मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लक्ष्यभन्दा अघिअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

लक्ष्यभन्दा अघिअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७६, आइतबार

पोखरा, १५ वैशाख – गण्डकी प्रदेशभित्रको सबैभन्दा चर्चित राष्ट्रिय गौरवको आयोजना हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । हाल यो विमानस्थल निर्माणकै क्रममा छ । धेरै आयोजनाहरु तोकिएको समयभित्र सकिँदैनन् । कुनै त सुरु पनि हुँदैनन् । दर्जनौपटक म्याद थपिएका आयोजनाहरु प्नि छन् ।
तर, यो विमानस्थल भने आयोजनाको लक्ष्यभन्दा अगाडि छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्य ३ महिना अगावै पुरा भएको छ । यही आर्थिक वर्षमा थप ५ प्रतिशत काम सकिने आयोजनाको दाबी छ ।
हालैमात्र विमानस्थलको धावनमार्गको ढलान सकिएको छ । २ हजार ५ सय मिटरको यस विमानस्थलको रनवे नेपालकै नयाँ र नमुना योग्य प्रयोग गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएको भएपनि पनि यहाँ पहिलो पटक रनवे ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । विमानस्थल पनि पूवतर्फबाट टेकअफ गर्नेगरि निर्माण हुँदैछ ।
‘यो आर्थिक वर्षभित्र हामीले ४० प्रतिशत काम सहजै सक्छौँ’ विमानस्थलका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले भने, ‘रनवे तयार भैसक्यो, ८ वटा भवनको सिभिल स्ट्रक्चरको काम पनि सकिएको छ ।’
पूर्णरुपमा तयार नभएतापनि धावनमार्गले पुग्ने विमानहरु आपतकालीन रुपमा अवतरण भने गर्न सक्छन् । मुनाकर्मीले भने, ‘२५ सय मिटर धावनमार्ग पुग्ने विमानहरु आपत्कालीन अवस्थामा ल्याण्ड गर्न सक्छन्, तर यसको मत्लब विमानस्थल पूर्ण तयार भन्ने चाहिँ होईन, आपत्कालीन अवतरण गर्दा अन्य आवश्यक पूर्वाधारहरु हामीसँग छैनन्, धेरै ईक्विपमेन्टहरु तयार गर्न बाँकी नै छ, गाह्रो भयो, पुग्न नसक्ने भयो वा अन्य केही कारणले अवतरण गर्नै परेमा विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ ।’
असारसम्म ४० प्रतिशत काम सकिन्छ । वर्षातका कारण त्यतिबेला कामको गति पनि केही सुस्ताउन सक्छ । उनी भन्छन, ‘सरकारको नीति तथा कार्यक्रममा यो आर्थिक वर्षको अन्त्यसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्य थियो, जुन हामीले ३ महिना अगावै पुरा ग¥यौँ ।’
केही अवरोध नभए त २०७७ पौषभित्र सबै काम सकिन्छ । अहिलेको कामको गति अनुसार तोकिएको समय भन्दा पहिले नै विमानस्थल बन्नेछ ।
विमानस्थलमा अहिले ४ सय ५० जना कामदार सहित ७० वटा सामान ढ्ुवानी गर्ने उपकरण (सवारी) हरु प्रयोग भएका छन् ।
२०१७ को नोभेम्बर देखि काम सुरु गरेको चिनियाँ कम्पनीको हालसम्मको प्रगती ३५ प्रतिशत भन्दा बढि रहेको छ ।
रनवे सँगै ट्याक्सीको २ वटा लेयरको काम सकिएको छ ।
विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार बर्ग मिटरको बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ ।
उनले भने, ‘२०१९ सम्ममा ६० प्रतिशत र २०२० को अन्त्यसम्ममा बाँकी ४० प्रतिशत काम सक्ने हाम्रो लक्ष्य छ । लक्ष्य अनुसार काम भए २०७७ पौषसम्ममा त विमानस्थल नै बन्नेछ ।’ सम्झौता भने २०२१ को जुलाइ १० सम्म छ ।
२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो ।
१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन ।
त्यस्तै, मुनाकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने भन्दै भने, ‘अहिले सम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ । बाँकी ४० प्रतिशत पनि हामी दु्रत गतिमा गरिरहेका छौँ । यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ ।’
प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->