पोखरा, २ बैशाख – यतिवेला निजी कलेजका सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय उल्टाउन लागि परीरहेका छन्। विश्वविद्यालयको मापदण्ड विपरीत आफुहरुले जथाभावी रुपमा विधार्थी भर्ना गरेका कलेज सञ्चालकहरु पोखरा विश्वविद्यालय प्राज्ञिक परिषदको निर्णय नै उल्टाउन लागिपरेका हुन्। निजी कलेज सञ्चालकहरुले प्राज्ञिक परिषदको निर्णय उल्टाउन सकेमा अवैध रुपमा भर्ना गरेका विद्यार्थीहरु वैध हुनेछन।
अघिल्लो बर्ष जेठ १८ गते बसेको पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २.० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना हुन पाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरूमा भर्ना लिइएको थियो।
तर, पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएका देशभरिका ५८ निजी कलेजमध्ये ४२ वटा कलेजले परिषद्को उक्त निर्णयलाई लत्याएर ‘सी’ वा जीपीए २.० ग्रेडभन्दा कम ग्रेड ल्याएका ३ सय ९१ जना विद्यार्थी भर्ना गरेका थिए । सोही मापदण्ड विपरीत भर्ना भएका विद्यार्थीलाई विश्वविद्यालयले दर्ता नगराएपछि चैत १५ गतेबाट हुने भनिएको परीक्षा हालसम्म पनि अन्यौलमा छ।





