बागलुङ, १४ जेठ – बागलुङमा जेठ २५ गतेदेखि क्विक्स कप अन्तरस्कुल फुटबल प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङको सोमबार बसेको बैठकले छात्र तथा छात्रा फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि गर्ने निर्णय गरेको अध्यक्ष रामराज गुरुङले जानकारी दिए।
एन्फा बैठकले उपाध्यक्ष रेशम गोतामेको संयोजकत्वमा ६ सदस्य प्रतियोगिता संचालन समिति गठन गरेको छ । बैठकले सदस्य रुविना थापाको संयोजकत्वमा छात्रा खेल व्यवस्थापक समिति गठन गरेको छ ।
यस्तै कोषाध्यक्ष सुर्य लामिछानेको संयोजकत्वमा आर्थिक तथा प्रचारप्रसार उपसमिति, उपाध्यक्ष विकास थापाको संयोजकत्वमा मैदान व्यवस्थापन उपसमिति, सदस्य प्रकाश शर्माको संयोजकत्वमा रेफ्रि व्यवस्थापन उपसमति, सदस्य राहुल बोहोराको संयोजकत्वमा खेल व्यवस्थापन उपसमिति र सदस्य राजकुमार बोसेलको संयोजकत्वमा स्वयंसेवक तथा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक पात्रो अन्तरगत हुन लागेको उक्त प्रतियोगितामा जिल्लाका १६ विद्यालयले सहभागिता जनाउन सक्ने आशा गरिएको अध्यक्ष गुरुङले बताए । यस्तै छात्रा तर्फ ४ विद्यालयले सहभागिता जनाउने सम्भावना रहेको बताइएको छ । प्रतियोगितामा यस वर्ष गल्कोट र बुर्तिबाङका विद्यालयहरुलाई पनि सहभागिता गराउन छलफलको प्रक्रिया अगाडी बढाइएको एन्फा बागलुङले जनाएको छ ।
प्रतियोगिताको विजेता विद्यालयले गण्डकी प्रदेशमा हुने प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने छ । विगतको वर्षमा कोकाकोला कप र एन्फा कपको नामले संचालन भएको प्रतियोगिता यस वर्ष चौधरी ग्रुपको क्विक्स विस्कुटले प्रायोजन गरेपछि ‘क्विक्स कप अन्तरस्कुल फुटबल प्रतियोगिता’को नामले पहिलो पटक संचालन हुन लागेको हो ।
गत वर्ष एन्फा कपको नामले संचालन भएको प्रतियोगितामा सिद्धार्थ शिक्षा सदन प्रथम र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल उपविजेता भएका थिए ।





