पोखरा ,१५ चैत – समुद्र सतहबाट करिव दुई हजार १ सय मिटर उचाइमा अवस्थित लमजुङको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ स्थित रमणीय घलेगाउँ।
विसं २०५७ देखि घरवास कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा एसियाको नमूना मानिएको छ। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । स्थानीयवासी एवम् ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार यहाँ घरबास सञ्चालित घरमा दुईदेखि पाँच–सातजनासम्म सँगै बस्न सक्ने शयनकक्षको व्यवस्था मिलाइएको छ ।
स्थानीय नदी एवम् खोलाका माछा, भेडीगोठका भेडा, च्याङ्ग्र्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट कच्ची मोटरबाटोको यात्रासँगै करिब साढे दुई घण्टामा पुगिने उक्त गाउँमा परम्परागत गुरुङ संस्कृति, घाँटु, सोरठीबाट स्वागत गर्ने प्रचलन छ ।
पर्यटकहरू गाउँ वरपर रहेको इलामकै झल्को दिने नमुना चिया बगान, भेडीगोठ, भ्युटावर, उत्तरकन्या मन्दिर जस्ता स्थानको अवलोकनमा रमाउने गर्दछन् ।
यहाँका स्थानीयवासीले गाउँमा आउने पर्यटकलाई टीका, फूलमाला पहि¥याएर गुरुङ संस्कृति झल्किने नृत्यमार्फत स्वागत गर्दछन् ।












