पोखरा ,११ चैत -पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनाएको घरमा डोजर लगाएको छ । महानगरले वडा नम्बर ५ पस्र्याङस्थित धारापानी मार्गमा रहेको युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर घर बनाएको जिकिर गर्दै उनको घरमा डोजर चलाएको हो । महानगरपालिकाले घर भत्काउन एक महिनाअघि नै सूचना दिएको थियो । अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीले घर भत्काएको हो । घर भत्काउने कामको नेतृत्व सोही वडाका वडाध्यक्ष धनबहादुर नेपालीले गरेका थिए । उनले मापडण्ड विपरित सार्वजनिक जग्गामा बनाइएको घर कानूनसम्मत रुपले भत्काइएको दावी गरे ।
घर भत्काउने क्रममा महानगरको टोलीलाई स्थानीयले प्रतिकारसमेत गरेका थिए । घर भत्काउने क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले घरधनी खतिवडा र केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । संरचनामा डोजर चलाइरहँदा स्थानीयले वडा सदस्य मन्जु केसीमाथि हातपात गरेका छन् । स्थानीयहरूले त्यहाँको विवाद उच्च अदालत पुगेको र आगामी १३ गते पेशी रहेकाले त्यतिञ्जेलसम्म पर्खन आग्रह गरेका थिए । तर, वडाध्यक्ष नेपालीले पटक–पटकको वार्तामा खतिवडाले आफै भत्काउने कबोल गरेर पनि अटेर गरेकोले डोजर चलाउन बाध्य भएको बताए । स्थानीयले जग्गाको तिरो तिर्दै आएको र अदालतमा मुद्दा पुगेकोले फैसला अगावै वडाले डोजर आतंक मच्चाएको स्थानीयको गुनासो छ । त्यहाँको जग्गा बिवादमा केहीअघि वडासदस्य मञ्जु केसी मुछिएकी थिइन् । स्थानीयले पत्रकार सम्मेलन नै गरेर उनले स्थानीयहरुसँग पैसा मागेको र आफ्नो घरचाहिँ नभत्काएको आरोप लगाएका थिए ।





