स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई बर्ष समय बितेको छ । नयाँ व्यवस्थाअनुसार बनेका संरचनामा जनप्रतिनिधि आएपछि सर्वसाधारणले कयौं आशा र भरोसा व्यक्त गरेका थिए । सदरमुकाम बागलुङ बजारसँग जोडिएको बागलुङ नगरपालिका ६ अभावका गुज्रिरहेको वडा हो । खानेपानी, शिक्षा स्वास्थ्य, सडक लगायतका क्षेत्रमा रहेका अभावलाई हल गर्न निर्वाचित प्रतिनिधिहरु आएका छन् । खानेपानीको चरम अभनाव र सामुदायीक विद्यालयहरुमा रहेको चरम बेथिती सुधारको प्रतिबद्धतासहित वडाको कार्यकारी पदमा आएका जनप्रतिनिधिले के कस्ता काम गरे ? सत्तामा पुगेपछि आफु र आफ्नालाई मात्रै च्याप्ने प्रबृत्तिका बिरुद्धमा लागे वा सोही प्रबृत्ति पछ्याईरहेका छन् । उनीहरुले गरेको कामबाट सर्वसाधरण सन्तुष्ट छन् वा छैनन् ? गर्न सकिने के–के काम भए र बाँकी कार्यकालका योजना के होलान लगायतका विषयमा बानपा–६ का अध्यक्ष खिमराज सापकोटासँग सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानी ।
दुई बर्षको अवधिमा के–के काम गर्नुभयो ?
–साविकको बागलुङ नगरपालिका रहने बेलामा पनि म नै वडा अध्यक्ष थिएँ, नयाँ संरचना बनेपछिको पहिलो निर्वाचनबाट पनि वडा अध्यक्ष हुने मौका मिल्यो, सबैले साथ दिनुभयो । नयाँ संरचना बन्यो पहिलेको भन्दा भूभाग थपियोे, भूभागसँगै सम्भावना र चुनौतीहरु पनि उत्तिकै थपिए । वडा अध्यक्षको रुपमा रहेर दुई वर्षको समयावधिमा वडामा धेरै विकास भएका छन् । प्रथमतः वडाको विभिन्न टोल–टोलमा रहेको खानेपानीको समस्यालाई ‘एक घर एक धारा’ योजनाबाट समाधान गर्ने प्रयास थालेका छौं । १ सय ५६ घरमा धारा बने, खानेपानीको समस्या रहेका अन्य ठाउँमा पनि कम्तीमा आधरभुत तहको खानेपानीको व्यवस्था गरेका छौं । वडामा रहेका पानीको श्रोतलाई बिस बर्ष पहिलाबाट चालिएको प्रयासलाई साकार रुप दिएर तितौरेको पानी भिरलांखुरी, लंगाउँ, सानो लंगाउँ लगायतका गाउँमा पु¥यायौं । जसका कारण सर्वसाधारणलाई केही सहज भएको महशुस गरेका छौं ।
शिक्षाको सुधारका लागि लहरेपिपल माविलाई नगरकै नमुना विद्यालय बनाउँदैछौं । अरु विद्यालयको समेत सुधारको काम भएको छ । कृषिमा आधुनिकीकरणका लागि सामग्री वितरण, सडकबत्तिको व्यवस्थापन, वडाका सडकको स्तरोन्नतीको काम, पदमार्ग निर्माणका काम थालेको दुई बर्षमा भएका छन् । समूहगत विकासका लागि सबैलाई साझेदार बनाएर लैजाने उद्देश्यले हामीले टोलसुधार समिति बनाएर काम गरेका छौं ।
हजुरहरुका कामबाट सर्वधारण त निराश जस्तो देखिन्छन नि ?
–जहाँसम्म लाग्छ अहिले मेरा कामबाट निराश भए जस्तो कोही लाग्दैन । तर पनि राजनीतिक विचारका आधारमा आलोचना हुन सक्छन् । सबैलाई समेटेर काम गर्ने प्रयास गरिएको छ । काम गर्दागर्दै भएका कमीकमजोरी सुधारेर सबैको चित्त बुझाउने प्रयासमा नै हामी छौं । वडाको बजेट सिलिङ हेर्नुस् । यहाँ आउने बजेटले कत्तिनै काम गर्न सकिन्छ र ! चालिस÷पचास लाखले एउटा बिद्यालयको भवन बन्दैन । साना सडकको स्तरोन्नती गर्न सकिँदैन । तर हामीले त्यसैलाई ठुलो मानेर परिचाललन गरेका छौं । काम पनि भएकै छन् । दुरुपयोग गरिएको छैन् । यि सबै कारणले आलोचना भए जस्तो मलाई लाग्दैन ।
वडामा सडक प्राथमीकतामा प¥यो, अरु काम भएनन् भन्ने छ नि ?
–होईन हामीले सबै क्षेत्रलाई प्राथमीकतामा नै राखेका छौं । हरेक विकासका पूर्वाधारको पहिलो सर्त सडक हुने भएकाले केही बढी सडकमा लगानी हुनु स्वभाविक हो । तर, हाम्रो वडामा सडकको लागि मात्र नभएर कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ । हाम्रोमा मुख्यतः खानेपानी र शिक्षालाई प्राथमिकता दिईएको छभन्दा नि हुन्छ । यहाँका जनताको मुख्य समस्या पनि यिनै हुन् । त्यसैले सबै क्षेत्रलाई समान हिसाबले विकास गर्ने चरणमा हामी छौं ।
शिक्षामा सुधार हुन सकेन, सामुदायीक विद्यालयमा विद्यार्थीनै छैनन् भन्छन् । कहिले सुधार्नु हुन्छ ?
–एकदमै सहि प्रश्न उठाउनु भो । तपाईँले भनेजस्तै समस्या समाधानका लागि हामीले प्रयास थालेका छौं । यहाँ रहेको माध्यमिक विद्यालयलाई नगरकै नमुना बनाउने गरी काम अघि बढेको छ । अहिले हाम्रो वडामा मात्र नभएर जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । यसको प्रमुख कारणः आफ्नो बालबालिकालाई अंग्रेजी भाषामा अव्वल बनाउने उद्देश्यले निजी विद्यालय खोज्नु, बसाई सरेर टाढा जानु हो । यस प्रकारका समस्यालाई न्यूनिकरण गर्न र वडाको शिक्षा सुधार गर्ने उदेश्यले हामीले लहरे पिपल माविमा अंग्रेजी माध्यमको पढाई सुरु गरेका छौं । विद्यालय जाने बसको व्यवस्था गरेर अरु विद्यालयमा समेत सहज आवतजावत गर्ने व्यवस्था मिलाएका छौं । विद्यालय भवन, पर्खाल, तारबार, खेलमैदान, विद्यालय परिसरको व्यापक सुधार गरेका छौं । हरेक शिक्षकलाई जिम्मेबारी दिएर उत्तरदायी बनाउने प्रयास भैरहेको छ । जसले वडाको शिक्षा सुधारमा टेवा पु¥याउने छ । लामो समय सामुदायीक विद्यालयमा रहेको समस्या रहन दिँदैनौं । हाम्रोमा त यस बर्ष निजी छोडेर सामुदायीकमा विद्यार्थी भर्ना भएका छन् । यो प्रकृयालाई निरन्तरता दिन्छौं । त्यसका लागि सबैखाले प्रयास थालिने छ ।
आगामी आर्थिक बर्षको लागि के कस्ता कार्यक्रम र योजना बनाउनुभएको छ ?
–वडामा रहेका सबै समस्या समाधानको प्रयास हुनेछ । बजेटमार्फत यहाँ रहेको खानेपानीको समस्यालाई अझै सहज बनाउने, कच्चि सडकलाई पक्कि बनाउने, उत्पादनमुखी कार्यमा यहाँका सर्वसाधारणलाई प्रेरित गर्ने । स्वरोजगारका कार्यक्रम ल्याउने, युृवाहरुलाई स्वरोजगार हुने खालका तालिमहरु दिने । शिक्षा क्षेत्रमा रहेका बेथितीको अन्त्य गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि विद्यालयहरुलाई तयार गर्ने । कृषि क्षेत्रमा थप लगानी गरेर व्यवसायीक उत्पादनमा कृषकलाई प्रोत्साहित गर्ने काम हामीले गर्नेछौं । नियमित र आकश्मिक आईपरेका जनताका काममा वडा कार्यालय र हामी सधैं तयार रहने छौं ।
चुनावका बेला गरेका प्रतिबद्धता कति पुरा गर्नुभयो ?
–गर्नै नसक्ने खालका कुनैपनि बाचा मैले गरेको थिईन् । के पुरा भए वा भएनन् भनेर मुल्यांकन गर्ने काम वडाबासीको हो । उहाँहरुले नै दिएको सुझाव र सल्लाहका आधारमा मैले मेरा काम अघि बढाएको छु । मैले गरेका बाचा पाँच बर्षका लागि थिए । दुई बर्षको अबधिमा कयौं बाचाहरु पुरा गरेको छु । चाहे खानेपानी भन्नुस् वा सडक, शिक्षामा सुधार र कृषिमा आधुनिकीकरणको प्रयास प्रतिवद्धता पुरा गर्ने क्रममा गरिएका कामहरु हुन् । बाँकी रहेको समयमा पनि मैले भरपुर प्रयास गरेर जनता सँगका बाचा पुरा गर्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
–प्रथम त तपाई र तपाईको पत्रिकालाई धन्यवाद दिन चाहन्छु । मेरो वडाको विकास र भावी योजनाको विषयलाई लिएर जिज्ञासु भएर सञ्चारमाध्यमबाट जनता सामु पु¥याउन समय दिनुभएकोमा । म र मेरा वडा समितीको साथिहरु मिलेर सबैसंग हातेमालो गर्दै दिनरात नभनी जनताको सेवा खिटिने छौं र वडाको विकासको लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता गर्दछु ।





