पोखरा,२५ असार – युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।
पोखरा रंगशालामा असार २६ र २७ गते आयोजना गरिएको प्रतियोगितामा प्रत्येक स्थानीय निकाए , जिल्लास्तरका प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी बताए ।
प्रतियोगिताअन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स ,कबड्डी, उसु, कराँते, र तेक्वान्दो, गरी ११ वटै जिल्लाबाट ९१३ जना खेलाडी र १३२ जना निर्णायक गरी जम्मा १ हजार ३६ जनाको सहभागिता रहने श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद रु २० हजारसहित गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड, दोस्रो हुने जिल्लालाई नगद रु १५ हजार ट्रफी र तेस्रो हुने जिल्लालाई नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौँमा असार २९ गते देखि ३१ गतेसम्म सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गरिने भएको छ । प्रतियोगिताको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्ने छन ।





