पोखरा, १९ वैशाख – आज देशभर मजदुर दिवस मनाईँदैछ । ‘संसारका मजदुर एक हौँ’ भन्ने नारा सहित मजदुर संघर्षको स्मरणमा विश्वभर मनाईने गरिन्छ ।
तर, तनहुँमा भने मजदुर दिवसको दिन ‘संसारका मजदुर एक हौँ’ नभई ‘पार्टी फोर्न पाईँदैन्’ भन्ने नारा घन्कियो । यो नारा कांग्रेसको जागरण अभियानको ठिक एक हप्ता अघि मजदुर दिवसमा कार्यकर्ताहरुले लगाएका हुन् ।
सामाजिक सञ्जालमा राखिएको भिडियोमा कार्यकर्ताहरुले नारामात्र फरक होईन, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बोर्ड पनि च्यातेका छन । पञ्चेबाजाको धुनमा नेपाली कांग्रेसकै कार्यकर्ताले नाराबाजी गर्दै भ¥याङ नै चढेर बोर्ड मिल्काए, अनि नारा लगाए, ‘पार्टी फोर्न पाईँदैन् ।’ माईकमा भने ठुलो आवाजमा ‘श्रमको सम्मान गरौँ’ भन्ने नारा लगाईएको थियो ।
नाराबाजी गर्ने र ब्यानर च्यात्ने नेपाली कांग्रेसकै कार्यकता हुन् । तनहुँमा कांग्रेसका दुई नेताको टकराव मजदुर दिवसमा पनि चर्कियो ।
कांग्रेसका वरिष्ठ नेता पक्षधर कार्यकर्ताहरुले कांग्रेसको समानान्तर कमिटीको ब्यानर र बोर्ड च्यातेका हुन् । समानान्तर कमिटी गएको पुसमा कांग्रेसका नेता गोविन्दराज जोशीले गठन गरेका थिए । जोशी पूर्वगृहमन्त्री तथा पूर्व सहमहामन्त्री समेत हुन् ।
कांग्रेसले अर्को हप्तादेखि पहिलो चरणको जागरण अभियान पनि थालनी गर्दैछ ।
पहिलो चरणमा देशका ७७ वटै जिल्लामा जागरण अभियान चलाउने र तेश्रो चरणसम्म वडा तहमै पुग्ने कांग्रेसको अभियानको पूर्वसन्ध्यामा तनहुँ चाहिँ फेरि एकपटक दुई ठुला नेताका कारण तरंगित बनेको छ ।
तनहुँ कांग्रेस तरंगित हुनुको कारण सार्वजनिकै छ, पौडेल र जोशीको टकराव । यो टकराव प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनताका छताछुल्ल भएको थियो ।
एउटै निर्वाचन क्षेत्रका यी दुई नेतामध्ये प्रतिनिधीसभा सदस्यको टिकट त पौडेलले पाए तर जित्न भने सकेनन् । टिकट नपाएपछि पौडेललाई हराउन लागेको भन्दै जोशी साधारण सदस्य समेत नरहने गरि पार्टी कारवाहीमा नै परे । उनको फुकुवा अहिलेसम्म भएको छैन् ।
उनै, जोशीले तनहुँमा समानान्तर कमिटी गठन गरेपछि पौडेल पक्षका कार्यकर्ताहरुले मजदुर दिवसमा रिस पोखे । पार्टी छिन्नभिन्न बनाएको आरोप लगाए । एउटै पार्टी हुनुपर्ने माग राखे ।
तनहुँ कांग्रेसका सचिव विश्व बास्तोलाले तेह्रौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै मान्यता पाएको हुँदा समानान्तर समितिको अर्थ नहुने बताए । निर्वाचित समिति हुँदाहुँदै अर्को पार्टीको बोर्ड राख्न नहुने भनेर कार्यकर्ताहरुले स्वतस्फूर्त रुपमा बोर्ड फालेको हुनसक्ने उनले बताए ।





