मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सपनाको महल बनाउने उपप्रधानमन्त्री पोखरेलको दावी

सपनाको महल बनाउने उपप्रधानमन्त्री पोखरेलको दावी


  • बालकृष्ण सुबेदी
  • बैशाख ११ २०७६, बुधबार

पोखरा,११ बैशाख – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयको राजनीतिक अस्थिरतासँगै ६ महिने अस्थिर सरकारको कारण नेपाल विकासमा पछि परेको बताएका छन । उनले अस्थिरताको अन्त्य भएकोले अब दुई तिहाईको सरकारले जनताको पक्षमा काम गर्ने जिकिर पनि गरे ।
उनी संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले बुधबार पोखरामा आयोजना गरेको वीर गोर्खा दिवसको अवसरमा बोल्दै थिए । ‘राजनीतिक स्थायित्वको लागि दुई तिहाइको बहुमत सहितको कम्युनिस्ट सरकार बनेको छ’, उनलपे भने, ‘अब दुई तिहाईको बहुमतको आडमा देश र जनताको हितमा सरकारले काम गर्ने छ ।’
सरकार अब विकासको यात्रामा अघि बढने बताउँदै उनले एक वर्षसम्म विकासको जग बसाउनै लागेको र अब सपनाको महल बनाउने घोषणा गरे । आगामी नीति कार्यक्रममा तथा बजेट मार्फत जनतालाई अनुभूति हुनेगरी कार्यक्रम तथा योजनाहरु ल्याउने उनले बताए । नेपाली जनताको बलिदानी र दुःखका दिनलाई राजनीतिक स्थिरताले निकास दिने पोखरेलको दावी छ । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्ने दायित्व सरकारको मात्र नभएको उनले बताए ।
यो अभियान सफल बनाउन हरेक नेपालीको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ । मुलुक रूपान्तरणको अभियानमा भूतपूर्व सैनिकहरुको महत्वपूर्ण भूमिका रहने मन्त्री पोखरेलले बताए ।‘सेवा अवधिमा हासिल गरेको ज्ञान ,सिप ,क्षमता र प्रविधिलाई उपयोग गरि सामजिक आर्थिक रूपान्तरणमा सहभागी बनाउने योजनामा छौँ,’, उनले भने । भूतपूर्व सैनिकहरुले कठिन र चुनौतीपूर्ण अवस्थामा देखाएको बहादुरीले नेपाल र प्रतिष्ठा विश्वसामू उचाईमा पुगेको स्मरण गर्दै नेपाली नागरिकलाई विभिन्न देशले महत्व दिदै आएको पोखरेलले बताए । भूतपूर्व गोर्खा सैनिकको ब्यबस्थित अभिलेख तयार गरी उनीहरूले झेल्नु परेका समस्यामा सरकारले समन्वय गर्ने मन्त्री पोखरेलले प्रतिबद्दता जनाए ।

कार्यक्रममा वोल्दै संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले नेपाल सरकारले अझैसम्म पनि वेलायत र भारतिय सेनामा रहेका सैनिकहरुको प्रस्ट आंकडा राख्न नसकेको, नागरिकतामा समस्या परेका कारण हजारौ भुपू सैनिकका परिवारले दुख झेल्नुपरेको वताएका थिए ।
गण्डकी प्रदेशका सभासद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भुपू सैनिकहरुको समस्या सामाधानका लागी राज्यले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । भुपू सैनिकहरुको सीप, दक्षता र क्षमतालाई राज्यले प्रयोग गर्न सकेको खण्डमा मुलुकको बिकास हुने उनको भनाइ रहेको थियो । उक्त कार्यक्रममा भारतिय सेनामा कार्यरत रही विरगती प्राप्त गरेका सैनिक जवानका श्रीमतीहरु ८ जना विरनारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष कर्णेल धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजवादीका गिरी प्रसाद गुरुङ, भीम बहादुर राना लगायतले वोलेका थिए ।

विर गोरखा दिवस समारोह अन्तर्गत बैशाख १२ गते संघमा आवद्ध सदस्यका छोराछोरीहरु जस्ले डाक्टर र इन्जीनियर उपाधी हासिल गरेका छन उनीहरुलाई भारतिय राजदुतबाट सम्मान गरिनुका साथै खुकुरी डान्स र विभिन्न संस्कृती झल्कने लोक संस्कृतीको प्रस्तुती संगै भाग्यशाली उपहार खोलिने महासंघका महासचिव तिलक उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->