बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गुठी जग्गा संरक्षणमा चासो,अतिक्रमण भएको जग्गा फिर्ता

गुठी जग्गा संरक्षणमा चासो,अतिक्रमण भएको जग्गा फिर्ता

ढोरपाटन समाचार प्रभाव


  • ध्रुबसागर शर्मा
  • जेष्ठ ३ २०७६, शुक्रबार

म्याग्दी ,३ जेठ- म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठीको अतिक्रमण भएको जग्गा फिर्ता भएको छ ।
वैशाख २१ गते ढोरपाटन दैनिक तथा ढोरपाटन न्यूज डट कममा  ‘ऐतिहाँसिक गुठी जग्गा अतिक्रमण गरी व्यक्तिको रजाइँ’ शीर्षकको समाचार प्रकाशित भएपछि खड्गभवानी गुठी व्यवस्थापन समिति र वडा कार्यालयको पहलमा जेठ १ गते बुधवार नापी लगेर अतिक्रमण भएको जग्गा फिर्ता गरिएको हो ।
तत्कालिन पर्वतराज्य अन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर विर्तामा दिएको राज्य) ज्यामरुककोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको बेनपा २ बगरफाँटको १२ रोपनी ६ आना क्षेत्रफल जग्गामध्ये करिव ३ रोपनी जग्गा अतिक्रमण भएको थियो । अतिक्रमण भएको जग्गा नापी गरेर अतिक्रमण मुक्त गराएपछि त्यस जग्गाको संरक्षणको जिम्मा गुठीयारहरुलाई दिइएको छ ।
बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापा र खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको पहलमा अक्रिमण भएको जग्गाा फिर्ता गरिएको हो ।
खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको करिव ३३ रोपनी जग्गा मध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।
सापकोटा थरका ब्राह्मणहरुले पुस्तौदेखि भोगचलन गर्दै आएको सो गुठी जग्गा पछिल्लो समयमा आएर अतिक्रमण,पहिरो र बाटोका कारण आफूहरुलाई मर्का परेको गुठीयारहरुले गुनासो गर्दै आएका थिए ।
खड्गभवानी कोतमा सापकोटा थरका ब्राह्मणहरुनै पुजारी हुनुपर्ने मान्यता अनुसार पुस्तौंदेखि सो कोतमा दशैंका दश दिनसम्म सापकोटा ब्राह्मणहरुबाट पुजाआजा हुने गर्छ । त्यसका अतिरिक्त चैतेदशैं, नागपञ्चमी, साउने संक्रान्ति लगाएतका पर्वहरुमा पनि सापकोटा गुठीयारहरुले पूजाआजा गर्दै आएका छन् ।
पुस्तौंदेखि खड्गभवानी कोतमा पूजाआजा गर्दै आएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीहरुले पनि गुठी जग्गाको भोगचलन गर्दै आएका छन् । गुठीयारहरुले गुठी जग्गाको भोगचलन गरेवापत आआफ्नो जिम्मेवारीको काम गर्नुका साथै कोत पूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्क समेत बुझाउनु पर्ने गुठीयार कृष्णवहादुर घर्तीको भनाइ रहेको छ ।
चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आएपनि गुठीयारहरुलाई जग्गाको कुनै पनि कागजात दिइएको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->