बागलुङ,५ जेठ – अञ्चल अस्पतालमा केही समयदेखि मात्र विशेषज्ञ डाक्टर बसेकोले सामान्य अपरेशनको काम शुरु भएको छ । तर सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङमा भने प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अपरेसन सेवा संचालनमा छ । भौगोलिक रुपमा कठिनाई भएकोले आउजाउको समस्या हुँदा बिरामी पाल्पा पठाउने केन्द्रले केही समय देखि प्रसुती सेवा सहितका माइनर अपरेसन सेवा दिन थालेको छ । ईलाका स्तरको भएपनि यहाँ चार जना डाक्टर सहितका स्वास्थ्यकर्मीले केन्द्रमा नियमित अपरेसनको सेवा दिएका हुन् । ‘हामीलाई अपरेशन गर्नै पर्ने बाध्यता होइन, तर आएका बिरामीलाई टाढा पठाउन चाहेका छैनौं’ केन्द्र प्रमुख डा कृष्णहरि श्रेष्ठले भने, ‘टाढा पठाएमा बिरामीले हजारौं खर्चनुपर्ने बाध्यता छ ।’ सुत्केरी गराउनु पर्ने अपरेसन सेवा नियमित दिएको उनले बताए । केन्द्रमा आएका डा.दिलिप कोजु, डा. लक्ष्मी अर्याल र डा. मिलन मल्लले अपरेसन, ओपिडी, इमरजेन्सी लगायतको सेवा दिएका छन् । ‘चौविसै घण्टा इमरजेन्सी सेवा, भिडियो एक्सरे लगायतको सेवा छ’ श्रेष्ठले भने, ‘नगरपालिकाले चाहना राख्नेहो भने अस्पतालमा बिस्तार गर्न सकिन्छ ।’ केन्द्रमा वेडमै राखेर उपचार गराउने व्यवस्था भने छैन । ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तिमा १५ बेडको अस्पताल बनाउन सकिने प्रावधान छ । जिल्ला तहको अस्पतालको रुपमा यो केन्द्रलाई बिस्तार गर्ने सरकारी योजना भने पुरा भएको छैन । भवन आधुनिक र प¥र्याप्त भएकोले आवस्यक उपकरण र अन्य स्वास्थ्यकर्मी सहितको कर्मचारी व्यवस्थापन गरेर अस्पताल बनाउने नगरप्रमुख देवकुमार नेपालीले बताए । दैनिक १ सय जनाभन्दा धेरै बिरामी आउने केन्द्रबाट रिफर भएमा पाल्पा वा पोखरा जानुपर्छ । त्यसका लागि बिरामीले कम्तिमा १० हजार खर्चनुपर्ने बाध्यता छ । ‘सामान्य समस्या भएपनि बिरामीले
धेरै खर्च र दुःख पाउन नपारोस भनेर सेवा थालेका हौं’ कोजुले भने, ‘केही समय दक्ष प्रसुतीकर्मीको अभावमा रोकिएको सेवा संचालन गरेका र्हौ ।’ केही बर्ष अघि अपरेशन सेवा दिएको यो केन्द्रमा डाक्टर अभावमा काम रोकिएको थियो । यहाँ दैनिक एकदुइजना अपरेशनका बिरामी आइरहने गरेका छन् । केन्द्रमा कम्तिमा २ स्टाफ नर्स र ४ जना सहायक स्तरका स्वास्थ्यकर्मी आवस्यक भएको श्रेष्ठले बताए । ‘यहीं डाक्टर भएकोले ज्यान बचाएर बच्चा जन्माउन पाएँ’ ढोरपाटन नगरपालिका ९ सुपुरदुङकी २७ बर्षिय अमृता पुनले भनिन्, ‘यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।’ उल्टो र म्याद काटेकोले अपरेशन गर्नुपर्ने भएपछि उनलाई अन्यत्र नजान सल्लाह दिंदै केन्द्रमै अपरेशन गराइएको थियो ।
पश्चिम बागलुङको केन्द्र बुर्तिवाङमा ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाढ गाउँपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गर्छन् । यहाँ दैनिक १ सय ५० जना सम्म बिरामी उपचारका लागि आउने गर्छन् । सेवा संचालन हुँदा मासिक १० देखि १५ जना सम्मको अपरेसन हुने गरेको छ । यहाँ रक्तसंचार केन्द्र स्थापना गरेर नियमित संचालन गर्नुपर्ने उनले सुझाव दिए । ‘केन्द्रको सम्पर्कमा रहेका व्यक्ति र बिरामीको रक्त समूह मिलेपछि मात्र अपरेशन गरेर रगत दिन सकिने व्यवस्था छ’ कोजुले भने । यो केन्द्रलाई जिल्ला अस्पतालमा स्तरउन्नती गर्ने योजना रहेको बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । ‘केही डाक्टर करारमा राखेर भएपनि अपरेशन सेवा दिइरहेका छौं’ तिवारीले भने, ‘सदरमुकाम भन्दा धेरै बिरामीले उपचार पाउने स्थान भएकोले प्रोत्साहत भत्ता दिएर डाक्टर पठाउनु पर्छ ।’ यहाँ डाक्टर पठाउँदा सरकारी रेट सहित १ लाख ८० हजार रुपैयाँसम्म दिएर डाक्टर पठाउने गरिएको छ । दरवन्दी नभएकोले एक डाक्टर, एक स्टाफनर्स र तालिमप्राप्त अनमी समेत करारमा राखेर मात्र सेवा दिन सकिएको उनले बताए । पाँच करोड ९९ लाख रुपैयाँमा केन्द्र बनेको थियो । गत वर्ष यहाँ १ हजार ४ सय बढीले प्रसूति सेवा लिएको तथ्यांक छ ।





