मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार


  • ध्रुबसागर शर्मा
  • बैशाख १९ २०७६, बिहिबार

म्याग्दी १८ बैशाख – करिब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन २–३ दिन लगाएर पैदल यात्रा गर्नुपर्दथ्यो । संचार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनको लागि पनि एकाविहानै उठेर एक–डेढ घण्टाको दुरीमा गएर घण्टौं लाइनमा वस्नु पर्दथ्यो । अहिले भने अव ती सबै कुराहरु विगतको तीतो स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामिण भेगको कायापलट भएको छ ।
अव गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पनि आरसीसी ढलान गरेर पक्की घर निर्माण गर्ने होडबाजी चलेको छ । पाइला अड्याउनै मुस्किल हुने अक्करे भीरलाई फोडेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्यचौकी समेत पाएक पर्ने ठाउँमा नै बनेका छन् । ‘एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौं’ मालिका गाउँपालिका वडा नं ७ बिमका ७४ वर्षिय पलविर जुग्जालीले भने ‘हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौं,अहिले पो थाहा भयो विकास भनेको त सुविधा पो रहेछ त ।’
गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएपछि ग्रामिण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । अध्यक्ष रोकाले भने ‘सुविधाका हिसाबले अव गाउँ र शहरमा खासै फरक रहेन, एक दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ,सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधाको उपभोग गर्ने कुरामा पाएका छन् ।’
१ लाख १४ हजार ४ सय ४७ जनसंख्या र २ हजार २ सय ९७ वर्ग मिटरमा फैलिएको म्याग्दी जिल्लाका साविकका ४१ गाउँविकास समितिमध्ये गुर्जा र मुना बाहेक अन्य सबै ठाउँमा मोटरबाटोले छोएको छ ।
स्थानीय तहलाई अधिकार प्रत्याभूति गरिएपछि जिल्ला भित्र विकासका लागि पालिका–पालिका विचमा नै प्रतिष्पर्धा चलेकाले पनि ग्रामिण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधारहरु पुगेका छन् । विकासका पूर्वाधारहरुसंगै जनताको आय आर्जनमा समेत वृद्धि भएपछि यहाँको ग्रामिण भेगको जीवन शैलीमा पनि उल्लेख्य परिवर्तनहरु देखिन थालेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए
‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेका म्याग्दीले अव भने आफ्नो परिचय फेरेको छ । यो जिल्ला उद्यमी,कृषक,पर्यटन र जलविद्युतको अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ । लाहुर गएकाहरु पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि,पशुपालन वा अन्य इलम गरेर वस्न थालेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पदम पुन   भन्छन ‘विकासका पूर्वाधारहरु पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवाहरु बढेका छन् । कतिपय युवाहरु त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायीकरुपमा कृषि र पशुपालनतर्फ लागेका छन् ।’
बदलिँदै जीवनशैली
प्रविधि र पूर्वाधारको प्रयोगले ग्रामिण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन,उनीहरुको जीवनशैली,व्यावहार र खानपानमा समेत परिवर्तन आएको छ । सर्वसाधराणका घरका छानामा मात्र परिवर्तन आएको छैन, जीवनशैली पनि बदलिँदै गएको छ । हातहातमा नयाँ नयाँ मोडेलका मोवाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इन्चका महङ्गा महङ्गा टेलिभिजन राखिएको छ । भैसीबाध्ने गोठ अव मोटरसाइकल लगाएतका सवारी साधन राख्ने ठाउँमा परिणत भएका छन् । केवुल नपुगेको ठाउँमा डिसहोम र विद्युत नपुगेको ठाउँमा सोलार राखिएको छ ।
गाउँमा खेत जोत्नका लागि हलगोरु पाल्न छोडेको पनि धेरै भयो । खेत जोत्नका लागि मिनिटेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ । गाउँलेहरु आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन् । घरघरमा ग्याँस सिलिण्डरको प्रयोग वढेको छ । बनमा घाँस दाउरा गर्नेहरु एकदमै कम देखिन थालेका र एक दशक अघिका नाङ्गा डाँडापाखा अहिले घना जंगलमा परिणत भएका मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडाअध्यक्ष पिपला बूढाले बताए ।
खानपानमा परिवर्तन
मगर बाहुल्य म्याग्दीका ग्रामिण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ । उच्च हिमाली क्षेत्रका गाउँहरुका बारीमा कोदो, मकै र फापर प्रसस्तै उत्पादन हुन्छ । तर ती गाउँका वासिन्दाहरुले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्छन ।
‘हिजोआज गाउँ मै सडक आएको छ,’ मालिका गाउँपालिका ७ बिमकी देउसरा जुग्जालीले भने कोदो, मकै, फापर र जौँ किन्न गाउँमै आउँछन् । जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ । ६० देखि ८० वर्ष उमेर समूहका वृद्धावृद्धको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरुका अनुसार गाउँका पुराना कुरा हराउँदै गएका छन् ।
गाउँमै सडक पुगेको छ । गाउँ र सहरको दूरी छोटो भएको छ । सहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ ।
‘केही वर्ष अघिसम्म गाँउमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो’ विमका ८३ वर्षिय ढकवहादुर जुग्जालीले भने  ‘अहिले घरमै टेलिभिन हरिन्छ,’ देश विदेशमा कहाँ के भयो सबै कुरा ओच्छ्यानमा सुती सुती थाहा पाउने रैछ ।’

????????????????????????????????????

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->