बागलुङ, २३ वैशाख –जिल्लाको अमलाचौरका दुई व्यवसायीले आँफैले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा ६ करोड खर्चेर पक्कि विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकालले बागलुङको अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा करीब ६ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गरेका हुन् । आफ्ना बुबा स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा अत्याधुनिक १४ कोठे भवन निर्माण भएको छ ।
दुई तले भवन निर्माणका लागि ५ करोड २८ लाख र विद्यालय पसिरसमा पर्खाल, खेलमैदान लगायतका संरचना निर्माणको लागि बाँकी रकम खर्चेको बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले बताए । भवनसँगै चारकोठे शौचालय समेत निर्माण गरिएको छ । सुविधासम्पन्न भवन निर्माणपछि शैक्षिक क्रियाकलाप सञ्चालनमा सहज भएको उनले बताए । तीन बर्ष पहिले निर्माण थालिएको भवन यसै महिना निर्माण सम्पन्न भएको हो।
विद्यालय भवनको हस्तान्तरण सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । भवन हस्तान्तरणको लागि सोमबार राष्ट्रपति बागलुङ आउने कार्यक्रम तय भएको वडाध्यक्ष गुरुदत्त पाठकले जानकारी दिए । सोही विद्यालयका विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रम पनि तय भएको विद्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा. सूर्य पाठक र देवेन्द्र पौडेल लगायत पनि सहभागि हुने बताइएको छ ।
सांसद डा. पाठकका अनुसार राष्ट्रपति भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । यसैबीच, अमलाचौर स्कुल अलुमनाईका अध्यक्ष डा. हेमराज शर्माले पूर्वविद्यार्थी तथा गैरआवासिय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।





