलन कायम छ अझै । महिलालाई मान्छे नगन्ने, नभन्ने, नमान्नेहरूले किनबेच गर्छन् । मोल र मालसँग तुलना हुन्छ अनमोल र अतुलनीय मान्छेको । कहीँ दुलाहा किनिन्छन् त कहीँ किनिन्छन् कन्या । किन्ने परम्परा तोडिनुपर्छ अब र थालिनुपर्छ नयाँ प्रथा । आफ्नो जीवनसाथी आफैँ रोज्न दिनु समयोचित हुन्छ । युवा उमेरमा वर अलि बरालिए पनि धेरै संवेदनशील हुन्छन् कन्याहरू । केही अपवादलाई छाड्ने हो भने कस्तोसँग जीवन जिउन सकिन्छ भनेर छान्न सक्छन् । खोज्ने, छान्ने र रोज्ने जिम्मा कन्यालाई दिने हो भने धेरै असामान्य उपलब्धि हासिल गर्न सकिन्छ । अभिभावकका समस्या र बोझ आफैँ समाप्त हुन्छन् । दहेज (दाइजो) प्रथा पनि हट्दै जान्छ । साम्प्रदायिक द्वन्द्व समाधान हुन्छ ।
पुराणकालभन्दा पनि पहिले मातृसत्तात्मक समाज व्यवस्थाको जिम्मा महिलाहरूलाई दिइएका प्रमाण धेरै छन् । गण र गोत्र उनैबाट चलाएर महìवपूर्ण जिम्मेवारी पनि तोकिएकै थियो । दुर्गाले रक्षा, लक्ष्मीले अर्थ र सरस्वतीले शिक्षाको जिम्मा लिएका रहेछन्, प्रमाणका अवशेष बाँकी छन् अद्यपि । जननी र मातृभूमिजस्ता शब्दले पुकारिन्छ जहाँतहीँ । गौरीशङ्कर, सीताराम, लक्ष्मीनारायण, राधाकृष्ण, राधेश्याम, उमामहेश्वर आदि सबै शीर्ष देवताका अगाडि मातृशक्तिकै नाम आउनु, हुनु सामान्य होइन । गम्भीर भएर सोच्नु र बुझ्नुपर्छ । पितृसत्ताको पहुँचपछि बढेको देखिन्छ विभेद, उच–नीच, लैङ्गिक हिंसा, पाप र किनबेच पनि शुरु भयो त्यहीँबाटै । परम्परा र पुराणका कुरा गरेर बधुलाई वर रोज्ने अवसर नदिनेहरूका लागि स्मरण गराउन पर्छ अब । र भन्नुपर्छ बरु मूर्तिको पूजा नगर, मान्छेको मर्का बुझ र गर तदनुसारको व्यवहार । गौतम बुद्धले त मूर्ति पूजाको विरोध गरेकै हुन्, भलै अहिलेको संसारमा उनैका मूर्ति सबभन्दा धेरै छन् । मूर्ति पूजा गरेर अपराध लुकाउने काइदाले ठगहरूले फाइदा लिए ।
जीवित देवीको दुत्कार, तिरस्कार, बहिस्कार र अपमान तर मूर्तिकी देवीको पूजा, अर्चना र अभ्यर्थनाको अर्थ छैन । जुन घरमा बिहानै दुर्गसप्तसती पाठ हुन्छ नौ दिनसम्म, त्यही घरकी जीवित दुर्गाको हविगत देखिनसक्नु, कहिनसक्नु र सहिनसक्नु हुन्छ । भ्रूणहत्या जस्तो जघन्य अपराधलाई पचाइसक्यो समाजले । हुन त बलात्कार र हत्याका घटना बढ्दै गएको खबर सुनिन्छ अचेल । पौराणिक कालमा पनि हुन्थ्यो तर यति नृशंस चाहिँ हुँदैनथ्यो, आज जसरी उछालिदिनेहरूको कमी थियो । नत्र विष्णुले बृन्दाको सतित्व लुटेर जालन्धरको हत्या गरेको कहानी होस् वा गुरुपत्नी ताक्ने इन्द्र हुन्, एउटी द्रौपदीले पाँचजना पति स्वीकार्नपर्ने र हजारौँ गोपिनीहरूले एउटै कृष्णप्रति समर्पित हुनुपर्ने बाध्यताका कहानीका कमी छैनन् हाम्रा पुराणहरूमा ।
नवरात्रभरि दुर्गा भवानीको पूजा अर्चना हुन्छ, दशैँका बेलामा, साधारणतया वर्षमा दुईपटक । यस्ता चलनको सम्मान गर्ने विषयमा विमति राख्नुपर्ने कारण छैन । सांस्कृतिक र धार्मिक पर्वप्रति गर्व छ तर जसले मूर्तिकी नबोल्ने दुर्गा, लक्ष्मी र सरस्वतीको महिमा गान गर्छन्, व्रत बस्छन्, पूजा गर्छन्, तिनैले आफ्नै घरकी जीवित र बोल्ने दुर्गा, लक्ष्मी र सरस्वतीको दुःख पटक्कै देख्दैनन् । आफ्नै शरीरमा मट्टितेल खन्याएर मर्न विवश तुल्याउँछन् । मर्न लगाउँछन्, नमरे मार्छन् । दहेज खोजेर दुलहीलाई दुःख दिनेले दुर्गापूजा गर्न पर्दैन । मूर्तिकी दुर्गाले आशिष दिन्नन् । फर्केर पनि हेर्दिनन् ।
तिहारका बेलामा लक्ष्मीपूजाका नाममा खुब खर्च गर्छन् तर ती उनै नबोल्ने मूर्तिकी लक्ष्मी हुन् । जीवित र बोल्ने चाहिँ हैनन् । मूर्तिकी लक्ष्मीकै नाममा पटाका पड्काउँछन्, जुवा खेल्छन् । धनलाई बारुदको धुँवा बनाएर उडाउँछन् तर गृहलक्ष्मीलाई कहिल्यै पुज्दैनन् । पापी हुन् ती जो जीवितलाई दुःख दिएर मूर्तिलाई मात्र पुज्छन्, भज्छन् । त्यस्तैले गर्दा आधा संसार अँध्यारो छ । उज्यालो पार्नका लागि जीवितप्रतिको जिम्मेवारी बहन गर्नुपर्छ । मूर्तिप्रति हैन, मान्छेप्रति सम्मान बढाउन पर्छ । तब बल्ल यो संसार उज्यालो हुन्छ । मूर्ति पुज्ने त मनको पाप पखाल्नका लागि मात्र होला । व्यवहार राम्रो भए, घरकी र परकी दुर्गा र लक्ष्मीलाई सेवा र सम्मान गरे, यही जुनीमै सोचेको र खोजेको पुग्छ । अर्को जुनी कुर्न पर्दैन ।
यसपालिका लगनमा अरू केही गर्न नसके पनि मूर्तिभन्दा मान्छेको महिमा गाउन लगाए ठूलो उपलब्धि हुनेछ । आफ्नै घरकी दुर्गा, लक्ष्मी र सरस्वतीलाई जान्न र मान्न सिकाए पुग्छ । घरभित्रै बस्दा कोठाभित्र थुन्ने र बाहिर निस्कँदा पनि पर्दा लगाएर निकाल्ने चलनले कैदीजस्तै बनाएको छ । संसार देख्न दिएकै छैन । बच्चा जन्माउने यन्त्र, भान्सा हेर्ने, लिपपोत गर्ने, कपडा धुने र शारीरिक सुख दिने, दुःख लिने दासी बनाएको छ । मान्छे हुन सिकाएकै छैन । आमा, दिदी, बहिनी र अर्धाङ्गिनीको अपमान सैह्य हुनुहुँदैन ।
हजारौँ वर्ष पहिले राजा जनकको सभामा महर्षि याज्ञबल्क्यसँग शास्त्रार्थ गरेकी गार्गी वाचक्नवीजस्ता विदुषी धेरै छन् अहिले । कलमको हतियारले प्रहार गर्ने तसलिमा नसरिनदेखि जनयुद्धकालमा बन्दुक र बम पड्काएर व्यवस्था परिवर्तन गराउने बहादुर महिलाहरूका साहसको सम्मान गर्नै पर्छ । पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्कामा सरकारै चलाए महिलाले । नेपालमा पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भए । उप–प्रधानमन्त्री भएका महिलाहरू प्रधानमन्त्री हुनेछन् भविष्यमा । त्यस्ता प्रतिभालाई कमजोर ठान्नु, घरभित्रै थुन्नु र बाहिर निष्कँदा पनि पर्दा लगाइनु निन्दनीय मात्रै हैन, दण्डनीय पनि छ । कानुनले मात्रै कुरीति र बेथिति रोक्न र छेक्न सक्ने रहेनछ । समाज अघि सर्नुपर्छ । जीवनसाथी रोज्न दिएर शुरु गरे हुन्छ । त्यत्ति बन्धन फुकाउँदा बित्तिकै धेरै फरक पर्छ । आत्मनिर्भर हुन सक्छन्, आफ्ना बारेमा आफैँ निर्णय गर्ने जिम्मा पाएपछि ।
एकल र बन्धनयुक्त जीवन कष्टकर हुन्छ । बन्धनमुक्त हुँदा वित्तिकै सारा संसार सहज बन्छ । बन्धन त बाधक हो समृद्धिको । अभिभावक र उत्तराधिकारीले लिने गरेको चिन्ता हट्छ । अप्ठ्यारो मानीमानी बाबुआमा पाल्न, छोरीका लागि घरजग्गा बेचेर बेहुलो किन्न पर्दैन । अनि छोरा बुहारी बाहिर गए, घर कुर्न बसेका वृद्धवृद्धा बेसहारा भए, एक्लाएक्लै रहे भन्ने पीर पनि हुँदैन । समाज र संस्कारका डरले अविवाहित रहेका, खुल्न नसकेका, सन्तान जति बाहिरिएपछि एकल रहेर रित्ता घरको रखवारी गर्दै दुःखको जीवन बाँचेका, अर्थात् मृत्यु कुरेका धेरैले नवजीवन पाउने छन् । खोज्ने, छान्ने र रोज्ने जिम्मा कन्यालाई दिने हो भने धेरै असामान्य उपलब्धि हासिल गर्न सकिन्छ । अभिभावकका समस्या र बोझ आफैँ समाप्त हुन्छन् । दहेज (दाइजो) प्रथा पनि हट्दै जान्छ । (लेखक पत्रकार हुन। )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->