पोखरा, ७ बैशाख – खेलकुदमा वडालाई नमूना बनाउने भन्दै पोखरा महानगरपालिका वडा नं. ५ ले महानगरपालिकामा नै पहिलो पटक खेलकुद बिकास कोष स्थापना गरेको छ । कोषको अध्यक्षमा वडा अध्यक्ष धन वहादुर नेपाली रहेका छन । समितिमा राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली, फुटबल खेलाडी नगेन्द्र घर्ती, पुष्प केसी, एथलेटिक्सका सोमनाथ भुत्र्याल लगाएत रहेका छन ।
विभिन्न सामाजिक क्षेत्रका ब्यक्तिहरु रहेको ११ सदस्यिय सल्लाहकार समिति र विभिन्न देशका ११ जना रहेको बिदेश सल्लाहकार समितीमा पनि गठन गरिएको छ । वडामा खेलकुदको बिकासका लागि ४५ औं पूर्ण बैठकले खेलकुद बिकास कोष स्थापना गर्ने निर्णय गरेको थियो । वडाध्यक्ष धनवहादुर नेपालीले शनिवार एक कार्यक्रमका विच सो कोषको घोषणा गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष नेपालीले वडा नं ५ मा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी उत्पादन भइरहेकोले त्यसलाई ब्यवस्थित गर्न खेलकुद विकास कोष स्थापना गरेको वताए । उनले थपे-‘खेलकुद बिकास कोष अहिले झट्ट हेर्दा सानो कार्यक्रम होला तर यसले भविष्यमा खेलकुद बिकासमा राम्रो प्रभाव पार्ने छ ।’ खेलकुद बिकास कोषका संयोजक समेत रहेका अध्यक्ष नेपालीले यो कार्यक्रम वडाको मात्रै नभएर वडाको अगुवाईमा स्थानिय जनताको समेत प्रत्यक्ष सहभागिता हुने गरि ल्याइएको बताए ।
कोष घोषणा कार्यक्रममा वडा सदस्य पूष्पराज बरालले नयाँ वर्षसंगै वडामा ५ वटा कार्यक्रम घोषणा गर्ने वडाको कार्यक्रम अन्तरगत खेलकुद बिकास कोष घोषणा गरिएको बताए । कार्यक्रममा वडा सदस्य अञ्जु केसी, उज्जवल खत्री, हरि सुनार, पूर्ब राष्ट्रिय खेलाडी पराजुली, पूर्व वडा अध्यक्ष रामजी बराल, समाजसेबी विष्णु बराल लगायतले शुभकामना ब्यक्त गर्दै खेलकुद बिकास कोषले खेलकुद क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।





