पोखरा,३ जेठ – गण्डकी प्रदेशमा ६० हजार जना बेरोजगार छन् । बेरोजगारमध्ये पुरुषको संख्या ३५ हजार र महिलाको संख्या २४ हजार रहेको छ । कुल ६० हजारमध्ये शहरी क्षेत्रमा बेरोजगारको संख्या ४५ हजार छ भने ग्रामीण क्षेत्रमा १५ हजार छ । प्रतिशतको आधारमा शहरको बेरोजगारको संख्या ग्रामीण क्षेत्रको भन्दा तीनगुणा बढि हुन आउँछ ।केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण (तेश्रो), २०१९ का अनुसार गण्डकी प्रदेशको कुल बेरोजगारी दर ९ प्रतिशत छ । यो दर ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढि छ । सहरी क्षेत्रको बेरोजगारी दर १०.४ प्रतिशत छ भने ६.५ प्रतिशत श्रमशक्ति ग्रामीण क्षेत्रमा बेरोजगार छन् । तथ्यांक अनुसार महिलाभन्दा पुरुष बेरोजगारको दर बढि छ । कुल श्रमशक्तिको ९.८ प्रतिशत पुरुष बेरोजागर हुँदा महिला बेरोजगारी दर भने ८.४ प्रतिशत रहेको छ ।पछिल्लो सर्वेक्षण अनुसार प्रदेशका ६ लाख ६ हजार जनाले रोजगारी पाएका छन् । रोजगार पाउनेको सूचीमा पनि पुरुष नै अगाडि छन् ।तथ्यांक अनुसार प्रदेशका ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिलाहरुमा रोजगारीको पहुँच पुगेको छ । विभागले विभिन्न सूचकहरु बनाएर सर्वेक्षण गरेको थियो ।काम गर्ने उमेर समूह, श्रमशक्ति, रोजगार, बेरोजगार, श्रमशक्तिभन्दा बाहिरको जनसंख्या लगायतका सूचकका आधारमा प्रदेशमा काम गर्ने उमेर समूह (१५ वर्षभन्दा माथि) को जनसंख्या १८ लाख ६८ हजार रहेको छ । जसमध्ये ६ लाख ६७ हजार श्रमशक्ति प्रदेशमा उपलब्ध रहेको छ । यो काम गर्ने उमेर समूहका जनसंख्याको ३२.४४ प्रतिशत हो । बाँकी १२ लाख भन्दा बढि अर्थात, ६७.६६ प्रतिशत जनसंख्या चाहिँ जीविकोपार्जनका लागि मात्रै काम गरिरहेका वा अन्य केही कारणले रोजगारीमा आउन नचाहेका जनसंख्यामा राखिएको तथ्यांक अधिकृत विजयराज सिजापतिले जानकारी दिए ।
विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ ।तथ्यांक अनुसार रोजगारीको पहुँच पुगेको २ लाख ६६ हजार महिलाहरु मध्ये ७० प्रतिशत महिला सहरका छन् । रोजगारीको पहुँचमा रहेको पुरुषहरु ५९ प्रतिशत छन्, भने समग्रमा प्रदेशका ५९ प्रतिशत व्यक्तिहरुले सहरमा रोजगारी गर्ने गरेका छन् ।
यस्तै, श्रमशक्तिमा पनि महिलाको तुलनामा पुरुषको पहुँच बढि देखिएको छ । प्रदेशका ४८.८ प्रतिशत र २६.५ प्रतिशत महिला श्रमशक्तिमा सहभागी बनेका छन् । प्रदेशको जम्मा श्रमशक्तिमा सहभागिता दर भने ३५.७ प्रतिशत रहेको छ ।विभागको तथ्यांक अनुसार प्रदेशको अर्थतन्त्रलाई सहयोग गर्ने क्रियाकलापमा संलग्न रोजगारहरुको संख्या ४० प्रतिशत रहेको छ भने ६० प्रतिशतले अन्य क्रियाकलापमा संलग्न छन् ।रोजगारीको पहुँचमा रहेका कुल जनसंख्यामध्ये ८३ प्रतिशतले अनौपचारिक रोजगारीमा संलग्न छन् । १७ प्रतिशतले मात्र औपचारिक रोजगारीमा संलग्न रहेको तथ्यांकले देखाएको छ । प्रदेशमा रोजगारीमा संलग्नहरुले हप्तामा काम गर्ने समय ४५ घण्टा रहेको छ भने, पुरुषहरुले हप्तामा ४८ र महिलाहरुले ३९ घण्टा काम गर्ने गरेका छन् । गण्डकी प्रदेशमा रोजगारमा रहेकाहरुको मासिक आम्दानी १९ हजार ७ सय ४६ रुपैयाँ देखिएको छ । यो नेपालभरिको औषत भन्दा २ हजारले ज्यादा हो ।
पुरुषहरुले रोजगारीबाट तलब÷ज्यालाको रुपमा मासिक २३ हजार १ सय ६ रुपैयाँ पाउने देखिएको छ भने महिलाहरुले १२ हजार ८ सय ६ रुपैयाँमात्र पाउँछन् ।एउटै काम गर्ने पुरुष र महिलाबिचको विभेद गण्डकीमा देशको औषतभन्दा बढि छ । विभागको तथ्यांक अनुसार प्रदेशमा पुरुष र महिलाको तलब÷ज्यालामा मासिक ७ हजार रुपैयाँ कम पाउने गरेका छन् ।नेपालभर भने औसतमा रोजगारमा रहेकाहरुको तलब, ज्याला प्राप्त गर्नेहरुको औसत आम्दानी १७ हजार ८ सय नौ रुपैयाँ रहेको तथ्यांक विभागले जनाएको छ ।नेपालमा विभिन्न पाँच वटा क्षेत्रबाट धेरै रोजगारी सृजना भएको देखिएको छ ।
कृषि, वन र माछापालन, थोक तथा खुद्रा, मोटरगाडी तथा मोटरसाइकल, उद्योग, निर्माण क्षेत्रमा बढी कामदार छन् । कृषि, वन र माछापालनमा २१.५ प्रतिशतले काम गर्छन् । त्यस्तै, थोक तथा खुद्रा बिक्रीमा १७.५ प्रतिशत र मोटरगाडी तथा मोटरसाइकल मर्मतसम्भारमा १५.१ प्रतिशतले काम गर्छन् । उद्योगमा १३.८ र निर्माण क्षेत्रमा ७.९ प्रतिशतले काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।गण्डकी प्रदेशका नीति योजना आयोगका प्रमुख डा.गिरीधरी शर्माले काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । ‘एकपटक विदेश नगएसम्म सन्तुष्ट नहुने जुन वातावरण सिर्जना भएको छ, यसलाई हटाउन जरुरी छ, त्यसको लागि काम गर्ने वातावरण बनाउन आवश्यक छ ।’ उनले भने ।





