मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आशा र आशंकाबीच रुमल्लिँदै स्थानीय सरकार !

आशा र आशंकाबीच रुमल्लिँदै स्थानीय सरकार !

समन्वयको लागि भिडियो कन्फ्रेन्स


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७६, शुक्रबार

पोखरा, १३ वैशाख – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफू बसेको कुर्ची घुमाए र भित्तामा टाँसिएको ठूलो काँचेपर्दा (टेलिभिजन हैन) तिर आँखा लगाए । काँचेपर्दामा चिया खाँदै गरेका एक हुल मान्छे देखिए । अर्को पर्दामा पोखराकै मेयर थिए । उनी जे गर्दै थिए, पर्दामा त्यही देखिँदै थियो ।
मेयर जिसीले अर्को पर्दामा झुल्किएकाहरुलाई संवोधन गर्दै भने, ‘मेयर साब नमस्कार !’
उताबाट त्यस्तै जवाफ आयो । नमस्ते फर्काउने नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा धुुलिखेल नगरपालिकाका मेयर अशोक बेञ्जु थिए ।
पोखराका मेयरले सोधे, ‘स्थानीय निकाय निर्वाचन भएको दुई वर्ष बित्यो, निर्वाचनपछि नगरपालिका संघ के गर्दै होला ?’ उनको प्रश्नले आफै सदस्य रहेको संघले सम्पादन गरेका कार्यहरुबारे पनि जानकारी नभएको प्रष्ट बुझिन्थ्यो ।
उताबाट जवाफ आयो, ‘संविधानले दिएको अधिकार प्रयोग गर्दै राजनीतिक काम गर्देछौँ, अब संस्थागत सदृढिकरण र अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने काम गर्छौँ ।’
‘हिजो एउटा व्यवस्था थियो, अहिले २ सय २०÷२५ वटा कानून बनाउनु छ यसबारे महासंघले के सोचेको छ ?’, पोखराका मेयर जिसी फेरि जिज्ञासु बने ।
‘अब एकल अधिकार भएका कानून बनाउने हो, गाउँपालिका र नगरपालिका संचालनको मोडल कानूनको मस्यौदा बनेको छ, त्यही अनुसार काम गर्ने हो ।’
काठमाण्डौंको नजिकै रहेको धुलिखेल र पोखरा महानगरका मेयरबीचको संवाद थियो यो । भिडियो कन्फ्रेन्स संवादको क्रममा पोखराका मेयरले कानूनहरु नबनेको, संघ, प्रदेश र स्थानीय निकायहरुबीच सहकार्य नभएको आशय व्यक्त गरे । उता, धुलिखेलका मेयरलेचाहिँ काम हुँदै गरेको भन्दै आशावादी रहेको बताए । उनीहरुको कुरा सुन्दा स्पष्ट हुन्थ्यो, ‘स्थानीय निकायहरु अहिले पनि पूर्णरुपले काम गर्ने अवस्था छैनन्, कतै कानून नै छैनन, भएका कानून पनि कार्यान्वयनमा आएकै छैनन् ।
संघले कानून नबनाउँदा हलो अड्किएकोमा दुबै मेयर सहमत थिए । संघ, प्रदेश र स्थानीय निकायबीच समन्वय नहुनुको कारण के त ? कानून किन बनेनन् त ? ढोरपाटनको प्रश्नमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जुले भने, ‘भोलि (शुक्रबार) प्रदेश परिषदको बैठक बस्दैछ, प्रधानमन्त्रीज्यूलाई त्यहीँ कुरा राख्छौँ ।’ उनले नगरपालिका संघ २२ वटा कानून बनाउने क्रममा रहेको जानकारी दिए । उनले संविधानप्रदत्त समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा काम गरिने र कानून बनाएपछि सबै समस्या समाधान हुने दावी गरे ।
समन्वयको लागि भिडियो कन्फ्रेन्स
नेपाल नगरपालिका संघले देशभरका नगरहरुसँग समन्वय र सहकार्य गर्न भिडियो कन्फ्रेन्स प्रविधी सुरु गरेको छ । नगरपालिका संघले पोखरा महानगरलाई गण्डकी प्रदेशको ‘पैरवी केन्द्र’ तोकेर महानगरमा भिडियो कन्फ्रेन्स कक्ष पनि संचालनमा ल्याएको छ । अमेरिकी सहयोगमा निर्मित सो कक्षमा पोखरा महानगरपालिकाले करिब ४ लाख ३० हजार लगानी गरेको छ । काठमाण्डौं लिभिङ ल्याब्सले यसको प्राविधिक पक्षको जिम्मा लिएको छ । सो कक्षबाट आवश्यक परेको बेला देशैभरका नगरपालिकासँग प्रत्यक्ष भिडियो संवाद र अन्तरक्रिया गर्न सकिनेछ । अहिले देशमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २ सय ७६ नगरपालिका रहेका छन् । उनीहरुको छाता संगठन हो, महानगरपालिका संघ ।
भिडियो संवाद कक्षको उद्घाटन गर्दै पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले अब देशभरका महानगरसँग समन्वय गर्न यो कक्ष प्रयोग गरिने बताए । उनले महानगरमा पनि भिडियो संवादलाई प्रयोगमा ल्याइने जानकारी दिए । नगरपालिका संघ नेपालका प्रमुख कार्यकारी अधिकत कलानिधी देवकोटाले बढी काम गरेको र बढी जानेको नगरपालिकाले कम जानेको नगरपालिकालाई सिकाउन यो प्रविधी प्रयोग गरिने बताए ।
महानगरको नगर नक्सा र एप्स पनि सुरु
पोखरा महानगरपालिकाले बिहीबार पोखरा महानगरपालिकाका सबै वडा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सामा पोखरामा भएका अस्पताल, होटल, विद्यालयलगायत बिविध जानकारीहरु समेटिएका छन् । यो महानगरले निकालेको दोस्रो नगर नक्सा हो । नक्सा बनाउन अमेरिकी सहयोग तथा महानगर र काठमाण्डौं लिभिङ ल्याब्सको सहकार्य रहेको छ । नक्सामा भएका सबै विषयहरुलाई ‘पोखरा एक्सप्लोर एम्सबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । पोखरा एक्सप्लोर एप्स एन्ड्रोइड एप्लिकेसन प्रयोग भएका मोवाइलबाट हेर्न सकिने छ । महानगरकी सूचना प्रविधि अधिकृत सर्मिला गौतमले जनाइन् । उनले यो एप्समा भएका सूचनाहरु गलत भएमा प्रयोगकर्तालाई सच्याउने सुविधा भएको जानकारी समेत दिइन् । कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नगरबासीले महानगरले ल्याएको प्रविधिको उपयोग गरेमा मात्र कामको सार्थकता हुने बताए । उनले अबको जमाना ‘टच टु फाइण्ड’ अर्थात छोएर आफूले चाहेको कुरा पाउने भएकोले महानगरले त्यतातर्फको यात्रा तय गरेको दावी गरे ।
सधैँ हतारमा देखिने र छोटो बोल्ने पोखराका मेयर यो कार्यक्रममा धैर्यपूर्वक बसे । उनले सबैको कुरा चाख मानेर सुने अनि भने, ‘हामीले महानगरबासीलाई समय अनुसारको सेवा दिन खोजेका छौँ, अब महानगरका फाइल बोकेर वडाध्यक्ष यहाँ आउने हैन, हामी प्रबिधि प्रयोगबाटै सबै कुरा गर्न सक्छौँ । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->