म्याग्दी, ११ बैशाख – म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका ८ वर्षिय टुहुरा मनोज विकले आवासीय सुविधा सहित कक्षा १२ सम्म निशूल्क अध्ययन गर्न पाउने भएका छन् ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्युभएपछि टुहरा बनेका विकलाई आवासीय सुविधा सहित कक्षा १२ सम्म निशुल्क पढाउने भएको हो । विकलाई बुद्ध एकेडेमीको कक्षा १ मा भर्ना गरिएको छ ।मनोजकी आमा गोरी विक अपाङ्ग र विरामी छन । आमासंगै ४ बर्षिया बहिनी मनिषा विकको समेत रेखदेख र लालनपालनको जिम्मेवारी मनोज माथि नै थपिएपछि उनको पढाइ रोकिएको थियो ।
म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले पहिलोपटक मनोजको अवस्थाको बारेमा विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकाशन÷प्रशारण गरेपछि हाल मलेशियामा कार्यरत आशिष परियार झिल्केले संकलन गरेर पठाएको रु ४६ हजार रुपैयाँको चेक पनि संचारकर्मी अमित विश्वकर्मा र सोही अवसरमा मालिका ५ देविस्थानकी वडा अध्यक्ष पिपला बूढालाई हस्तान्तरण गरिएको थियो । आर्थिक अभावकै कारण कलिलै उमेरमा अभिभावकको जिम्मेबारी सम्हाल्दै आएका विकका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशमा रहेका स्थानीयसँगै बेनी नगरपालिका–१ रत्नेचौर अर्जम घरभई हाल मलेसियामा रहेका आशिष परियारको पहलमा ४६ हजार र बेनपा–४ सुर्केमेला घरभई हाल अमेरिकामा रहेका म्याग्दी समाज अमेरिकाका अध्यक्ष इन्द्र थापा र उनकी धर्मपत्नी समाजसेवी सबी थापाले बार्षिक ५० हजार सहयोग गरेका छन् ।
विद्यालयको भर्ना अभियानसँगै आयोजित कार्यक्रममा बोल्दै मालिका–५ की वडा अध्यक्ष पिपला बुढाले गाउँकै विपन्न मनोजको परिवारका बारेमा समाचार प्रकाशित भएपछि परिवारकै उद्धार भएको बताए। ‘विगतका समस्या धेरै समाधान भएको छ,‘सहयोगलाई सदुपयोग गरेर उच्च शिक्षासम्म पढ्ने वातावरण बनाउनेछौ’बुढाले भने। वडाअध्यक्ष बूढाले बुद्ध एकेडेमीले निशुल्क आवासीय सुविधा सहित पढाइको जिम्मा लिएर सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण काम गरेको बताए । विकलाई विद्यालयमा एक कार्यक्रम गरी प्रबन्ध निर्देशक राजकुमार थापा र प्रधानाध्यापक धुव्रसागर शर्माले स्वागत गदैं नमुना विद्यार्थी बनाउने प्रतिबद्धता जनाए कक्षा १ मा भर्ना भएका मनोजलाई नियमित पढाईसँगै अतिरिक्त कक्षाको सुविधालाई समेत प्राथमिकता दिने प्रधानध्यापक शर्माले बताए । उनका अनुसार विद्यालयले विपन्न बालबालिकालाई निशुल्क शिक्षामा समेत प्राथमिकता दिएको छ । त्यस्तै प्रबन्ध निर्देशक थापाले मनोजलाई शिक्षासँगै खेलकुद तथा अन्य गतिविधिमा समेत अब्बल बनाउने प्रतिबद्धता जनाउँदै भविष्यमा पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालयले स्वागत गर्ने बताए। विद्यालयमा स्वागत कार्यक्रममा मनोजकी ठूलीआमा लिलमायाँ विकको आँखा रसाएका थिए । मनोजको आफ्नै नाममा गरिमा विकास बैंकमा खातामा जम्मा भएको आर्थिकलाई शैक्षिक गतिविधिका साथै आमाको नियमित उपचार, लत्ताकपडा, घरखर्च लगाएतमा खर्च गरिने आफन्तको भनाई छ । विकलाई विद्यालयमा अध्ययरत कक्षा १ का विद्यार्थीले समेत भब्य स्वागत गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी अमित विश्वकर्मा, पदम विश्वकर्मा लगाएतको उपस्थिती रहेको थियो ।





