बागलुङ,११ जेठ – बागलुङ नगरपालिकाले स्थापनाको दुइ बर्ष पुगेको अबसरमा पत्रकार सम्मेलन गरेर लक्ष अनुसार अगाडि बढ्न सफल भएको दावी गरेको छ । नगरप्रमुख जनकराज पौडेलले ८ पृष्ठ लामो प्रगती विवरणको फेहरिस्त सुनाएर भौतिक बिकासमा उल्लेख्य प्रगती गरेको दावी गरे । साथै उनले लामो समय सम्म अलपत्र रहेको बागलुङ बसपार्क निर्माणको काम शुरु गरेको, बाङगेचउर देखि पाङ जोड्ने नेपालकै लामो झोलुंगेपुल निर्माण थालनी, चक्रपथको कालोपत्रेको योजना अगाडि बढेको तथा नगर खानेपानीको योजना अगाडि बढेको दावी गरेका छन् ।
नगर प्रमुख पौडेलले नगर क्षेत्रका अव्यवस्थित तार हटाएर इन्सुलेसन तार र फाइवर तार मार्फत टेलिफोन बितरण जस्ता काम थालिएको पनि बताए । पूर्वाधार तर्फ चोक सुधार, नगरक्षेत्रकै शिवधारा चोक, क्याम्पस चोक लगायतमा ढलान गरेर नाली र सडक व्यवस्थित गरेको आफ्नो दुइ बर्षे कार्यकालको सफलतामा राखेका छन् । व्यवस्थित सिटि हल निर्माणका लागि जग्गा अभावले निर्माण हुन नसकेको भन्दै अन्य तयारी भैसकेको र जग्गा पाउनसाथ शुभारम्भ हुने उनले दावी गरे ।
नगरपालिका ३ को बसपार्क नगरको जिम्मामा ल्याएको, नगर क्षेत्रको रुपमा उद्योग ग्राम पहिचान गर्ने तयारी भएको, नगरका सडकमा सहज र सरल यातायात संचालन गरेर बजारसँगको सम्बन्ध बिस्तार गर्न ६१ किमी सडक रेखाङकन भएको, स्तरवृद्धिको काम थालिएको बताए । जनसहभागिता समेतबाट शहरी सडक कालोपत्रेको काम भएको, डोजर खरिद गरिएको र मर्मत सम्भारका काम त्यसबाट हुने दावी गरिएको छ । बलेवा एयरपोर्ट भने कालोपत्रेको तयारी भएको भन्दै गत बर्ष केही समय चलेर बन्द भएको बिषयको बचाउ गरेका थिए ।
आर्थिक बिकास तर्फ नगरपालिकाले पशु स्वास्थ्य उपचारकालागि प्रयोगशाला संरचना निर्माण गरिएको, नगर मातहत रहने गरी कृषि प्राविधिक क्यामपस संचालन गरिने, नगरपालिककै रुद्रेपिपलमा आधुनिक शित भण्डार र बानपा १२ मा कृषि उपज संकलन गकेन्द्र र बिक्री केन्द्र बनाउने योजना उनले सुनाएका थिए ।
नगरभित्रै चिया खेती बिस्तारका लागि चालु आर्थिक बर्षभित्रै ९ हजार विरुवा रोपण गरिएको र तालिम समेत दिएको प्रतिवेदनमा उल्लेख छ । सुन्तला उत्पादनमा आत्मनिर्भर बनाउन चार हजार बिरुवा फलफूलका र ९ हजार बिरुवा सुन्तलाको वितरण भएको र सुन्तला जोनको अभियान समेत अगाडि बढेको बताइएको छ । गरिव सँग ऋषिराम कार्यक्रम मार्फत सबै खरका घर बिस्थापित गर्ने, रायडाँडामा खानीको संभाव्यता अध्ययन गरिएको पनि उल्लेख छ ।
सामाजिक बिकास तर्फ घरबार गमाएका लार्य घर, खेल मैदान, एकीकृत बस्ती बिकास कार्यक्रम संचालन गर्ने, अल्पकालिन महिला सेवा केन्द्र र मानव सेवा आश्रम संचालनको जिम्मा लिएको र जोखिमपूर्ण श्रम र दुर्घटनामा परेकाहरुलाई सहायताका कार्यक्रम संचालन गरेको तथा सबै कार्यक्रमको प्रचारका लागि रेडियो कार्यक्रम र सार्वजनिक सुनुवाईलाई निरन्तरता दिएको पनि बताए ।
खेलको बिकासका लागि बाङगेचउरको मैदानको डिपिआर बनेको, अन्य विभिन्न खेलमैदानहरु मर्मत र निर्माणको काम भएको तथा क्रिकेट एकेडेमीको काम पनि शुरु भएको उनले बताए । मेयर कप हुन नसक्नुमा भने राष्ट्रिय क्यालेण्डरमा समावेश गर्न नसक्दाको समस्या उनले सुनाए । दुइ बर्षको अवधिमा १४ वटा कार्यविधि, २ वटा नियम, २ वटा निर्देशिका बनाएको, न्यायिक समिति गठन गरेको र विभिन्न ७ वटा समिति मार्फत काम भएको पनि उनले बताए ।
वित्तिय तर्फ भने सोचेजस्तो प्रगती नभएको बताइएको छ । चालु बर्षको कुल पूजिगत बजेटमा २४ प्रतिशत मात्र खर्च भएको देखिएको हो । अन्य खर्च भने उल्लेख्य भएको देखाइएको छ । ठूला आयोजनाको भुक्तानी प्रकृया अगाडि बढेपछि पूजिगत खर्च पनि बढेर जाने उनले दावी गरे । कार्यक्रममा नगरपालिकाका निमित्र प्रमुख प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले कर्मचारी व्यवस्थापन र राजश्व संकलनमा केही कठिनाई भएको बताए । राजश्व संकलन र नदीजन्य बस्तुको ठेक्का लगाउने बिषयमा वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम शुरु हुने दावी गरे । कार्यक्रम नगरपालिकाका प्रेस सल्लाहकार गणेश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





