बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्मार्ट सिटी बनाउने अर्जुनदृष्टी सहित काम गरेँ : मेयर जिसी

स्मार्ट सिटी बनाउने अर्जुनदृष्टी सहित काम गरेँ : मेयर जिसी

महानगरमा मेयरको दुई वर्ष


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा,१५ जेठ – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा अब ‘स्मार्ट सिटी’ को बाटोमा अगाडि बढेको दावी गरेका छन् । आफूले मेयरको रुपमा सपथ लिएको दुई वर्ष पुगेको अवसरमा मंगलबार पत्रकार सम्मेलनकै आयोजनाग गरी उनले स्मार्ट सिटीको लागि आफूले अर्जुनदृष्टिसहित काम गरेको दावी पनि गरे ।
‘गर्न नसकेका कामहरुबारे तपाईँहरुले थाहा पाउनु भएकै छ’, मेयर जिसीले भने,‘ हामीले गरेका कामहरुबारे मैले जानकारी दिएको छु ।’ उनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य बनाउन पूर्वाधार विकासमा जोड दिइएको बताए । त्यसो भनिरहँदा उनले चालु आर्थिक वर्ष २०७५÷०७६ मा पूँजीगत खर्च भने जम्मा ४९ दशलव ५ प्रतिशत मात्र खर्च भएको स्वीकारे । पूँजीगत खर्च भनेको विकास निर्माण तथा भौतिक पूर्वाधार निर्माणमा गरिने खर्च हो । महानगरले चालु आर्थिक वर्षको लागि करिब १ अर्ब १९ करोड ४८ लाख पूँजीगत खर्चको लागि छुट्टयाएको थियो । यतिबेला महानगरले नयाँ योजनाको सम्झौता बन्द गरेको छ । अहिलेसम्म भएका कामहरुको लागि बजेट निकासा गरे पनि मेयर विकास निर्माणको आफ्नो लक्ष्यबाट चुकेको देखिन्छ । मेयर जिसीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बजेट भाषणमा भनिए जति बाह्य र आन्तरिक आम्दानी गर्ने मामलामा पनि महानरले लक्ष्य भेट्टाएको छैन ।
महानगरले सहरी पूर्वाधार योजना अनुरुप फेवाताल संरक्षणको लागि गण्डकी प्रदेश सरकारसँग मिलेर ३४ करोड बजेटसहित काम थालेको जानकारी दिए । फेवातालको ६५ मिटर भित्रको भौतिक संरचना भत्काउन १५ दिने सूचना जारी गरेको प्रसंग निकाल्दै उनले भने,‘ फेवाताल जोगाउन पनि हामीले सर्वोच्चको आदेश कुर्नुप¥यो, अब भने काम हुन्छ ।’ उनले चालु आर्थिक वर्षमा करिब २ अर्ब ४३ करोडका १ सय ४७ वटा योजनाहरु काम भईरहेको जानकारी पनि दिए । यसैगरी उनले प्रदेश सरकारसँग मिलेर ९ वटा योजना पनि अगाडि बढाएको बताए । महानगरले प्रदेश सरकारसँग मिलेर सुइखेत खोला नियन्त्रण, स्मार्ट शौचालय निर्माण, लेखनाथ साना सहरी खानेपानी आयोजना,आर्वा मौजा कुलायन मार्ग, काहुँखोलादेखि ¥यालेचौरसम्मको सडक, फेवातालमा माछापुच्छे« प्रतिबिम्ब पार्क, संगमनगरदेखि दुम्रीखेत सोती सडक र जनचेतना चिलाउने खर्क तिलाहार शिवालय सडक रहेका छ । यसैगरी केन्द्रीय सरकारसँग मिलेर विजयपुर बेगनास सडक, बैदाम घाँटीछिना सडक, घाँटीछिना सिदाने र मोहरिया लप्सीडाँडा सडक बनाउँदै छ ।
मेयर जिसीले प्रशासन सुधार गरेको,सूचना मैत्री प्रविधि शाखा बनाएको ,घरनक्सा बनाउने अधिकार वडालाई दिइएको र १० हजार पुराना नक्सालाई विद्युतीय नक्सा बनाइएको,१ सय ३५ जनालाई अपाङ्ग परिचयपत्र दिइएको तथा कृषि क्षेत्रमा पनि ठूलै सुधार गरिएको दावी गरेका छन् । कृषिजन्य उत्पादनमा बिचौलियाको शोषण अन्त्य गर्न लेखनाथमा कृषि बजार र बिरौटामा किसान बजार बनाइएको पनि उनले जानकारी दिए ।
एक सय ठाउँमा थोपा सिंचाई,६ सयवटा कम्पोष्ट मल बनाउने भाँडो बितरणदेखि ९० वटा हाते ट्याक्टर दिएर कृषिमा आधुनिकीकरणलाई प्रोत्साहन गरेको पनि उनले जिकिर गरे । ४० हजार फलफूल बितरणदेखि ६० वटा प्लाष्टिक घर निर्माण र २ सयवटा भकरो सुधार पनि उपलब्धिमा राखिएको छ ।
आफूले गरेका राम्रा कामहरु २३ बुँदामा समेटेर प्रस्तु भएका मेयरले उपभोक्ता समितिमार्फत काम गराउने प्रवृत्ति रोक्ने, नराम्रा काम भएको ठाउँमा सुधार गर्ने र आउँदा वर्षमा अझ राम्रा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘हामी गल्ती सुधारेर अगाडि बढ्ने हो, अब ३६ महिना बाँकी छ, यहाँबाट जाँदा एउटा थिति बसाएर जाने सोचका छौँ’, पत्रकार सम्मेलनमा उनले भने,‘ सकारात्मक चिन्तनले काम गर्दै जाने हो ।’
पत्रकार सम्मेलनमा बोल्दै उपमेयर मञ्जुदेवी गुरुङले महानगरले न्याय क्षेत्रमा सम्पादन गरेका गतिबिधिबारे जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->