
तनहुँ, २० असार- शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् ।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हो ।इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीका अनुसार आगलागीबाट करिब २० देखि २२ लाख रुपैयाँसम्म क्षति भएको छ ।
राति करीब १०ः३० बजेको समयमा भण्डारीको भैँसी फार्ममा अचानक आगलागी हुँदा अन्य तीन भैँसी घाइते हुनुका साथै दुई वटा टौवामा रहेको करिब ३०० भारी परालसमेत जलेर नष्ट भएको छ । आगलागीबाट दुई वटा खरले छाएको गोठ जलेका छन् । स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएको र राति करीब १ बजेको समयमा सदरमुकाम दमौलीबाट दमकल पुगेपछि आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उक्त आगलागी के–कसरी भयो भन्नेबारे यकिन जानकारी प्राप्त नभएकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





