पोखरा, १३ जेठ – अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयसंवेकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । त्यस्तै म्याराथन रुटको सरसफाई, वाटर प्वाइन्ट, मेडिकल प्वाइन्ट लगायतका ठाउँमा मा आवश्यक सामाग्री पनि पु¥याइसकिएको छ । म्याराथनमा सहभागी हुने धावकहरूको नाम दर्ता गर्ने क्रम जारी छ । अहिलेसम्म ५० जनाले नाम दर्ता गराएका छन् । धावकहरुले यही जेष्ठ १३ गतेसम्म पोखरा र काठमाडौंबाट नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ । सोही सन्दर्भमा गतवर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्ने गरी आरम्भ गरिएको यो दोस्रो संस्करण हो । गतवर्ष ६३ धावकले प्रतिस्पर्धा गरेको सो म्याराथनमा यसवर्षदेखि विदेशी धावक पनि सहभागी हुने आयोजक संस्था अन्नपूर्ण सन्चेरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।
म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने छ । धावकलाई पोखराबाट घान्द्रुकसम्म यातायात र घान्द्रुकबाट एबीसी जादा“ आउँदाको खानेबस्ने सुविधा छ । म्याराथन संयोजक किसम गुरुङका अनुसार जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिनेछ । जेठ १६ मा छोम्रोङ, १७ मा हिमालय र १८ मा एबीसी पु¥याइने छ । जेठ १९ मा धावकहरुको स्वास्थ्य परीक्षण गरी मोगरेस गराइन्छ र जेठ २० मा एबीसीबाट दौडेर घान्द्रुक आइपुग्नु पर्नेछ ।




