पोखरा,६ साउन – ४१ औ पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना तथा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको सहयोगमा मंगलबारदेखि पोखरामा पुष्पलाल स्मृति प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता–२०७६ हुने भएको छ । गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि बगालेटोलस्थित सोंपाल समाजमा त्रि–दिवसिय ब्याडमिण्टन प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
गत वर्षसम्म खुल्ला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा मात्रै प्रतिस्पर्धा गराइदैँ आएको प्रतियोगितामा यस वर्षदेखि मेन्स डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । नेपालको वरियतामा १६ भित्र परेका खेलाडीहरुले मेन्स डबल्स राष्ट्रियमा भाग लिन पाउने छैनन् । राष्ट्रियतर्फनै ४५ प्लस भेट्रान्स खुल्ला, ५५ प्लस खुल्ला तथा गण्डकी प्रदेश स्तरिय मेन्स डबल्स खुल्ला प्रतिस्पर्धा हुने छ । गण्डकी प्रदेश स्तरियमा प्रदेशका शिर्ष पाँच वरियताका खेलाडीलाई समावेश गराइने छैन । त्यस्तै, मेन्स डबल्स खुल्ला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकको भनाई छ ।
राष्ट्रिय डबल्समा प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमश ः नगद ५० हजार, ३० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला गण्डकी स्तरीय तथा ४५ प्लसमाथि प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितिय र तृतीय हुने समुहले क्रमस ः नगद २० हजार, १५ हजार, १० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।





