बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भूमेलाई खुुसी बनाउन लिङ्गो जुधाउने चलन

भूमेलाई खुुसी बनाउन लिङ्गो जुधाउने चलन


  • ध्रुबसागर शर्मा
  • जेष्ठ ९ २०७६, बिहिबार

म्याग्दी,९ जेठ – गोरु, राँगो र कुखुरा जुधाई त सुन्नु भएकै थियो होला । तर, खेतीबालीका देवता भूमेलाई खुसी बनाउन लिङ्गो जुधाएर पूजा गरेको कतै थाहा पाउनुभएको थियो ? यस्तो चलन म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा मात्र रहेको छ ।
दग्नाममा परम्परागत रुपमा भूमेथानको पुजाको अवसरमा लिङ्गो जुधाई भूमेलाई खुसी पार्ने र गाउँलेले मनोरञ्जन गर्ने चलन रहेको छ । समय क्रमसंगै लिंगो जुधाइले प्रतिष्पर्धाको रुप लिदै गएको छ । अहिले गाउँमा लिङ्गो जुधाउने प्रतियोगिता नै आयोजना गर्ने गरिन्छ ।
मंगलबार भूमे पुजाको अवसरमा दग्नाममा लिङ्गो जुधाउने प्रतिष्पर्धा आयोजना गरिएको थियो । यस्तो प्रतियोगिताले यूवापुस्तालाई आर्कषित गरेको र परम्परालाई पनि निरन्तरता दिन सजिलो भएको दग्नामको एकता युवा क्लवका अध्यक्ष गुन पुनले बताए ।
अध्यक्ष पुनका अनुसार प्राचिनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने चलन रहेकोमा पछिल्ला केही वर्षयता यसलाई गाउँको प्रतिष्ठाको रुपमा समेत हेरिन थालिएको छ । युवा पुस्ताले यस्तो परम्परालाई निरन्तरता दिन लिङ्गो जुधाउने प्रतियोगिता आयोजना गरेका हुन् । ‘नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिलाई निरन्तरता दिदैं प्रतियोगिताको आयोजना गरिएको हो’ पुनले भने ।
प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार गैरी र कान्छी गाउँँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेकोे प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाएका थिए ।
दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा सहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको एकता यूवा क्लबका अध्यक्ष पुनले बताए । ‘मानव बस्तीको विस्तारसँगै लिङ्गो जुधाउने चलनको सुरुवात भएको थियो, गाउँका यूवापुस्ताको समेत चासो बढेकाले संस्कृति जोगाउन प्रतियोगिताको रुप दिएका र्हाैं’ पुनले भने ।
करिव चार घण्टा भएको प्रतिस्पर्धामा कान्छी गाउँ विजय भएको छ । स्थानीयले पुख्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सबसहित जातीय भेषभुषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाउने गरेको स्थानीय मोहन पाईजाले बताए । उनका अनुसार बर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोप सहित विनास नहोस्, स्थानीयको मनोकामना पुरा लगाएत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरिएको हो ।
लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिकाअन्तर्गत पिप्ले, मौवाफाँट, चिमखोला लगाएत छिमेकी गाउँबाट समेत अवलोकन गर्न गएका थिए । पछिल्लो समय प्रतियोगिलाई आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्न प्रचारप्रसार सुरू गरिएको छ । पुराना कला र संस्कृतिलाई संरक्षण गर्न यूवापुस्ताको सक्रियताले बुढापाका समेत उत्साहित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->