पोखरा,१५ जेठ – गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशनले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट ल्याउनेछ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । त्यसको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रदेश सभा नियमावली छ ।
यस्तै, प्रदेशले आगामी आर्थिक वर्षको बजेटकै विषयमा छलफल गरिरहेको जनाएको छ भने ३४ अर्बको हाराहारीमा बजेट ल्याउने जानकारी दिएको छ ।
गत वैशाख ८ गते विधेयक अधिवेशन सकिएपछि गत हप्ताको मन्त्रिपरिषद बैठकले जेठ १५ गतेदेखि बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशसभामा हालसम्म ३ वटा अधिवेशन सम्पन्न भएका छन् । २०७४ माघ २२ देखि २०७५ वैशाख २४ गतेसम्म चलेको प्रथम अधिवेशनले ९ वटा, २०७५ जेठ १६ देखि असोज ८ गतेसम्म चलेको बजेट अधिवेशनले १३ र हालै सम्पन्न हिउँदे अधिवेशनले ६ गरी कुल २८ वटा विधेयक पारित भएका छन् ।
यस्तै, प्रदेश सभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय विधेयक छलफलमै रहँदारहँदै अधिवेशन अन्त्य भएको छ । ती विधेयक विधायन समितिमा छन् ।
गण्डकी प्रदेशसभामा सत्तापक्षीय दल नेकपाका ३९ सहित प्रतिपक्षी दल नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका र नयाँशक्ति पार्टी नेपालका २÷ जना तथा १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।





