सम्पादकज्यू,
तपाईंको पत्रिकाको विचारपृष्ठमा प्रकाशित हुने कुनैकुनै लेखसँगै त्यसको पुछारमा कहिलेकाहिँ यी लेखकका निजी विचार हुन् भन्ने सूचना समेत कोष्ठकभित्र चहकिलो अक्षरमा छापिएको हुन्छ । त्यही कारण मैले यो पत्र तपाईंलाई नै लेख्ने निधो गरेँ । यो लेखमा मैले छापिएका लेखप्रति लेखकमात्रै नभएर सम्पादक समेत जिम्मेवार हुनुपर्छ भन्ने दलील पेश गर्न खोजेको छु । सम्पादक एउटा जिम्मेवार व्यक्ति भएका कारणले उसलाई दहीच्युरे बन्ने वा पानीमाथिको ओभानो बन्ने अवसर हुँदैन भन्ने मत पनि राख्न खोजेको छु ।
हाम्रो देशमा ज्ञानविज्ञानका द्वारहरु भर्खरभर्खर खुल्दैछन् । भारतीय प्राध्यापक महेन्द्र पी लामाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको एक भाषणको किताब मेरो हातमा परेको थियो । त्यसमा भनिएको छ, ‘पहिलो विश्वमा चौथोदेखि दशौँ पुस्ता विश्वविद्यालय पढिरहेको छ भने हाम्रोजस्ता तेस्रो विश्वमा भने दोस्रो या तेस्रो पुस्ता बल्ल विश्वविद्यालय जाँदैछ ।’ यसैबाट प्रष्ट हुन्छ कि नेपालजस्ता देशमा ज्ञानविज्ञानको परम्परा निकै कमजोर अवस्था छ भन्ने कुरा । अझै पनि हामीलाई भोकले निकै सताइरहेको छ ।फलतः आज विश्वविद्यालयहरुमा पढ्नेको संख्या दिनप्रतिदिन बढ्नु पर्नेमा घट्दै गइरहेको छ । अर्कोतिर अंग्रेजी नीतिको शिक्षाले हामीलाई ‘मध्यम श्रेणी’को बनाएको छ । हामी हाम्रो आफ्नो मौलिक शिक्षालाई जानेर या नजानेर क्षतविक्षत तुल्याउन उद्यत छौँ । गुणस्तरका नाममा अंग्रेजी मिडियम एउटा त्यस्तै उदाहरण हो । सरकारी विद्यालय पनि कक्षाकोठामा विद्यार्थी भरिभराऊ खोज्छ तर चार जना विद्यार्थीलाई गुणस्तर शिक्षा दिन ऊ पनि तयार छैन । अझ पत्रकारिता शिक्षा त नेपालमा वामेसराइकै अवस्थामा छ तर सुखद के छ यसको वामेसराइ निकै छिटो छ । यही गतिले अगाडि बढेमा उसले अरु क्षेत्रलाई पक्कै पनि सजिलै जित्ने छ । तथापि, पत्रकारिताको मानकता स्थापित भइसकेको छैन । पत्रकारहरु आफ्नै समाचारमा बढी रमाउने बानीबाट बाहिर निस्कन सकेका छैनन् ।
यसपालि मलाई पर्दापछाडि बसेर क्याम्पसको ‘प्रज्ञा सारथि’ नामको जर्नलको नेपाली संस्करण सम्पादन गर्ने अवसर मिल्यो । तर सम्पादनका क्रममा सम्पादकसँग मेरो पटकपटक हाम्रो आफ्नो जर्नलमा प्रकाशित लेखको जिम्मेवार लेखक स्वयं हुने कि सम्पादक हुने भन्ने विषयमा विवाद भयो । सम्पादक लेखको जिम्मेवार लेखक नै हुनुपर्छ भन्नुहुन्थ्यो तर म त्यो कुरा मान्न तयार थिइँन । त्यसकारण मैले नेपाली संस्करणमा एउटा चुनौती मोलेर नै लेखको जिम्मेवार लेखकका साथै सम्पादकलाई समेत बनाउने निर्णय गरँे तर अंग्रेजी संस्करणमा भने त्यस्तो भएन । उहाँहरुले त्यहाँ व्यक्त विचारप्रति लेखक स्वयंलाई जिम्मेवार बनाएर लेख छाप्नुभयो । त्यसपछि मैले विश्वविद्यालय र उसका क्याम्पसबाट प्रकाशित केही गन्यमान्य जर्नलहरु हेरे, त्यस्ता जर्नलहरुमा अधिकांशले लेखको जिम्मेवार स्वयं लेखकलाई थोपरेको पाएँ । सम्पादक पानीमाथिको ओभानो नै बनेको पाएँ ।
मेरो पत्रकारिताको सामान्य ज्ञानले कुनै पनि पत्रपत्रिकाको सम्पादकीय नीतिको सम्पूर्ण जिम्मेवार सम्पादकलाई ठान्दछ । उसले दुई डुङ्गामा खुट्टा राख्न पाउँदैन । दुई डुङ्गामा खुट्टा राख्ने यस्तो प्रवृतिले नेपाली पत्रकारितालाई कदापि जिम्मेवार बनाउँदैन । हालसालै एक अनलाइनमा मैले त्यस्तै अवस्था देखें । लेख छापिएको छ तर कोष्ठकमा तलपट्टि आफ्नो अनलाइनमा छापिएको लेखको जिम्मेवार स्वयं लेखकलाई ठ¥याइएको छ । भोलि लेखकले भनेको सत्य सावित भएमा देख्यौं हामीले लेख छापेका थियौं नि यो विषयमा भनेर धक्कु लगाउने र यदि लेखक गलत सावित भएमा हामीले त उतिबेलै भनेका थियौँ नि भन्ने अवसरलाई यस्तो राखिएको हुनुपर्छ । यो दहीच्यूरे प्रवृति हो । यसका लागि नेपाली पत्रकारिताले स्थान दिन थालेको छ । पत्रकारिता जिम्मेवार भएन भने समाज र राष्ट्रलाई अप्ठ्यारो त पर्छ पर्छ कठिन कालखण्डमा पत्रकारिता काम गर्न सक्दैन । यसको अर्थ लेखक जिम्मेवार हँदै हुदैन भन्ने होइन, लेखक जिम्मेवार हुन्छ नै । तर लेखकसँगसँगै सम्पादक जिम्मेवार हुनुपर्छ । पानीमाथिको ओभानो बन्न मिल्दैन ।
बिबिसीमा काम गर्दा रवीन्द्र मिश्र मनुज चौधरीको छद्म नाममा काठमाडौंबाट प्रकाशन हुने एक साप्ताहिक पत्रिकामा लेख लेख्दथे । मैले पहिलोपटक त्यही पत्रिकामा उनको लेखको पुछारमा कोष्ठकको प्रयोग गरेर लेखको जिम्मेवारी लेखकलाई मात्रै थोपरिएको पाएको थिएँ । मेरो ज्ञानको दायरा त्यसभन्दा पहिला पुग्न सकेन । हुनसक्छ, त्यसभन्दा पहिला पनि कोष्ठकको प्रयोग गरेर लेखको जिम्मा नलिने सम्पादकीय प्रवृति थियो होला । तर दरबार हत्याकाण्डका बेला युवराज घिमिरे र उनका प्रकाशक समेत आफ्नो अखबारमा छापिएको लेखप्रति जिम्मेवार भएको पाइन्छ । त्यहीकारण डाक्टर बाबुराम भट्टराईको ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔँ’ शीर्षकको लेख छापे वापत सम्पादक मात्रै नभएर प्रकाशक समेत जेल गए । उनीहरुले केही महिना ‘राजद्रोह’को मुद्दा नै खेपे । त्यतिबेला प्रकाशकले समेत सम्पादकलाई साथ दिएको देखिन्छ भने लेख छापेको पूरै जिम्मेवारी सम्पादकले लिएको पनि पाइन्छ । तसर्थ कि लेख छाप्दै नछापौँ, छाप्ने हो भने त्यसको जिम्मेवारी लेखकका साथ सम्पादकले पनि जिम्मेवारी लिने बानी बसालौँ ।




