पोखरा, २२ असार – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिले गण्डकी प्रदेशका २ सय खेलाडीलाई एकैसाथ सम्मान गर्ने भएको छ । राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सन्दर्भ पारेर प्रदेशका २ सय ३ खेलाडीलाई एकैसाथ सम्मान गर्दै नगद पुरस्कार प्रदान गर्न लागिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष समपन्न श्रेष्ठले बताए । सो अवसरमा विभिन्न खेलका प्रशिक्षकलाई पनि सम्मान गरिनेछ । कार्यक्रम २७ असारमा पोखरामा हुनेछ ।
आठौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गर्ने अध्यक्ष श्रेष्ठले वताए । खेलतर्फ प्रथम हुनेलाई नगद रु.१० हजार र सम्मान पत्र, द्धितिय हुनेलाई नगद रु. ७ हजार र सम्मान पत्र, तृतिय हुनेलाई नगद रु.५ हजार र सम्मान पत्र तथा प्रशिक्षकलाई नगद रु.५ हजार र सम्मान पत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । खेलको क्षेत्रमा यति ठूलो संख्यामा एकैसाथ सम्मान र पुरस्कार प्रदान गर्न लागिएको यो नै पहिलो हो । पुरस्कारका लागि क्षेत्रिय खेलकुद बिकास समितिलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
यसैविच, गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता असारको २६ र २७ गते पोखरामा हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका ९ सय २४ जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा मार्शल आर्टतर्फ तेक्वान्दो, कराते, उशु खेल हुनेछन । अन्य खेलमा कब्बडी, भलिबल र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीले तेक्वान्दोतर्फ १९ स्वर्ण, १९ रजत र १९ काश्य, करातेतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, उशुतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, टिम गेम भलिबल र कब्बडी तर्फ १ स्वर्ण, १ रजत १ काश्य पदक प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले वताए । प्रत्येक इभेन्टमा बिजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने पहिलो, दोश्रो र तेश्रो हुने जिल्लालाई नगद सहित सम्मान गरिने छ ।
प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल हुने जिल्लाले आर्कषक राष्ट्रपती रनिङ शिल्ड प्राप्त गर्नेछ । यो प्रतियोगितामा स्थानियस्तर हुँदै जिल्ला र प्रदेशमा स्वर्ण पदक जित्ने खेलाडीले असारको २९ देखि काठमाण्डौमा शुरु हुने केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।




