हिंजो चुनाव सम्पन्न नभएसम्म नेपालको न्यायलयको आँगनमा वकिलहरुको कृयाशिलता निक्कै देखियो । यो कृयाशिलताप्रति सर्वसाधारण जनतामा भने खासै छाप परेन । किनकि, वकिलका पछिल्ला गतिविधि उनीहरुका लागि शोभनीय बनेका छैनन् । औपचारिक प्रमाण–पत्र भएकाहरुलाई अयोग्य भन्न नमिले पनि योग्यतम हुने महत्वाकाँक्षाले कतिपय ठाउँमा समाजलाई ‘मीस गाईडेड’ त गर्दै छैनन् भन्नेको संख्या धेरै छ । पार्टी संगठनको कार्यकर्ता रहँदै न्यायधिशको ख्वाब बढाउनेहरु र टप्प टिपेर पुर्याईनु न्यायिक समाजलाई खल्बलाउँदै गएको यथार्थ लुकाएर लुक्दैन । कुनै एक दलका अनुयायीले फरक दलकालाई ईजलासमा बसेर कस्तो न्याय प्रवाह हुन्छ ? प्रश्न उठेकै छ । वकिललाई भगवान सरह मान्नेहरु पनि छन र महाका फटाहा भन्नेहरु पनि उत्तिकै छन । न्याययिक उपचार गर्ने वकिललाई डाक्टर पनि भन्छन भने पिडितको नाममा अनुचित लाभमात्र लिने र अनावश्यक दुःख दिने उद्देश्यले पक्ष विपक्षलाई भड्काउने वकिललाई फेरि यमराज पनि भन्छन् । नेपालको न्याय जगतका बारे आमजनमानसमा रहेको अव्यक्त धारणा हो यो । जनतामा परेको यो छाप बदल्न हिजोको मतदानद्वारा बाक्साभित्र चुनिएका वकिलहरुले नेपाली जनमानसमा बसेको गहिरो नकारात्मक छाप मेट्न सकुन अग्रिम शुभकामना छ ।
नागरिकता प्राप्त हरेक नागरिक त्यो देशका असल नागरिक हुन । असल हुँदाहुँदै कमसल बन्ने मानव स्वभावजन्य आचरण हावी हुँदाखेरि राज्यले त्यस्ता नागरिकका लागि ख्याल पुर्याउन न्यायलयको स्थापना गरेको हुन्छ । सिद्धान्ततः कमसलले असललाई दुःख दिन्छन । टाँठाबाठाले निरिहलाई हेप्छन् । बलियाले निर्धोलाई पेल्छन् । यस्ता निर्धा दुःखी निरिहहरुले कहिल्यै पनि बलियोको प्रतिवाद गर्न सक्दैनन् । प्रतिवाद गर्न खोज्दा उल्टै जीवन गुमाउन पुग्छन । त्यसोभएकाले आधुनिक राज्यको अबधारणासंगै न्यायलयको स्थापना भएको हो । संगसंगै ती हरेक असल नागरिकको चाहना हुन्छ कि जीवनमा कहिल्यै पनि न्यायलयको कठघरामा उभिन नपरोस । अझ भनौं असल नागरिकले जीवनमा राज्यका तीन ठाउँमा कहिल्यै टेक्नै नपरोस देख्नै नपरोस भन्छ, एक अदालत दुई प्रहरी र तीन अस्पताल । तर हरेक देशका नागरिकको दैनिक जीवनमा यी तीन ठाउंँमा नपुगि देहत्याग गरेको कोहि छ भने त्यो जस्तो भाग्यमानी यो धर्तीमा अर्को कोही हुने छैन । यस्ता भाग्यमानी कि पशु हुनेछन कि त मानवजुनिका गरिब दुःखी निमुखा मात्रै हुनेछन् । किनकि यी तीनै ठाउँमा यिनको पहुंच नै हुंदैन, त्यसकारण भाग्यमानी भन्न सकिन्छ । तर पहुँच राख्नेहरुले पनि यी तीन स्थानमा जीवनमा नटेकि मृत्युबरण गर्यो भने खासमा ऊ भाग्यमानी र बैकुण्ठबासी हुने मानिन्छ । यी तीन स्थानमा कहिल्यै पनि देशका असल नागरिकहरु फर्केर पनि हेर्न चाहन्नन् तर के गर्ने ? तर जतिसुकै पहुँवाला र सम्पन्नहरु पनि तीन मध्ये एक ठाउँ नपुगी धरै छैन । र विवश बन्दै उनीहरु अभागी र नर्कबासी हुन्छन् ।
अस्पतालमा जानुपर्दा पनि मान्छे तर्सन्छ, अस्पतालको लापर्वाही र केही स्वास्थ्यकर्मीका रुखा व्यवहारले । अदालती प्रकृयामा घुस्दापनि मान्छे झस्कन्छ, वकिलदेखि ईजलाससम्मका झञ्झटिलो र अमूर्त भाषाले । प्रहरीकोमा जाने स्थिति आईलाग्यो भने त जतिसुकै मुस्काएका मात्रै होईन खित्कै छोड्ने प्रहरी भएपनि मान्छेको सातै जान्छ, नरभक्षि बाघको अगाडि मृग उभिएजस्तै । यी तीन तत्वको उपभोग गर्नेहरुले कहिंनकहिं र कुनैनकुनै कुनाबाट आफ्ना गुनासाहरु पोख्ने गरेकाछन् । सायद त्यस्तो स्थिति परम्परादेखि आजसम्म पनि विद्यमान छ ।
यहाँ वकिलको प्रसंग छ । वकिलकै सन्दर्भमा यहाँ चर्चा छ । वकिलहरु कानुन व्यवशायी हुन । व्यवशायमा लाभको कुरा आउनु र हुनु अन्यथा रहेन । तर हरेक पेशा व्यवशायमा रहेको धर्म मर्यो भने अलि उसकाप्रति भिन्न धारणा राख्छन सबैले । न्यायदिने त अदालतले हो वकिलले होईन । न्यायको बाटो मात्र देखाउने र दलिल प्रश्तुत गर्ने कतिपय वकिलहरुका कारण उनीहरुकै व्यवसायप्रति धेरैनै नकारात्मक टिप्पणी हुने गर्छन । ती टिप्पणीहरु सत्यबाट टाढापनि हुँदैनन् । र वकिल पढेपछि तमक र घमण्डले चढेकाहरुबाट (सबै होईन) पेशागत धर्मको निर्वाह हुन्छ भनेर आशाराख्नु कसाईको अगाडि राँगोले रोदन राख्नु जस्तै हो । यसको अर्थ पेशागत मर्यादा राख्दै वर्गीय प्रतिष्ठालाई उँचो बनाईराख्दै कार्यपालिकीय प्रमुख बन्न लायक थुप्रै वकिलको पेशागत धर्मलाई बिर्सनु पनि होईन । तर घमण्डको तमक चढेकाहरुले प्रदान गर्ने शिक्षाले भोली आउने कानुनका विद्यार्थी कस्ता बन्लान ? चिन्ता यो हो । यसै प्रसंगमा मेरा यौटा वकिलमित्र संगको अनुभव यहाँ सुनाउँदा अनुपयुक्त ठान्दिन ।
०३५ सालमा म पनि टिट्याङ्ग्रो थिएँ र ऊ पनि टिट्ट्याङ्ग्रो थियो । त्यहिसाल संगै एसएलसी दिएका थियौं । एसएलसी दिनुअघि संगै डण्डिबियो खेल्थ्यौं, नाच्थ्यौं । म पनि गाउँको ऊ पनि गाउँको । सगोत्री पनि थियौं । निकै पछिसम्म हाम्रो सुसम्बन्ध थियो । उसले ‘ॐ’ को स्टिकर बेच्न आउँथ्यो । काठमाण्डौबाट निस्कने हिन्दु साप्ताहिक पत्रिकाको विज्ञापन उठाउँथ्यो । मैले उसलाई सकेको सहयोग गरेको थिएँ । भेटघाट भैरहन्थ्यो । पछि गएर ऊ वकिल भएछ । सुनें, ‘ल’ पढाउन थालेछ ‘ल’ क्याम्पसमा । सायद अहिले पनि ऊ त्यतै होला । त्यस्तो मित्र केही समय अगाडि सिंहदरबार दक्षिणगेटमा रहेको चिया पसलमा भलाद्मी पोशाकमा गफ छाँट्दै बसेको रहेछ । चिरायु अस्पतालबाट फर्कंदै गर्दा उसलाई अनयासै देखें । कतिकतिखेर अखबारमा पनि आँखा लान्थ्यो । देखेर मैले नामै लिएर बोलाएँ । आफ्नो नाम पनि उसको नभए जस्तो गर्यो । तेश्रो बोलावटमा ऊ गह्रुङ्गो हुँदै गुम्म परेर आयो । हात दिएँ । मुश्किलले हात मिलायो । धेरै चिनाएँ । चिन्न खोजेन । हामी बुढाबुढी थियौं । उसलाई लागेहोला मुद्दा मामिलामा आयो होला । चिनेजानेकाले व्यवसायमा घाटा पुर्याउँछन भन्ने ठान्यो वा के हो ? गज्जबको अपरिचित बन्यो । स्याबास मित्र, तिमी साँच्चैको वकिल रहेछौ । अब तिमिले चिनेपनि मैले तिम्लाई कहिल्यै चिन्ने छैन भन्दै म अगाडि बढें । मेरो पछि रहेकि मेरी श्रीमतीसंग चिनेजस्तो गरेछ । उनले हो भनिछन् । तर उसले मजैले चिन्थ्यो बहाना बनाएर तर्क्यो । पक्का वकिल भएछौ मित्र तिम्रो कुभलो कहिल्यै नहोस भनेर माईतिघर मण्डलाहुंदै मेरो बासस्थान फर्केको थिएँ । आफ्नो ‘हनिमुन डे’ का दिन आफ्नी नवबधुको निर्बस्त्र शरीर देखेर म त डराएँ कृष्णजी भनेको थियो कुनै एकदिन । त्यस्तो गोप्यकुरा खोल्ने त्यो चीरपरिचित मित्र कसरी यस्तो भयो दयामायाँ दुईटै लाग्यो । त्यस्तो आत्मीय मित्रले कसरी चिनेन, म बिलखबन्दनमा परें । यस्ता अन्तरंग कुरा जोपायो त्यो संग खोलिन्न, केवल आत्मीय मित्रसंग मात्र खोलिन्छ । अथवा श्रीमतिसंग नगर्ने कुरा साथीसंग गरिन्छ, श्रीमानसंग नगर्ने कुरा सैसंगी संग हुन्छन रे । त्यस्तो अन्तरंग मित्र त्यो दिनबाट मेरो मानसपटलबाट सदाकालागि बिलायो । दुःख मैले मात्र मानेर नहुनेरहेछ । उसको त्यो व्यबहारदेखेर तत्कालै तिमी जहिले जान्छौ तिम्रो बैकुण्ठमै बास होस भन्ने कामना गर्दै म शान्त भएँ । त्यस्तो घमण्ड उनमा बसेको रहेछ ।
यसो हुनुमा ऊ वकिल भएर हो ? कि उसलाई विसञ्चो थियो ? कि सानोतिनो सल्लाह दिनपर्यो भने ठुलै आर्थिक हानी पुग्ने भएर हो ? मैले सबै वकिललाई त भन्दिन तर धेरै वकिल यस्ताछन् हाम्रो नेपालमा । कत्ता चिनेका मान्छे भेटिन्छन र सित्तैमा मद्दत गर्नुपर्ला भनेर पहिल्यै छड्के हान्ने वकिल धेरै देखेको छु । सहायलाई होईन असहायलाई यस्ताले न्यायको दैलो कसरी देखाई देलान त ? हुनत केही त्यस्ता हुन्छन सबै हुँदैनन् । अनि पृथ्वी बाहेक अर्कै ग्रहबाट पदार्पण गरेका जस्तो घमण्ड राख्नेले देशको मुलकानुन केलाउने र देशलाई नै सहि दिशा दिलाउलान भनेर कसरी आशा राख्न सकिन्छ ? अर्को पनि छ अनुभव मेरो । डाक्टर संगको ।
कतिपय डाक्टरका व्यवहार पनि उस्तै छन । महाराजगंज टिचिङ अस्पतालमा मेरा सहपाठी मित्र सर्जन थिए । साथै डाक्टरलाई पनि पढाउँछन । प्रा.डा. भएका छन् । उसलाई पनि अस्पतालको करिडोरमा भेटाएको थिएँ । मेरो स्कुले साथी हो ऊ । मैले बोलाउँदा उसले पनि मेरो नाम लिएर बोलाएको थियो । मेरो स्वास्थ्य चेकजाँचसंग उसको साईनै थिएन । तर उसले मेरो कोठामा बस्दै गर म आईहाल्छु भनेर बेपत्ता भएको डाक्टर मित्र आजसम्म मेरो नजरमा आएन । त्यसपछि ऊ कहिल्यै आएन । अहिले पनि उसको नेमप्लेट त्यहिं झुण्डिएको छ । अहिले त मैले उसलाई देखे पनि मुण्टो बटार्ने गर्छु । मलाई लागेको कुनै रोगमा उसले हेरेर निको हुनुभन्दा प्राणान्त प्रिय हुनेछ । आफ्नो धरातल बिर्सिएका मान्छेमा भयंकर घमण्ड हुनेरहेछ । त्यस्ता मित्रको यात्राको मिति थाहा नभएपनि समयमै सम्मानपुर्वक विदाईका हात हल्लाएको छु । धेरै छन यस्ता मित्रहरु सबैको उल्लेख गर्नु हुँदैन । प्रहरीमा पनि यस्तै मित्र भेटाएँ । आफ्नो फुली बढाउन बाउलाई पनि धोखा दिन्छन रे ! भने म त यौटा मित्र थिएँ । कुनै अपराधबाट जोगिन उनको संगत थिएन । खोली तर्यो लौरी बिर्सियो गर्ने मित्रताको मात्र प्रसंग हो । घमण्डकै पराकाष्ट थियो हरायो अहिले ऊ ।
अनैतिक वकिलको पनि अनुभव छ मसंग । एउटै ल फर्मबाट वादी प्रतिवादीको मुद्दा हेर्ने वकिल पनि देखेको छु । करिब ०३६ र ०३७ सालतिर पोखरामा क्षेत्रीय अदालतमा परेको मुद्दामा पोखरामा नाम चलेका दुई वकिल थिए । एउटा मन्त्री पनि भए अर्का संवैधानिक अंगका प्रमुख बनेर बाहिरिए । उनीहरु दुनियाँको नजरमा ठुलामान्छे त बने । तर, म र म जस्ता थुप्रै मान्छेका अगाडि उनीहरुको अनुहारमा मान्छेमात्र पनि बनेन । ठुलो मान्छे लाग्नु त परैको कुरा भयो । एउटा मान्छेको नजरमा गिरेको मान्छे सदाकालागि समाप्त हुन्छ, उनीहरु त्यस्तै भए, नैतिकता गिरेका !
अन्तमा, हिंजोको नेपाल बार एशोशियसनको चुनावपुर्व देखिएका वकिलको दौडादौडले केही नमिठा स्मरणहरु ताजा बनेर आए । ती नमिठा स्मरणहरु कसैले पनि स्मरण गर्नुनपर्ने गरी कानुन व्यवसायीको व्यवसाय सङ्लो होस् । नयाँ नेतृत्वले झगडीयाका प्रति न्यायिक र सौहाद्रपूर्ण वातावरण निर्माण गर्न सकोस् । जो आएपनि नयाँ निर्वाचितहरुलाई हार्दिक बधाई ! धन्यवाद ।




