प्रिय छोरी रुयासालाई शुभ आशिर्वाद
सु–स्वास्थ्य सहित प्रगतीको कामना
उच्च शिक्षा हासिल गर्ने निरन्तर भविष्यको लगावमा एस.ई.ई. २०७५ मा.वि. ग्रेडमा पास भएको रुयासा थापा मगर आफनै छोरीलाई चिठी लेखि रहेको छु । एसईई पास पछिका योजना र पढाईका विषयमा आफनो रुची अनुसार लगाव बढाउनु पर्ने हुन्छ । मैले विज्ञान, इन्जिनियर पढाउने सपनामा तुषारापात भएपनि कर्मशिल, संघषशिल, सफल, आत्मनिर्भर, सक्षम, स्वालम्बी नारी बनाउने विषयमा बल्ल शुरुवाती भएको छ । अब उच्च मनोबल र अध्ययनशील सोचका साथ गहिराईमा पढाइलाई लैजाने बाहेक झिना–मसिनाको विकल्प छैन । मैले फोनबाट र घरमा भन्ने कुरा नै आज खुल्ला पत्रमार्फत सबै विद्यार्थीहरुको लागि अनुशरण गर्ने ऐतहासिक आलेख हुन सक्दछ ।
पढ्ने पुस्तक अब छोरी आफैले विद्यामन्दिर पुस्तकालय बागलुङको साधारण भएपछि आफनो रुची अनुसार छानेर पढने अवसर मिलेको छ । साधारण सदस्य मात्र नभई पुस्तकलाई स्थायी साथी बनाउन सक्दछौ भने आजीवन शिक्षित र दिक्षित भै बौद्धिकतामा लाग्ने हो आजीवन सदस्य बन्न सक्दछौ । आफुले सामान्य ज्ञानका पुस्तक, विश्व र नेपालको इतिहासका बारेमा जानकारी लिनको लागि पुस्तकालयबाट लिएर पुस्तक नै पढनु पर्ने हुन्छ । साहित्य, जिवनी, राजनितिशास्त्र, कानुन, शिक्षा, व्यवस्थापन, पत्रकारीता, अर्थशास्त्र, अंग्रेजी साहित्य, हिन्दी लगायतका पुस्तकहरु अग्रजहरुको सल्लाह र वृति विकास गर्ने योजना र लक्ष्य अुनसार सोचको गहिराइमा पुग्नका लागी स्वअध्ययनका लागि निरन्तर लागि रहनुपर्दछ । छोरीलाई टिभीमा सिरियल,कार्टुन हेर्दा तिन चार घण्टा बितेको छिनभर झनै लाग्दछ तर पुस्तक समाई अध्ययन गर्न बस्दा आधा घण्टा पनि छ सात घण्टा लाग्ने बानीमा सुधार गरयौ भने पक्कै उज्वल भविष्य हुन्छ । मेरो संकलनमा भएका पुस्तक, पत्रपत्रिका, डायरी, लेख रचना फुर्सदमा अध्ययन गरेपनि धेरैभन्दा धेरै लगाव र अभिरुचि लाग्ने हुने छ । साथीहरु बनाउँदा सकारात्मक सोच भएका र पढाइमा अब्बल दर्जामा गनिने सबै उमेर, जातजाति, भाषाभाषी र समुदायका मानिसहरुको संगतले परिपक्वता हासिल गर्न सिकाउँछ ।
धवलागिरी एफ.एम. बागलुङको आयोजनामा एक हप्ते उदघोषण तालिमले दिएको उत्साह र जोशलाई लगातार उर्जामय बनाउन जरुरी भएको छ । तालिमको शिलशिलामा अपेक्षा र उद्धेश्य संकलन गर्दा व्यक्त भएको विचारलाई अनुशरण गर्न लगातार अध्ययन गर्नुको विकल्प छैन । आफनो उद्धेश्य र लक्ष्यसँग मेल खाने तथा रुचीका विषयमा तालिम लिन कन्ज्युसाइ गर्नु हुदैन । नेपालको संविधान २०७२, मुलुकी ऐन, लगायतका आधारभुत कानुनका विषयमा ज्ञान लिन अनिवार्य भएको छ ।
भाई हिम्मत थापा मगर र बैनी यमुना थापा मगर सँग–सँगै आफुभन्दा सानालाई ज्ञानगुनका विषयमा जानकारी गराउनु पर्दछ । भाइबैनीसँग झगडा गर्नु हुदैन भन्दा पनि बेला–बेलामा हुने झगडालाई पनि कम गर्दै झगडा नगर्ने वातावरण बनाउनु पर्दछ । आमा र बाबाले छोराछोरीहरुको लागि कति दुःख र परिश्रम गरेर पढाउन खोजेका छन् भन्ने विषयलाई मध्यनजर गर्दै बाबु आमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुंगा मुढामाथि भने जस्तो नहोस् है ।
सेतोपाटी, रातोपाटी, अनलाइनखबर, कान्तिरपुर, नागरिक दैनिक, गोरखापत्र, नयाँपत्रिका दैनिक, कारोवार दैनिक, नारी, परिवार, आर्थिक कारोवार दैनिक, रिपब्लिका दैनिक, काठमाडौ पोष्ट, राइजिङ नेपाल लगायतका पत्रपत्रिकाहरु अध्ययन गर्ने बानीको विकास गर्नुपर्दछ । विभिन्न संघ संस्था, विद्यालय, क्याम्पस लगायतले प्रकाशन गर्ने स्मारिका, मुखपत्र, बुलेटिन, प्रतिवेदनको अध्ययन र सकलन गर्ने बानीको विकास गर्नुपर्दछ । विद्यालयको पुस्तकालयका अतिरिक्त सामुदायिक पुस्तकालयमा समय बिताउने बानीको विकासले दुरगामी सकारात्मक प्रभाव पार्दछ । हेर्ने कथा, सुमनसँग, सशक्ति, साझा सबाल, टक तु भुषण, दिशानिर्देश कार्यक्रम, बुलबुल कार्यक्रम, कायाकैरन, नेपाल दर्पण, विविसी नेपाली सेवा, न्युयोर्क टाइम्स, ग्लोबल टाइम्स, नेपाली टाइम्स लगायतका सामाग्रीहरुलाई उत्प्रेरणाको अभिवृद्धि गर्नको लागि सुनी र बुझी राख्नु पर्दछ । गित नसुन्नु, फिल्म र सिरियल नहेर्नु भन्यो भने झन् उल्टो बुझने भएकोले समयलाई व्यवस्थापन गर्दै सोच र लक्ष्यलाई सहयोग पुग्ने खालको मनोरञ्जन लिन जरुरी छ । डिजिटल युगमा मोबाइलमा डिक्सनरी, इबुक लगायत पठन संस्कृति लागि उपयोगी खालको एप्लिकेशन, फेसबुक पेज, वेवसाइट, युटुवमा भिडियोमा लगाव भएमा पनि काफी मात्रमा अध्ययन संस्कृतिको विकासमा टेवा पुग्न सक्दछ । मोबाइलमा माया प्रेमका गित, भिडियो बढी मात्रामा हुने तर अध्ययन सामाग्रीका फाइल, एप्लिकेशन समावेश भएको भएपनि विद्यार्थीलाई बढी मात्रामा सहुलियत हुने थियो ।
विश्वमा हरेक मे १ तारिखमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाउदा ८ घण्टा आराम, ८ घण्टा काम र ८ घण्टा मनोरन्जन हुनुपर्ने माग बमोजिम भएको थियो । तर विद्यार्थीहरुका लागि ८ घण्टा काम र ८ घण्टा मनोरन्जनलाई पुरापुर अध्ययनमा लगाएमा पक्कै उज्जल भविष्य निर्माणका लागि धेरै टाढामा भविष्य हुने छैन । गीत संगीतको बजारमा ९५ प्रतिशत सबै निराशा, कुण्ठा, विछोड, पिडा, दर्दनाक, विरक्त, कहाली लाग्दो, दुख, माया प्रेमकाले भरिएका छन् । शिक्षाप्रद, अध्ययन शिप बढाउने, सकारात्मक सोच अभिवृद्धि गर्ने गित संगीतको कलाकार, संगीतकार, गायककारको खडेरी नै छन्भन्दा फरक पर्दैैन । सोच र लगावलाई आफु अनुकुल बनाउनको लागि साथमा पाठयक्रमको पुस्तकबाहेक थप नियास्रोपन हटाउनको लागि पुस्तक हुनु अनिवार्य नै हुन्छ । गित, भिडियो जति पटक सुनिन्छ, हेरिन्छ त्यति नै पटक आफनो पाठय सामाग्रीलाई दोहोरयाउने, तेहेराउने हो भने जति नै अप्ठयारो विषय पनि पानी पानी हुन्छ ।
दैनिक रुपमा आफनो व्यवस्थापनको विषयको पाठय सामाग्री जसरी पनि पढनु प¥यो । त्यसका अलावा विज्ञान, गणित, विश्व इतिहास, नेपालको इतिहास, विश्व साहित्य, नेपालको साहित्य, जिवनी, राजनितिशास्त्र, कानुन, मानव अधिकार, महिला अधिकार, दलित अधिकार, पत्रकारिता राज्यको चौथो अंग, सार्वजनिक प्रशासन, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, शिक्षाशास्त्रका विधि, कम्प्युटर शिक्षा लगायतका विषयमा ज्ञान हासील गर्नु स्वअध्ययनले नै हो । स्वअध्ययन र साथीसंगीको पढाइको रुचीलाई आत्मसात गरी व्यक्तित्व विकास धेरै छिटो गर्न सकिन्छ । तिम्रो आमा (रुपकदेवी थापा मगर) लाई मन परेको पुस्तक शान्ता चौधरीको जिवनी, फुलको आखामा आनीको जिवनी, झमक कुमारी घिमिरेको आत्मवृत्तान्त जिवन काँडा कि फुल भन्ने हो । छोरी तिमीले पनि त्यसलाई पढन् अनिवार्य पर्दछ । मलाई गुरु प्रसाद मैनालीका कथा, परशु प्रधानको जुनसुकै पुस्तक, तसलीमा नसरिनको आइमाइको हकमा, पारिजातको पुस्तक, रविन्द्र मिश्रको भुमध्य रेखा, कर्ण शाक्यको सोच, कोष, मोज आदि, शारदा शर्माको भुइफुलको देश, रुसी लेखकको अग्नीदिक्षा लगायत थुप्रै पुस्तकहरु छन् । खगेन्द संग्रौलाको जुनकिरी पुस्तकले झट्का राम्रो पा¥यो । जन्मदिन, वैबाहिक उत्सवमा गर्दा गाउँ समाज, शहर बजारमा अनधिकृत फजुल खर्च गर्ने परिपाटीको संस्थागत विकास भएको छ । त्यस कार्यक्रममा सहभागी हुन जाँदा पुस्तक उपहार लैजाने संस्कृति, संस्कारको विकास बलजफती गर्नु परेको छ । बिना पुस्तक र अध्ययनको समाज विकृति र कुचलनमा लागि पर्दछ । दिनदिनै बढदो विकाससँगै विनाशका समाचारले सुचना र प्रविधिको दुरुपयोग भएको ताजा उदाहरण प्रशस्त छ । त्यस दुष्परिणामबाट बचाउ गरी सबल र सक्षम असल देशभक्त नागरीक बनी समाजका अगाडी प्रस्तुत हुनको लागि संघर्ष गर्नु परेको हो ।
भ्रमण कार्यक्रमको नेपाली समाजमा न्यून मात्रामा विकास भएको छ । भ्रमण गर्ने योजना विद्यालय, क्याम्पस, संघ सस्थामा आवद्ध भै गरेमा सस्तो पर्दछ । एक वर्षमा कम्तीमा १० दिन पर्यटकीय, कृषि तथा पशु विकासका फर्म, संग्रालय, पुस्तकालयहरु, क्याम्पसहरु, पदमार्गहरुको भ्रमण गर्ने र लेखन शिपको विकास गर्ने परिपाटीको विकास गर्नुपर्दछ । अध्ययन भ्रमण विनाको व्यक्तित्व विकास अपुरो हुन्छ । अधुरो व्यक्तित्व विकासले प्रतिस्पर्धामुलक परिक्षामा सफलता हासिल गर्न सकिदैन । असफलता र दुखका दिनहरुको शुरुवाती गर्नु शिक्षाको उद्धेश्य होइन ।
म.म., चाउमिनको खाजाको रुपमा खाने संस्कार बालबालिकामा बढदो मात्रामा छ । सातु, भुटेको मकै, घरेलु खाजा खाने चलन विस्थापित हुन लागेको होकी भन्ने आभास भएको छ । म.म., चाउमिन लगायत अन्य रेष्टुरेन्टका खाजा नखाने नै होइन । विद्यार्थीको आवश्यकता खाजामा होइन खाइलाग्दो, रसिलो, सुन्दर भविष्य निर्माणका लागि आज म.म.खाने पैसालाई शैक्षिक सामाग्री किने सोच विकास गर्नुपरयो । शिक्षा र स्वास्थ्यमा गरेको खर्च भविष्यका लागि लगानी हो । आज लगानी राम्रो तरिकाले भयो भने प्रतिफल र रिजल्ट भोलि अब्बल गर्न सकिन्छ भन्ने हो । प्रतिफल राम्रो भयो भने म.म., चाउमिनका अलावा अरु थुप्रै खाजा, खाना, चिया खान पिउन सकिन्छ । कथा, उपन्यास, कविता, गित, नियात्रा, संस्मरण, जिवनी, निबन्ध, आलेख, लेख, पाठकपत्र, अन्तर्वाता, भाषण, प्रतिवेदन, प्रस्तावना, अनुसन्धानमुलक लेख, पर्चा, पोष्टर, भित्तेलेखन, साइनवोर्ड, सम्पादकिय, दर्शनशास्त्र, ऐन, नियमाली, कार्यविधि, परिपत्र, निर्देशिका जस्ता विषयवस्तुहरुको जानकारी लिई अधिक भन्दा अधिक जान्नु पर्दछ ।
असफलताको कथा बुन्न र सहन सक्ने हुनुपर्दछ । ताकी भोलि सफलताको लागि प्रेरणादायी बनोस् । सफलताको कथा पढ्दा आफनो जिवनको पाटोसँग नमिल्न सक्दछ । तर असफलताको कथाहरु धेरैको मिल्न सक्दछ । असफलता र संघर्षको कथा पढी बुझी सफलताको शिखर चढने शिक्षा लिन सकिन्छ । तिम्रो काकालाई भारतीय सेनाबाट बिदामा घर नेपाल आउने समयमा राम्रा र अब्बल खालका पुस्तक ल्याइदिन आग्रह गर्नु है । लाहुरेको सुटकेशमा मिठाइका पोका, रमका बोतल, सालका खास्टोभन्दा पाँच दश वटा पुस्तक सौजन्य स्वरुप उपहार मेरो लागि र आफुले अध्ययन गरेको विद्यालय तथा समाजका लागि ल्याइदिएमा अति उत्तम हुने माग राख्नु है ।
बाजे–बज्यैले दिएको सल्लाह, सुझावलाई अक्षरंश लिपिबद्ध गर्नु है । सामान्य ज्ञानको डायरी, उक्ति, भनाइ, उपदेशको टिपोटको संकलन गर्ने बानीको विकासले भविष्यका लागि शैक्षिक सामाग्री बन्न सक्दछ । पत्र लेख्दा धेरै लामो भए जस्तो लाग्यो । बाँकी पारीवारीक छलफलका क्रममा र विद्यालयका शिक्षिक, शिक्षिकाहरुले दिएको सुझावलाई अनुशरण गर्दै जानु पर्दछ । जिज्ञासु बन्ने र राम्रो कामकाज गर्न लाज पटक्कै नमाने बानीको विकास गर्नुपर्दछ । बाँकी रहेका विषयलाई अर्को पत्रमा लेख्ने र घरमा नै भनसुन गर्ने छु । अमेरिकाका राष्ट्रपति अब्राहम लिकंनले आफनो छोरालाई पढाउने प्राध्यापकलाई लेखेको चिठी पढनु, भारतीय लेखक गिजु भाइको पुस्तक खोजी खोजी पढेमा स्वअध्ययनको विकास स्वत हुन्छ भनी पत्रलाई अन्त गर्दछु ।
उही तिम्रो बाबा




