पोखराको मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको लापर्वाहीका कारण गत मंगलवार बागलुङका एक बिरामीको मृत्यु भयो । अर्काे विरामीका लागि लगिएको सुई अस्पतालका स्वास्थ्यकर्मीले त्यहाँ भर्ना भएका बागलुङ जैमिनी नगरपालिका– ८ का धनबहादुर परियारलाई लगाएको २ मिनेटमा नै उनको मृत्यु भयो ।
काठमाडांैका वीर अस्पतालमा भर्ना भएका बिरामी नारायणप्रसाद शर्मालाई अप्रेसनका लागि भन्दै २४ घण्टा भोकै सुताएर शुक्रबार त्यहाँका चिकित्सकले घर फिर्ता गरे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष समेत रहेका नवलपुरका शर्मालाई सबै चेकजाँच र ल्याव टेस्टपछि शुक्रवार विहान अप्रेसन गर्ने भन्दै विहीबार विहान ९ बजे अस्तपालमा भर्ना गरेका थिए । शुक्रवार भने चिकित्सकको आन्दोलन भएकाले अर्काे हप्ता आउने कागजमा सही गराएर पठाए ।
भिन्न प्रकृतिको उल्लेखित दुई घट्नाले नेपाली छापा रंगियो । सामाजिक सञ्जालमा पनि पोष्ट भए । एउटा घट्ना सर्वसाधारण नेपाली नागरिकप्रति स्वाथ्यकर्मीबाट भएको लापरवाहीपूर्ण ब्यवहारको हो भने अर्काे राज्यको चौथो अंग भनिएको पत्रकारमाथि चिकित्सक स्वयमले देखाएको जवाफहीन ब्यवहारको थियो । तर दुवै घट्ना मानव संवेदनशील विषय स्वास्थ्यसंग समबन्धित नै भए । तर जवाफदेही बन्नुपर्ने निकायका प्रमुख ब्यक्तिहरुले यी दुवै विषयमा आफ्ना धारणा भने सार्वजानिक गरीसकेका छैनन् । अनि नागरिक समाज र सरोकार निकाय पनि चुपचाप नै छन ।
मणिपाल घट्नामा त्यहाँका प्रमुख निर्देशक ए.एल.शर्मा मोवाइल अफ गरेर मिडियाबाट पन्छिन मात्रै खोजे । तर पिडितसंगको वार्तामा भने आफ्ना स्वास्थयकर्मीको कमजोरी भएको स्विकार गरी परियारको उपचारमा लागेको खर्च र एम्वुलेन्स खर्च भुक्तानी गर्न राजी भए । आफ्नो अस्पतालमा भर्ना भएको विरामीको तीन दिनपछि मृत्यु हुनु, त्यो पनि आफ्नै स्वास्थ्यकर्मीको लापर्वाहीका कारण यो कस्तो बिडम्बना ! अझ कमजोरीलाई स्विकार्न तयार हुने तर क्षतिपूर्ति र जवाफदेहीबाट पन्छिने कस्तो अचम्म । बागलुङका धनबहादुरको मणिपाल अस्पतालमा आइतवार मात्रै भर्ना गरिएको थियो । उनको मंगलवार राती मृत्यु भयो । अर्काे विरामीको प्रयोगको लागि लिएको सुइ धनबहादुरलाई लगाएको कारण ।
अस्पतालका स्वास्थ्यकर्मीको लापर्वाहीका कारण भएको धनवहादुरको मृत्यु प्रकरणका वारेमा छापा, रेडियो र अनलाइन मिडियामा समाचार त प्रकाशन प्रसारण भए तर स्थानीय प्रशासनले भने यसका वारेमा पत्तो नै पाएनन् । गण्डकीे प्रदेशको राजधानीको मुटुमा रहेको एउटा ठूलो शिक्षण अस्पतालमा भएको यस घट्नामा प्रदेश सरकारका मन्त्री र सम्बन्धित निकायले पनि थाहा पाएन ।
प्रदेशसभाका सांसद कृष्ण थापा र कोपिला वोहरा समबन्धित जिल्लाका नै भएकाले यसका वारेमा चासो त दिए तर उनीहरुलाई अस्पताल प्रशासनले खासै चासो दिएन । प्रदेश मामिला समितिका सभापति समेत रहेका कृष्ण थापा र सदस्य कोपिला वोहराले आफ्नो समितिको वैठकमा सामाजिक विकास मन्त्री नरदेवी पुनलाई घट्नाका वारेमा गम्भीर हुन आग्रह गरे पनि । तर, मन्त्री पुनले सांसद सदस्यहरुको उत्तर दिने समयमा त्यही प्रश्नबाट भाग्दै कार्यविधि र क्षेत्रधिकारको समस्या रहेको वताएर उम्किइन । प्रदेशको स्वास्थ्य क्षेत्र उनकै मन्त्रालय मातहतमा छ ।
हुन त मणिपाल अस्पतालका लापर्वाहीका घट्ना यो मात्रै होईन, धेरै पटक सार्वजानिक भएका छन । कतिपय घट्ना त अस्पताल प्रशासनले भित्रभित्रै ढाकछोप गर्ने पनि गरेको छ । सार्वजानिक भएका घट्नामा पनि वार्ता, छलफल, सहमति र सम्झौतामा ठामठुम पार्ने गरिएको छ । अनि यसको नियमन गर्ने निकाय, स्थानीय प्रशासन पनि उसलाई जवाफदेही बनाउन लाग्दैन । त्यसको परिणाम लापर्वाहीका घट्ना बढिरहेका नै छन ।
पोखरा हिजोको पोखरा मात्रै होइन, अहिले त यो गण्डकी प्रदेशको राजधानी हो । मुलुक संघियतामा गएसँगै प्रदेशको सम्पूर्ण जिम्मेवारी लिएको प्रदेश सरकार रहेको स्थान पनि हो । यहीबाट गण्डकी प्रदेशको शासन सत्ता सञ्चालन भइरहेको छ । यहाँबाट दिइने सन्देशले मुलुकका अन्य प्रदेशलाई मात्रै होइन, केन्द्रीय सरकारलाई पनि राम्रै प्रभाव पार्न सक्दछ । त्यसैले यस्तो जवाफदेहीता यहाँबाट सुरु हुनुपर्दछ भन्ने आमनागरिकको अपेक्षा रहनुलाई स्वाभाविक नै ठानिनु पर्दछ । तर, यहाँबाट प्रवाह हुने सेवासुविधा जवाफदेहपूर्ण किन हुन सकेका छैनन् ? प्रश्न गम्भिर छ ।
नियमन गर्ने सरोकारवाला निकाय मौन रहदाँ त्यसबाट लाभान्वित हुने ठूलो जमात नै प्रभावित बन्दछ । त्यसको असर सवैभन्दा बढी तल्लो तहका समुदायमा पहिला पुग्दछ । त्यसैले लोकतन्त्रमा सवैलाई जवाफदेही बनाउन समाजमा संरचना र परिसंरचनाहरु निर्माण भएका हुन्छन । एकअर्कालाई रखवारी गर्न कति संस्थागत त कति संरचनागत अनि सामाजिक आधारहरु तय भएका हुन्छन । अघोषित रुपमा निर्माण भएका सामाजिक संरचनाले पनि मानिसलाई जवाफदेही बनाइरहेको हुन्छ । त्यसको ठूलो पक्षका रुपमा समाजमा आफै तय भएको र सवै पक्षले स्विकार गरेको नागरिक समाजलाई सवल संरचना मानिन्छ । यही पक्षको अभाव समाजमा जहिले पनि खडकीरहेको हुन्छ ।
समाजमा स्वघोषित अधिकारकर्मी पनि यही क्षेत्रका एक पक्ष हुन् । अनि नागरिक अगुवाहरु त उनीहरुको कार्यशैली र ब्यवहारबाट तय हुने हुन् । जिम्मेवारी वोकेर पनि समाजमा रहेका गैरजिम्मेवार ब्यक्तिलाई सवैभन्दा पहिला त नियमन गर्ने निकायलाई नै जिम्मेवार बनाउनु पर्दछ । नियमन गर्ने निकाय नै मौन रहेको समयमा त्यहाँका अगुवा नागरिक समाज र अधिकारकर्मीले त्यसको पक्षमा दवाव सिर्जना गर्नुपर्दछ । त्यही दवावका कारण नै मौन रहने प्रशासन र सम्बन्धित पक्षलाई थप जवाफदेही र जिम्मेवारी बनाउन सक्दछ । तर, पछिल्ला केही घट्नाले पोखरामा नागरिक अगुवा, अधिकारकर्मी र नागरिक समाजमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गराएको छ ।
मणिपाल घट्ना मात्रै होइन, यहाँकी एकजना बालिकामाथि भएको बलात्कार र यौन दब्र्यवहारको घट्नामा पनि पोखराको नागरिक समाज मौन छ । शक्ति र सत्ताको पक्षमा लाग्नेहरु कदापी नागरिक समाजका अगुवा हुनै सक्दैन । अधिकारकर्मीहरु कहिल्यै पनि शक्ति र सत्ताका पछाडि दौडिदैनन् । अव समाजले स्वघोषित नागरिक अगुवा र अधिकारकर्मी होइन, ब्यवहार र कार्यशैलीबाट उतिर्ण अगुवा ब्यक्ति खोजेको छ । जसले ब्यक्ति, समाज र सरोकारवाला निकायलाई नै जवाफदेही बनाउन सकोस । अनि जनप्रतिनिधि जनताप्रति नै उत्तरदायी बनोस् । अनि प्रशासन स्वार्थबाट माथि उठेर हरेक नागरिकप्रति संवेदनशील बनोस र गलत गर्नेलाई नियमन गरी कारवाहीको दायरामा ल्याउन सकोस ।
उल्लेखित तिनै घट्नामा जवाफदेहीताको प्रश्न गम्भिर बनेर खडा भएको छ । प्रदेशसभा चालु छ तर यी घट्नाका बारेमा जनप्रतिनिधीहरु मौन छन । कतिपय जनप्रतिनिधीहरु वोल्नै चाहदैनन् त कतिपय बोलेको जस्तो मात्रै गरेका छन । केही वोल्न पनि खोजेको छन, केही वोलेका पनि छन तर सुन्ने निकायमा उनीहरुको आवाज पुग्नै सकेको छैन । जसले नियमन र जवाफदेहिताको जिम्मेवारी लिएको छ, उ सकेसम्म पन्छिन खोजेको छ । यसले सम्बन्धित पक्षलाई जवाफदेही होइन, जवाफहीन बन्न नै थप हौसला हुनेछ । त्यसैले बोलौँ, सचेत नागरिक बनौँ, हरेक निकायलाई जवाफदेही बनाउन लागौँ । संवेदनाहीन मानवता प्रदर्शन नगरौँ ।
सम्पादक ,ढोरपाटन दैनिक




